|

बैतडी : भीटीएम अभावमा बैतडीसहित सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन कार्य रोकिएको छ। जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसी आरडीटी पोजेटिभ देखिएका झण्डै चार सय नागरिकको स्वाब संकलन बाँकी छ। 

तर भीटीएम किट अभावमा स्वाब संकलन हुन भने नसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। आरडीटी पोजेटिभ आएपछि समयमा स्वाब संकलन नहुँदा क्वारेन्टाइनमा बसेकाको बसाइ भने लम्बिँदै गएको छ। 

क्वारेन्टाइनमा बसेको एक महिना हुनै लाग्दासमेत स्वाब संकलन नभएको पुर्चौंडी नगरपालिकाका ८ मल्लादेहीका लक्ष्मण विकले बताए। एकै क्वारेन्टाइनमा बसेका परिवारका सदस्यमध्ये कसैको आरडीटी पोजेटिभ र कसैको नेगेटिभ आएपछि झनै समस्या भएको छ। 

नेगेटिभ आएकालाई पनि घर पठाउन नसकिएको मल्लादेही स्वास्थ्य चौकी प्रमुख हेमराज भट्टले बताए। जिल्लामा भीटीएम अभाव भए पनि यसको पुर्तिबारे जानकारी नआएको भट्टले बताए। बैतडीमा अहिले तीन हजार बढी नागरिक क्वारेन्टाइनमा छन्। उनीहरुमध्ये आरडीटी पोजेटिभ देखिएका ३ सय बढी छन्। 

रिपोर्ट नआउँदै धमाधम घर पठाइँदै

यसैबीच बैतडीमा आरडिटी पोजेटिभ देखिएकालाई पिसिआर परीक्षणबिनै धमाधम घर पठाउन थालिएको छ।  दोगडाकेदार गाउँपालिकाले विभिन्न क्वारेन्टाइनमा बसेका १ सय जनालाई घर पठाएको छ।   
घर पठाइएका सबैलाई अनिवार्य १४ दिन होम आइसोलेसनमा बस्न सर्त गराइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए। 

दोगडाकेदार गाउँपालिकामा भारतबाट फर्किएका १ सय ४९ जनाको आरडिटी पोजेटिभ आएको छ। ती सबैको स्वाब संकलन गरी वडाध्यक्ष र अभिभावकको जिम्मेवारी लगाइएको हो। क्वारेन्टाइनमा ठाउँ अभाव भएकाले पठाइएको बताइएको छ। ‘होम आइसोलेसन’मा बस्दा जथाभावी हिँडडुल नगर्ने सरसफाइमा ध्यान दिनेलगायत १४ वटा सर्त गराइएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.