परराष्ट्रविद्‌ भन्छन्‌, 'तटस्थ रहेर वार्ताका लागि दबाब दिनुपर्छ'

|

काठमाडौं : भारतको सबै छिमेकी मुलुकसँगको सीमा विवाद जारी रहेका बेला चिनियाँ सेनासँग हिंस्रक झडप भएपछि यसको सामरिक, भूराजनीतिक तथा कुटनीतिक प्रभाव नेपालमा पनि पर्ने विज्ञहरूले बताएका छन्‌। साथै, नेपाल-भारतबीचको सीमा विवाद पनि तत्काल समाधान नहुने सम्भावना बढेर गएको छ।

सोमबार राती लद्दाखको गलवानस्थित सीमा क्षेत्रमा भएको रक्तपातपूर्ण झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो भने १२० जनाभन्दा बढी घाइते भएका थिए। 

नेपाल-चीन र भारत मामिलाका जानकार रूपक सापकोटा एकैपटक छिमेकी मुलुकसँग भारतको सीमा विवाद देखिनुले भारतीय विदेश नीति सञ्चालनमै खोट रहेको बताउँछन्। 'अहिले छिमेकीहरूसँग भारतको एकसाथ सीमा सम्बन्धि समस्याहरू देखा परेको छ,' उनले भने, 'यसको मतलब भारतको विदेश नीतिमा कुनै न कुनै हिसाबमा खोट छ भन्ने हो, यसकारण भारतले विदेश नीतिमा पुनरावलोकन गर्न जरूरी छ।'

नरेन्द्र मोदी सत्तामा आएपछि पनि भारतले छिमेकीलाई हेर्ने दृष्टिकोणमा परिर्वतन नआएका कारण स्थिति सुधार हुन नसकेको उनको दाबी छ। यदि भारतले छिमेकीसँग बिग्रँदै गएको सम्बन्धको समीक्षा र विदेश नीति पुनरावलोकन नगरे आगामी दिनमा छिमेकी गुमाउने मात्रै नभई शक्ति राष्ट्र बन्नबाट समेत चुक्ने सापकोटाको विश्लेषण छ। त्यस्तो स्थिति आउन नदिन नेपालले छिमेकीको हैसियतले वार्ताका लागि आह्वान गर्नुपर्ने उनले बताए। सापकोटाले भने, 'दुई वटा मात्र छिमेकी रहेको नेपालले दुई मुलुकबीच झडप भएका बेला शान्तिपुर्ण वार्ताका लागि जोड दिनुपर्छ।' 

सुरक्षाविद् गेजा शर्मा वाग्लेले सीमा विवाद भएका छिमेकीसँग भारतले कठोर सैन्य नीति अवलम्बन गर्न खोजेजस्तो देखिएकाले नेपालसँगको सीमा विवाद तत्काल समाधान हुन नसक्ने अवस्था रहेको बताएका छन्। 'अहिले भारतले सीमा विवाद भएका देशहरूसँग कुटनीतिक संवादको माध्यमबाट समस्या समाधान खोज्ने भन्दापनि सैन्य अस्त्र प्रयोग गर्न खोजिरहेको जस्तो देखिन्छ,' उनी भन्छन्‌, 'यसले गर्दा संवादको माध्यामबाट सीमा विवाद समाधान गर्छौं भन्ने नेपालको प्रस्तावमा पनि भारतले चासो राखेको देखिँदैन, त्यसकारण तत्काल वार्ता हुने स्थिति छैन।' 

भारत र चीनबीच भएको सैन्य झडपले दुई देशबीच द्वन्द बढ्ने र त्यसको भूराजनीतिक, कुटनीतिक र सामरिक प्रभाव नेपालमा पनि प्रत्यक्ष पर्ने देखिएको वाग्लेले बताए। दुई देशबीच देखिएको असमझदारी र झडपको स्थिति रोकेर शान्तिपूर्ण वार्तामार्फत समस्या समाधान गरी क्षेत्रीय शान्ति कायम गर्न अनुरोध गर्ने तथा नेपाल र भारतबीच देखिएको सीमा विवाद कुटनीतिक माध्यमबाट समाधान गर्न नेपालले विशेष भूमिका खेल्नुपर्ने उनको तर्क छ।

दुई छिमेकी युद्धको स्थितीमा गए नेपालमा भूराजनीतिक, कुटनीतिक र सामरिक प्रभाव पर्ने भएकाले नेपालले आफ्नो सिमामा विशेष सुरक्षा सतर्कता बढाउन जरुरी रहेको उनी बताउँछन्‌। भारत र चीनबीच भएको सैन्य झडपको प्रत्यक्ष सैन्य प्रभाव नेपालमा पर्न नदिन र नेपालको सीमा प्रयोग गरी अनधिकृत गतिविधि हुन नदिन सीमा क्षेत्रमा नेपालले सुरक्षा सतर्कता बढाउन जरुरी रहेको उनको ठम्याई छ।

परराष्ट्रविद् इन्द्रा अधिकारीले छिमेकीहरूबीच तनाव बढेका बेला नेपालले सन्तुलित सम्बन्ध कायम राखेर अघि बढ्नुपर्ने बताइन्‌। दुवै मुलुक नेपालको सबैभन्दा नजिकका छिमेकी भएकाले यस्तो बेला असंलग्न परराष्ट्र नीतिलाई मूल मन्त्र मानेर तटस्थ भूमिका निर्वाह गर्नुपर्ने उनको बुझाइ छ। 

‘हाम्रो देशको अवस्थिति भूपरिवेष्ठित छ, हामी यही दुई छिमेकी देशबाट परिवेष्टित छौँ, त्यसैले हाम्रो लागि दुवै मुलुक महत्वपूर्ण छन्,’ उनले भनिन्, ‘अर्कातर्फ हाम्रो परराष्ट्र नीतिको मूल मन्त्र तटस्थ भूमिका निर्वाह गर्ने हो, यही कारण नेपालले युद्धका विषयमा कसैको विरोध पनि गर्दैन र समर्थन पनि गर्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.