|

सिमरा : समान्यतया बघिनीले एकसाथ ३ ओटा डमरु जन्माउनुलाई अनौठो मानिन्छ। यसवर्ष पर्सा राष्ट्रिय निकुञ्जमा एक बघिनीले एकसाथ ३ ओटा डमरु जन्माएपछि निकुञ्जका कर्मचारी पनि चकित छन्।

‘हाम्रोमा अरु बाघ पनि ब्याएका छन्, तिनले १/२ ओटा मात्रै जन्माएका छन् तर, एउटा बघिनीले ३ ओटा सम्म डमरु जन्माई, जुन अत्यन्त नौलो हो’, पर्सा राष्ट्रिय निकुञ्जका मध्यवर्ती फाँटका प्रमुख विवस कोलोनी भने।
यसअघि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बस्दै आएकी गर्भिणी बाघले बाराको हलखोरिया दहमा गएर ३ ओटा डमरु जन्माएकी हो। पर्सा राष्ट्रिय निकुञ्जमा बाघको वृद्धिदर सन्तोषजनक हुदै गएको निकुञ्जले जनाएको छ। ‘निकुञ्जको संरक्षित क्षेत्र अलि फराकिलो हुँदै जानु र बाघको आहारा प्रजातिका जनावरको संख्या बढेका कारण बाघ पनि बढेको हो,’ कोलोनीले भने, ‘एउटा बाघको बच्चा अर्को बाघले भेटाउनासाथ मारिदिने कारणले बाघले बच्चा हुर्काउन सुरक्षित ठाउँको खोजी गर्छ।’ 

प्रत्येक बाघको शरीरको पाटा फरक फरक हुने भएकोले त्यसकै आधारमा कोर्ड नं राखेर बाघको गणना हुने गर्दछ। यसअघि २०१८ को गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा १८ ओटा बाघ रहेकोमा हाल २ वर्षको अवधिमा ५ देखि ७ ओटा बाघ बढेको निकुञ्जले जनाएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको अनुसूची १ अनुसार २६ ओटा संरक्षित जनावरभित्र बाघ पनि पर्दछ। राष्ट्रिय रुपमा बाघको गणना ५÷५ वर्षमा हुने गर्दछ। सरकारले अगामी २ वर्षभित्रमा बाघको संख्या दोब्बर बनाउने लक्ष्यअनुसार २०२२ सम्म २ सय ५० बनाउने लक्ष्य राखेको छ। 

चितवन, बर्दिया, बाँके, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा गरी हाल देशभर २ सय ३५ बाघ छन्। ‘हाम्रो लक्ष्य बाघको संख्यालाई दोब्बर बनाउने मात्रै भन्दा पनि मुख्य रुपमा संरक्षण गर्ने हो’, पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर प्रकाश पुनले भने। 

निकुञ्जले आफ्नो क्षेत्रभित्र क्यामरा ट्यापिङबाट आन्तरिक रुपमा बर्सेनि संरक्षित जनावरकोे गणना गर्दै आएको छ। सामान्यतया एउटै बाघको बसोबास क्षेत्र (होम रेन्ज) भालेको ५० देखि ६० किलोमिटर र पोथी २० देखि ३० किलोमिटर हुन्छ। उनीहरुले आफ्नो क्षेत्रमा नयाँ बाघ देख्नासाथ आक्रमण गरेर भगाउने गर्छन्। 

‘संरक्षित क्षेत्र अलि फराकिलो भएपछि एउटै बघिनीबाट ३ ओटा नयाँ डमरु हाम्रो क्यामरामा देखिएको छ’, रेञ्जर पुनले भने, ‘हरेक जनावरको गणना अलग अलग तरिकाबाट हुन्छ, तर बाघको गणना गर्दा हामीले उसको बसोबास तथा हिँडडुल गर्ने क्षेत्रभित्र दुवै साइडमा २ ओटा  सेन्सर क्यामरा जडान गर्छौं र त्यो क्यामराले बाघको ट्यापिङ गर्छ, त्यसकै आधारमा त्यो बाघ पुरानो हो कि नयाँ हो भनेर विश्लेषण हुन्छ’, उनले भने। 

४७ हजार १ सय ८१ हेक्टर बाराको कुल वन क्षेत्रमध्ये १५ हजार ९ सय ९१ हेक्टर पर्सा राष्ट्रिय निकुञ्ज पर्दछ। यो पूर्वपश्चिम राजमार्गको पथलैयादेखि फास्ट ट्रयाकसम्म जोडिएको छ।


पछिल्लो समय निकुञ्जको भूभाग बिस्तार भएपछि बाराको हलखोरिया दह गैडा, हात्ती र बाघलगायत जनावरको बासस्थानकै रुपमा विकास हुँदै आएको छ। पर्सा राष्ट्रिय निकुञ्जमा चितवन राष्ट्रिय निकुञ्ज, कोसी टप्पु र बिहारको बाल्मिकी टाइगर रिजनबाट जनावरहरु आउजाउ गर्ने गर्दछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.