|
फाइल फोटो

जाजरकोट : कोरोना भाइरसको त्राससँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक किसान पाटनमा गएका छन्।  जेठ, असारदेखि साउनसम्म स्थानीय जंगल बन्द हुने भएपछि किसानहरु पशुचौपाय लिएर पाटनतिर लागेका हुन्। नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाका किसान डोल्पाका पाटन र जुम्लाको सिमाना रहेका पाटनमा पुगेका छन्। 

यहाँका कृषक पाटन गएसँगै गाउँ सुनसान जस्तै भएको छ भने पाटन भरिभराउ भएको छ। पाटनमा पशु चौपायलाई नयाँ पलाएको घाँस खुवाउन सजिलो हुनुका साथै त्यहाँ पाइने जडीबुटीसमेत सङ्कलन गर्न पाइने भएपछि यस याममा कृषक पाटन जाने गरेका छन्।

यहाँका सर्वसाधारण पशुचौपाय लिएर पाटन जान थालेको बारेकोट गाउँपालिका–५ पृथी शाहीले बताइन्। उनले भनिन्, ‘पाटनमा लगाएका आलु खन्ने कामदेखि नयाँ पालुवा पशुचौपायलाई खुवाउन सजिलो छ। त्यसैले गाउँका दाजुभाइ पशुचौपाय लिएर पाटन जान थालेका छन्।’

गाई, भैँसी, बाख्रा, भेँडा, गोडालगायत पशुचौपायलाई पाटनका औषधिजन्य घाँस खुवाउँदा रोग नलाग्ने किसानहरु बताउँछन्।

भैँसीले हिमालको दाप (घाँस) खाएर दूधसमेत बढी दिने भएकाले घिउ बढी उत्पादन हुने र पाटनमा उत्पादन भएको घिउ अत्यधिक बिक्री हुने गरेको बारेकोट गाउँपालिका–४ का धनिलाल बस्नेतले बताए। तीन महिना गाउँमा पशु चौपाय नराख्ने स्थानीय जंगलमा घाँस बढ्ने मौका पाउने गर्दछ। यो समयमा बढेको घाँसले हिउँद यामसम्म पुग्ने कृषकको भनाइ छ। 

पाटनमा अर्गानिक आलु उत्पादन

पशुचौपाय पालनसँगै यहाँका किसानले पाटनमा अर्गानिक आलु उत्पादन कार्यलाई समेत जोड दिएका छन्। वैशाखमा पाटनमा गई लगाएका आलु असार, साउनमा निकालिने गरिन्छ। गाउँमा लगाएको आलुभन्दा पाटनमा लगाएको आलु राम्रो भएको नलगाड नगरपालिका–६ का जयबहादुर रावलले बताए।

बारेकोट गाउँपालिका–४ का चौथारी, गणेश, पुथा, राँगा, लाग्नालगायत दर्जन पाटनमा आलुखेती गरिन्छ । त्यस्तै नलगाड नगरपालिका–७ को थामा, ८ को मेघाचौर, वैइनेउरा, धुपागैरा, नौचारा, डोङ्खोला, मंसिरी, बुराउसे, फूलपारी, रामरालगायका ठाउँमा पशुपालनसँगै आलुखेती गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.