बिमा रकमको लोभमा हत्या गरिएको अनुमान, ससुरा र नन्द पक्राउ

|

हेटौंडा : हेटौंडा–४, गर्दोईमा घरमै मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्या आशंका गरिएको छ। तीन दिनअघि घरको भान्छा कोठामा वीभत्स अवस्थामा भेटिएको सुस्मिताको शवको अनुसन्धान गर्ने क्रममा हत्या देखिन आएको छ।  

गत मंगलबार बिहान सुस्मिताको शव भान्छामा भेटिएको थियो। मृतक थापाको टाउकोमा गम्भीर चोट पुगेको घटनास्थलमा पुगेका स्थानीयबासीले बताएका छन्।

मकवानपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। सुस्मिता थापाका ससुरा र नन्दको भूमिका शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि बिहिबार उनीहरुलाई नियन्त्रणमा लिएको छ।  

घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको बताएका थिए। तर सुस्मिताको शव भान्छामा वीभत्स अवस्थामा भेटिनुले हत्या भएको आशंकामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी स्रोतले जनाएको छ। 

प्रहरीका अनुसार मृतकको ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३  वर्षकी सीता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ। 

६ महिनाअघि मात्रै सवारी दुर्घटनामा उनका श्रीमानको मृत्यु भएको थियोे। प्रहरी स्रोतका अनुसार मृतक थापाका श्रीमानको दुर्घटना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो। उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट हत्या भएको आशंका बलियो भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायव उपरीक्षक इन्द्रबहादुर रानाले घटना बारे अनुसन्धान भइरहेकाले थप जानकारी दिन नसकिने बताए। घटनाको अनुसन्धानपछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने उनले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.