|

संखुवासभा । चैनपुर–बाह्रबिसे सडक खण्डअन्तर्गत हेवा खोलामाथिको झोलुंगे पुल निर्माण गर्ने समयअवधि सकिएको १ वर्ष बित्दा काम भने शून्य छ।  निर्माण जिम्मा पाएको पुष्पाञ्जलि कन्स्ट्रक्सन प्रालिले हेवाखोला दोभानेमा पुल निर्माण थालेको चार वर्ष बितिसक्यो तर काम भने केही पनि भएको छैन।

सडक विभाग र ठेकेदार कम्पनीको लापरवाहीले पुल निर्माणले गति लिन नसकेको हो। चार करोड ५८ लाख रुपैया लागतमा बन्न लागेको पुल २०७३ साल भदौमा काम सुरु गरेर ०७५ असोजसम्ममा सकिने लक्ष्य थियो। 

पहिलो वर्ष फाउन्डेसन खन्दा चट्टान भएको बहाना बनाउँदै  कम्पनीले काम स्थगित गरेको थियो । हेवाखोलामा झोलुंगे पुल नहुँदा पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका जान बाँसको अस्थायी पुल (फड्के) प्रयोग गर्नुपर्ने बाध्यता रहेको पाँचखपन–८ का वडाध्यक्ष छत्र न्यौपानेले बताए । 

वर्षायाममा खोलामा पानीमा बहाव बढेसँगै कुनै पनि सवारीसाधन नचल्ने अवस्था हुने स्थानीय इन्द्र बहादुर न्यौपानेले बताए । पुलमा प्रयोग गरिएका बाँस र काठ पनि पुरानो भई मक्किसकेकाले जोखिम बढेको अर्का स्थानीय शेर कुमार कार्कीले बताए । वर्षा याममा पानीको वहाव बढेपछि फड्के बगाएर लैजाने गरेको स्थानीय कार्की बताउँछन्। 

पुल निर्माणको जिम्मा पाएको पुष्पाञ्जलि कन्स्ट्रक्सनले अहिले कुनै पनि काम सुरु नगरेकाले स्थानीयले पटक–पटक सडक डिभिजन कार्यालय तुम्लिङटार घेराउ गर्दै आएका वडाध्यक्ष न्यौपाने बताउँछन्। 
काम शून्य भए पनि सडक कार्यालयले काम नगर्ने पुष्पाञ्जलि कन्ट्रक्सनलाई नै म्याद थप गरेर राखिरहेको छ। 

‘अहिले तत्कालका लागि कन्स्ट्रक्सनलाई म्याद थप गरेर काम गर्ने भनिएको छ,’ सडक कार्यालय तुम्लिङटारका प्रमुख गौतम कुमार श्रेष्ठले बताए । हेवाखोलामा पुल निर्माण जिम्मा पाएको ठेकेदार कम्पनीले  समय सकिन लाग्दा मात्र काम सुरु गरेको जनाएको थियो । चट्टान भेटिएको भनी डिजाइन परिवर्तन गरेर ०७५  वैशाखमा खनेको नयाँ पिलरको फाउन्डेसन पनि बाढीले पुरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.