प्रयोगशालाले परीक्षणको चाप थेग्‍न सकेनन्

|

बुटवल : प्युठान माण्डवी गाउँपालिकाका गेतबहादुर कार्की दाङको बङ्गलाचुली गाउँपालिकामा रहेको क्‍वारेन्टाइनमा बसेको २१ दिन बितिसकेको थियो। तर, उनी घर जान पाएका थिएनन्। जेठ ९ गते भारतको गोरखपुरबाट आएर क्वारोन्टाइनमा बसेका कार्कीले २१ गते स्वास्थ्यकर्मीलाई स्वाब दिएका थिए। 

रिपोर्ट कुर्दाकुर्दै २९ गते उनी क्वारेन्टाइनमै बिरामी परे। ३० गते उपचार क्रममा बुटवल ल्याउँदै गर्दा कपिलवस्तुमा उनको मृत्यु भयो। ‘रिपोर्ट आउला र घर जाउँला भनेर कुरेर बसेको थियो,’ कार्कीलाई उपचार गराउन अस्पतालसम्म ल्याएका उनका साथी भीमबहादुर वलीले भने, ‘आफ्नो रिपोर्ट नै थाहा नपाई मरेर गयो।’ 

मृत्यु भएको दिन साँझ कार्कीको पिसिआर रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जानकारी दियो। यसले प्रदेश ५ मा कोरोना परीक्षणमा भएको ढिलाइले क्‍वारेन्टाइनमा बस्ने नागरिकले कतिसम्म पीडा भोग्नु परेको छ भन्ने कुरालाई उदाङ्गो पारेको छ। 

प्रदेश ५ का प्रयोगशालामा क्‍वारेन्टाइनबाट संकलित स्वाब नमुनाको चाङ छ। मंगलबार साँझसम्म ७ हजार ९ सय ८९ वटा स्वाब परीक्षणको पर्खाइमा छन्। तीनवटा प्रयोगशालाले परीक्षणको चाप थेग्न नसकेपछि क्‍वारेन्टाइनमा रिपोर्ट कुरेर बसेकाहरु महिना दिन बित्न लाग्दासमेत घर जान पाएका छैनन्। 

विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार १४ दिनको क्‍वारेन्टाइन बसाइपछि जोकोही पनि घर जान सक्छन्। भैरहवा, दाङ, र बाँकेका प्रयोगशालामा संकलित स्वाब नमुना थुप्रिँदै गएपछि काठमाडौं र हेटौंडा पनि पठाइएको छ। 

संकलित स्वाबमध्ये भैरहवा प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा १ हजार ७ सय १०, भेरी अस्पताल प्रयोगशालामा ८ सय २८, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ हजार २ सय ६२, त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ८ सय ६७ र अन्य प्रयोगशालामा २ सय ६२ वटा स्वाब परिक्षणको पर्खाईमा छन्। 

यी स्वाबको परिक्षण हुन कम्तीमा १० दिन लाग्ने प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले जानकारी दिए। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले प्रयोगशालाको क्षमता कम र स्वाब धेरै संकलन भएका कारण ढिलाइ भइरहेको बताए। 

मंगलबार साँझसम्म प्रदेशमा कुल ३० हजार ७ सय २१ जनाको स्वाब संकलन भई २२ हजार ७ सय ३२ जनाको परिक्षण भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको क्‍वारेन्टाइनमा २६  हजार १ सय ६७ नागरिक छन्। 

रिपोर्ट नआएपछि क्‍वारेन्टाइनबाट भाग्दै 

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको क्‍वारेन्टाइनबाट मानिसहरु भागेका छन्। भूमिकास्थान नगरपालिका १ र २ को क्‍वारेन्टाइनबाट भागेका ३५ जनालाई प्रहरीले मंगलबार  प्रहरीले पक्राउ गरी फेरि क्‍वारेन्टाइनमा पठाएको छ।

क्‍वारेन्टाइनमा बसेको २५ दिन बितिसक्दा समेत स्वाब परिक्षण हुन नसकेपछि उनीहरु भागेका बताएका छन्। जेठ २२ गते पीसीआर परीक्षणका उनीहरुको लागि स्वाब संकलन गरी पठाइएको थियो। तर १४ दिन पुग्दासम्म रिपोर्ट नआएपछि उनीहरु एकाएक क्‍वारेन्टाइनबाट भागेका थिए। 

भाग्नेहरू सबैजना भारतको दिल्ली, हरियाणा, पंजाब, केरालगायत ठाउँबाट आएर स्थानीय सरकारले बनाएको क्‍वारेन्टाइनमा बसेका थिए। परिक्षण नहुँदा समयमै घर जान नपाएपछि भाग्नुपरेको भुमिकास्थान–१ का २३ वर्षीय युवकले बताए।  

यसअघि जेठ १३ गते क्‍वारेन्टाइनमा बसेको दुई हप्तासम्म कोरोना जाँच नभएको भनेर कपिलवस्तुको क्‍वारेन्टाइनमा रहेका ३० जना भागेका थिए। कपिलवस्तु नगरपालिका ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जनाले राति साढे ९ बजे क्‍वारेन्टाइन छाडेर थिए। योभन्दा अगाडि कपिलवस्तुकै विभिन्न क्‍वारेन्टाइनबाट ५० जना भागेका थिए। 

प्रयोगशाला स्तरोन्ति गरिँदै 

हाल संचालित प्रयोगशालाले परिक्षणको भार थेग्न नसकेपछि प्रदेश सरकारले बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालको प्रयोगशालालाई स्तरोन्नति गरिरहेको छ। कोरोना परिक्षणका लगि चाहिने ‘जैविक सुरक्षा तह–२’ मा प्रयोगशाला स्तरोन्नति भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए। 

उनका अनुसार प्रयोगशालाका लागि पिसिआर मेसिन खरिद गरी अस्पतालमा ल्याइएको छ। स्तरोन्नति पछि परीक्षण सुरु हुने डा. चौधरीले बताए। यस्तै सरकारले दाङको राप्ती प्रादेशिक अस्पतालमा पनि ल्याबको स्तरोन्नति गरी पिसिआर मेसिन ल्याउने तयारी थालेको छ। योसँगै केही दिनमा नै प्रदेशका ५ वटा स्थानबाट पिसिआर विधिद्वारा स्वाब परिक्षण हुने डा. चौधरीले बताए।  

स्तरोन्नति गर्न लागिएका प्रयोगशाला सञ्चालनमा आएमा दैनिक करिब ५ सय वटा स्वाब परिक्षण हुने उनको बुझाइ छ। हाल प्रदेशका प्रयोगशालामा दैनिक करिब ३ सय वटा स्वाब परिक्षण भइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.