भारतबाट आएकाको उद्धारमा जुटेका थिए

|

डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको बुधबार मृत्यु भयो। 

शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ वर्षीय संक्रमित पुरुषको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आइसियुमा राखेर उनको उपचार भइरहेको थियो। 

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार बुधबार साँझ ७ बजेर ५२ मिनेटमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। उनलाई शनिबार राति उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

मंगलबार रातिदेखि उनको स्वास्थ्य बिग्रिएको थियो। मंगलबारदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि सम्भव भएको थिएन। उनले यसअघि अत्तरियाका क्लिनिक र अस्पतालमा धाएका थिए। नवजीवन अस्पतालमा जानुअघि उनी धनगढीकै माया मेट्रो हस्पिटलमा उपचारका लागि गएका थिए। 

उनलाई त्यहाँ भर्ना गर्न भनिएकोमा भर्ना नभएरै फर्किएका थिए। त्यसपछि उनी नवजीवन अस्पतालको आइसियुमा उपचार गराइरहेका थिए। त्यहाँ उपचार गर्दा गर्दै उनलाई कोरोना पुष्टि भएको थियो। 

ती संक्रमित पुरुषले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा बसमार्फत पुर्याउँदै आएका थिए। उनी आफैं बस चालक र आफैं बस मालिक पनि थिए। कोरोनाबाट मृत्यु भएका ती बस चालकले सीमानामा अलपत्र परेका सयाैँ नेपालीलाई क्वारेन्टाइनसम्म सुरक्षित पुर्‍याए। तर आफ्नो उपचारका लागि समयमै गन्तव्यमा जाने व्यवस्था नहुँदा ज्यान गुमाएका छन्।

गम्भीर अवस्थामै नवजीवनको आइसियुमा उपचार गराइरहेका उनलाई शनिबार राति सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ल्याएर उपचार थालिएको थियो। कोरोना अस्पतालमा पनि उनको अधिकांश समय आइसियु र भेन्टिलेटरमै बितेको थियो।

अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार उनको स्वास्थ्य अवस्था एकदमै जटिल भएपछि सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयलाई एयर एम्बुलेन्सको व्यवस्था गर्न पत्र काटेको थियो। ‘उहाँको अवस्था जटिल भएपछि हामीले अस्पतालबाट मन्त्रालयलाई पत्र लेखेका थियौं’, उनले भने।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार उनलाई उपचारका लागि काठमाडौं लैजान एयर एम्बुलेन्सको व्यवस्था गर्न सोमबारदेखि लागेको थियो। 

सामाजिक विकास मन्त्रालयले मंगलबार नै आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पत्राचार गरेर एयर एम्बुलेन्सका लागि भनिएको थियो। बुधबार बिहानसम्म एयर एम्बुलेन्स आउने भनिएको थियो। तर साँझसम्म पनि नआउँदा ती बस चालकको मृत्यु भयो। मंगलबारदेखि नै उपचारका लागि काठमाडौं लैजान एयर एम्बुलेन्सका लागि पहल भयो, तर पाइएको थिएन। 

भारतबाट आएका नेपालीहरूलाई आफ्नो बसमा राखेर विभिन्न स्थानमा पु¥याउने क्रममा उनी संक्रमित भएका थिए। उनी कहिले आफैं बस चलाउँथे, कहिले बसको क्याबिनमा चालकसँगै बस्थेँ। त्यही क्रममा उनी संक्रमित भएको जनाइएको छ। 

सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उनको बुधवार साँझ मृत्यु भयो। उनलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भए पनि खराब मौसमका कारण नेपाल वायु सेवा निगमको सानो जहाज काठमाडौंबाट धनगढी आउन सकेन। 

बिहीबार उनको उद्धारका लागि निगमको सानो जहाज धनगढी आउने पक्का भएको थियो। तर, अब जहाज आउनु परेन। अरुको उद्धार गर्दा गर्दै संक्रमित भएका उनले उद्धार हुन नपाएरै प्राण त्यागे।

अहिले ती पुरुषको शव व्यवस्थापन गरिन लागिएको छ। मापदण्ड अनुसार उनको शव व्यवस्थापनका काम भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। नेपाली सेनाको शव व्यवस्थापन टोलीले धनगढीको मोहना घाटमा मृतकको शव व्यवस्थापन गर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.