|

काठमाडौं :  विश्वमा हरेक वर्षमा मानसिक तनावका बिरामी बढ्दै गएका छन्। नेपालमा पनि कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न सरकारले गरेको लकडाउनको अवधीमा अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढीले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ।

सामाजिक परामर्शदाता डा.नम्रता पाण्डेले अचेल डिप्रेशनमा जानु सामान्य जस्तो ठानेको पाइन्छ। परिस्थिति नै प्रतिकूल छ भनेर आफैमा तनाव सृजना  गर्नेहरुको संख्या बढेको पाइन्छ । तनाव परिस्थितिले होइन मनस्थितिबाट उब्जिने हो भन्दै बन्दाबन्दीले घर बाहिर निस्केर काममा व्यस्त हुन नपाउँदा अहिले धेरै युवाहरूमा मानसिक समस्या देखिएको बताइन्।

उनका अनुसार गरिबी, रोजगार कटौती, आर्थिक मन्दी, लागु औषधको दुर्व्यसन, पारिवारिक विचलन नै अहिलेको अवस्थामा मानसिक तनावका कारण हुन् भने, विगतको घटना, वर्तमानमा बेचैन र भविष्यमा के हुने हो भन्ने चिन्ता नै मानसिक रोगको अर्को कारण हो।

डा. पाण्डे भन्छिन्, 'अहिलेको वातावरणले धेरै व्यक्तिमा उकुसमुकुस र बेचैनी उत्पन्न भएको पाइन्छ। व्यक्तिले आफूलाई हीनताबोधको हिसाबले हेरिरहेको छ। जब आफूलाई हीनताबोध महसुस हुन्छ तब असहजता छ भन्ने बुझ्न जरुरी छ। परिस्थिति सधैं स्थायी रहँदैन, यो कोरोना कहर पनि स्थायी हुँदैन ।

संयम बन्ने, परामर्श गर्ने, आफ्नो बेचैनीको कारण थाहा पाउने प्रयास गर्ने र शारीरिक व्यायाम एवं नियमित ध्यान गर्ने, आफूसँग भएको कुराप्रति स्वीकार गर्ने र अरू जस्तै बनूँ भन्ने भावनाप्रति अपेक्षारहित हुने बानीको विकासले तनाव उत्पन्न हुन पाउँदैन ।

लकडाउनले हाम्रो दैनिकीमा भारी परिवर्तन ल्याएको छ। हामीले पुरानो दैनिकीबाट नयाँ अवस्थाको दैनिकीमा प्रवेश गर्दा  मान्छेले जीवनलाई त्यहीअनुसार परिवर्तन गर्न सकेका छैनौं।  अर्को कुरा लकडाउनको अवधिमा कतिपय बिरामीहरूले समयमा नै उपचार पाएका छैनन्। यसको छिटपुट रुपमा मानसिक रूपले पनि घातक देखिएको छ। मानसिक तनाव हटाउन सबैभन्दा राम्रो उपचार भनेको योग रहेको डा. पाण्डेले बताइन्।

क्वारेन्टाइनमा आत्महत्या

बुधबार मात्र अर्घाखाँचीमा कोरोना परीक्षण गर्दा आरडिटीमा पोजेटिभ देखिएका एक जनाले आत्महत्या गरेका छन्।  जिल्लाको शीतगंगा ५ गल्दा हरि माविको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय चित्रेबारीका ४५ वर्षीय देवबहादुर विकले आत्महत्या  गरे। यस्ता घटना थप बढ्न सक्ने मानसिक अस्पताल लगनखेलका प्रमुख , डाक्टर अनन्त अधिकारी बताउँछन्।

आत्महत्याका कतिपय केशमा दैनिकी रुपमा औषधी गरिरहेका व्यक्तिहरु पनि क्वारेन्टाईनमा बसिरहेका  हुन सक्छन्। त्यसतर्फ पनि सोच्न जरुरी छ।  तिनीहरु र बाहिर बस्ने व्यक्तिलाई व्यापकरुपमा कोरोना सम्बन्धी विषयलाई लगातार काउन्सिलिङ गर्न जरुरी रहेको अधिकारी बताउँछन्।

'कोरोना र क्वारेन्टनाईन प्रति समाजमा बुझाई नै गलत भयो। कोरोना संक्रमित भएका व्यक्तिलाई अनावश्यक आक्षेप लगाउनु, क्वारेन्टाईन लाई खोर जस्तो बनाएर राखेपछि मान्छे मानसिक रुपमा कसरी निरोगी बन्छ?', उनले भने,' क्वारेन्टाईनमा राख्नेबित्तिकै कोरोना बिरामी भने जसरी अपव्याख्या नगर्ने हो भने यस्तो घटना हुँदैनन्।'

मानसिक अस्पतालमा कति जनाले परीक्षण गरे?

मानसिक रुपमा कोही व्यक्ती निरोगी हुन सकेन भने उसले रोज्ने बाटो भनेको सम्भवत आत्महत्या नै हो।  उनीहरूले आत्महत्या नै आफ्नो जीवनको ध्येय बनाउन सक्छन्। यसलाई परामर्शको माध्यमबाट हल गर्न सकिन्छ। हरेक रोगलाई बेलैमा उपचार गर्न नसके त्यसले संकट निम्त्याउने डा. अधिकारी बताउँछन्।

मानसिक अस्पतालको तथ्यांकअनुसार बन्दाबन्दीमा करिब ३ हजार ८०० जनाले मानसिक स्वास्थ्य परीक्षण गरेका छन्। चैत महिनामा एक हजार ८७९ जना मानिस स्वास्थ्य परीक्षण गर्न आएका थिए।

 ९७४ पुरुष र ९०५ महिला रहेका छन्। वैशाखमा एक हजार २६ जना आएका थिए। यी मध्ये ५६० पुरुष र ४६६ महिला रहेका छन्। अस्पतालको जेठ २६ सम्मको तथ्यांकअनुसार ८२८ रहेका छन्। ४०९ पुरुष र ४१९ महिला परीक्षण गर्न आएको अस्पतालले जानकारी दिएको छ।

 २०७५ चैत देखि ०७६ जेठ सम्म ११ हजार २४५ ले मानसिक स्वास्थ्यको परीक्षण गराएका थिए। चैतमा तीन हजार ७९९ परीक्षण गराएका थिए। पुरुष एक हजार ९९४ र एक हजार ८०५ महिला रहेका थिए। वैशाखमा तीन हजार ६२४ जसमा पुरुष एक हजार ९१२ र एक हजार ७१२ महिला। जेठमा तीन हजार ८२२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए।

कुन प्रदेशमा कतिले गरे आत्महत्या

चैत ११ देखि देशमा लकडाउन गरिए पछिको समयमा आत्महत्याको संख्या बढेको प्रहरी तथ्याङ्कले देखाएको छ।

 यस अवधिमा मुलुकभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन्। ५ सय ७१ पुरुष, ३ सय ९६ महिला,५२ बालक  र ८६ जना बालिका रहेका छन्। तथ्यांक अनुसार दुई महिनाको लकडाउन अवधिमा प्रदेश नम्बर ५ मा आत्महत्या गर्नेको संख्या अन्यत्रको तुलनामा बढी पाइएको छ। प्रदेश ५ मा यो अवधिमा २ सय ४२ जनाले आत्महत्या गरेका छन्।

जसमा १ सय २७ पुरुष ,८८ महिला, ८ बालक र १९ जना बालिका रहेका छन्। प्रदेश १ मा १ सय ८६ जनाले आत्महत्या गरेका छन्। पुरुष १ सय ४,महिला ५८, बालक १० र बालिका १४ जना रहेका छन्। बागमती प्रदेशमा सबैभन्दा ८९ जना पुरुषले आत्महत्या गरेका छन्। ६१ महिला,बालक ३ र बालिका ९ जना रहेका छन्। बागमती प्रदेशमा जम्मा १ सय ६२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ। अधिकांश तराईको भू-भाग रहेको २ नम्बर प्रदेशमा १ सय ५२ जनाले आत्महत्या गरेका छन्।

 ५० पुरुष,५८ महिला, १७ बालक र २७ जना बालिका रहेको प्रहरीले बताएको छ । गण्डकी प्रदेशमा लकडाउन अवधिमा १ सय २१ जनाले आत्महत्या गरेका छन्। जसमा ७१ पुरुष,३८ महिला, ६ बालक र ६ बालिका रहेका छन्। काठमाडौं उपत्यकाका तीनै जिल्लामा गरेर ६९ जनाले आत्महत्या गरेका छन्।

 ३९ पुरुष, २७ महिला, २ बालक र १ बालिका रहेका छन्। सुदुरपश्चिम प्रदेशमा १ सय १५ जनाले आत्महत्या गरेका छन्। ५८ पुरुष, ४८ महिला, ३ बालक र ६ बालिका रहेका छन्। त्यसैगरी, कर्णाली प्रदेशमा ५८ जनाले आत्महत्या गरेका छन्। ३३ पुरुष, १८ महिला, ३ बालक र ४ जना बालिका रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.