|

डोल्पा : बिहिबार राति देखि अविरल रुपमा परेको वर्षाका कारण त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बजार जलमग्न भएको छ। बजार क्षेत्रमा पर्ने पूर्ण केशर न्यौपानेको घरको तल्लो तलामा पानी पसेर टिलपिल भएको छ भने आसपासका आधा दर्जन घरहरु डुबेका छन्। 

थन्केर बसेको नगरपालिकाको डोजरलाई आधा घण्टाका लागि ढल निकासका गर्न पठाइदिन आग्रह गरे पनि पठाउन नगरपालिका नपठाएको बजारबासीले बताएका छन्। बजार आसपासबाट आएको पानी भरिएर आफ्नो घरमा पानी पसेर अन्नबाली पाठ्यपुस्तक भिजेको पूर्णकेशर न्यौपानेले बताए। साथै बजार आसपासका अन्य घरहरु पनि डुबान खतरामा रहेको उनले बताए। 

नगरपालिकालाई बारम्बार ढल निकासका लागि लिखित एवम् मौखिक जानकारी गराए पनि बेवास्ता गरिएको उनले जनाए। बजारबासीको गुनासोलाई नगरपालिकाले बेवास्ता गरेको भन्दै दुवैतिर सडकमा ठुल्ठूला काठ हालेर बाटो बन्द गरिएको छ।

बजार क्षेत्रकै सडक बन्द भएपछि मालवाहक ट्याक्टर, मोटरसाइकललगायत सवारीसाधन आवतजावत ठप्प भएका छन्। नगरपालिकाले ढल निकासको ब्यवस्थापन नगरेसम्म बाटो नखुलाउने बजारबासीले चेतावनीसमेत दिएका छन्। 

प्रत्येक वर्षायाम सुरु भएसँगै यस बजार क्षेत्र डुबानमा पर्दै आएको छ। यता नगरप्रमुख ओमबहादुर बुढाले ढलनिकासका विषयमा केही गर्न नसक्ने भन्दै बजारबासीलाई जिल्ला प्रशासन कार्यालय जान सुझाव दिएका छन्।

आफूहरुले बारम्बार अनुगमन गरेर सिमेन्ट पाइप लिएर पानी निकास व्यवस्था गर्न भने पनि बजारबासी आफैं झगडा गरेर यस्तो अवस्था आएको नगरप्रमुख बुढाले बताए। नगर प्रमुखले सामान्य कुरामा समेत प्रशासन जान सुझाव दिएको भन्दै जिल्ला प्रशासन कार्यालय डोल्पामा सामूहिक उजुरी तयारीमा बजारबासी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.