जुम्ला : चन्दननाथ नगरपालिकाको गेटमै थुपारिदिएपछि बल्ल जुम्लाबजारमा फोहोर उठाउन थालिएको छ। नगरपालिकाले फोहोर नउठाएका कारण बजार नै दुर्गन्धित भएपछि स्थानीय युवाहरूले फोहोर जम्मा पारेर नगरपालिकाको गेटमा लगि थुपारिदिएका थिए।
कोरोना भाइरसका कारण महामारी निम्तिरहेपनि नगरक्षेत्रमा लामो समयदेखि फोहोर उठाइएको थिएन। स्थानीयवासीको दबाब र सञ्चारमाध्यममा जुम्ला बजारको सरसफाई अवस्थाबारे समाचार सार्वजनिक भएपछि शनिबारदेखि सरसफाई अभियान सुरु भएको हो।
बजारको फोहोर हटाउन जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बैठक बसी शनिबारदेखि सरसफाई अभियान थालिएको हो। यो अभियानमा लामो समयसम्म बजार क्षेत्रको फोहोर नउठाउने चन्दननाथ नगरपालिका, वन डिभिजन कार्यालयका पदाधिकारी/कर्मचारीहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, पत्रकार महासंघसहित सरोकारवालाहरू संलग्न छन्।
फेसनजस्तो अभियान
बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न चन्दननाथ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले अहिलेसम्म डम्पिङ साइट समेत बनाउन सकेका छैनन्। अहिले भइरहेको सरसफाई अभियानअन्तर्गत संकलिन फोहोर विसर्जन गर्न चन्दननाथ नगरपालिकाको वडा नं ४ को खालगाडमा अस्थायी फोहोर व्यवस्थापन क्षेत्र छनोट गरिएको प्रजिअ थापाले जानकारी दिए। तर खलगाडका स्थानीयले भने नगरक्षेत्रको फोहोर फाल्न नदिने भन्दै विरोध जनाएका छन्।
चन्दननाथ नगरपालिकामा यसअघि पनि पटक-पटक सरसफाई अभियान हुने गरेको छ। तर केही दिनसम्म तामझाम देखाएपछि फेरि बजार क्षेत्र फोहोरले ढाक्ने गरेको छ। नगपालिकाले यो पटक पनि 'फोहोर मलाई' लेखिएको डस्टबिन ठाउँठाउँमा राख्ने बताएको छ। तर डस्टबिनको सुरक्षा दीर्घकालिन ढङ्गले नै फोहोर व्यवस्थापन थाल्नेबारे योजना ल्याउन सकेको छैन।
खालगाडमा स्थानीयले फोहोर फाल्न नदिए कहाँ लगेर फाल्ने भन्ने पनि अहिलेसम्म थाहा लागेको छैन।
सहरवासीकै हेल्चेक्य्राईं
जुम्लाबजार दिनप्रतिदिन डम्पिङ साइटजस्तो बन्नुका पछाडि नगरपालिकासँगै स्थानीयवासी पनि जिम्मेवार देखिन्छन्। आफ्नो घरमा निस्किएको फोहोर आफैंले व्यवस्थापन नगर्ने र जथाभावी फालिदिने प्रवृत्तिका कारण नगरक्षेत्र दुर्गन्धित बन्दै गएको हो।
नगरवासीले फोहोर फाल्ने र नगरपालिकाले नउठाउने गर्दा जुम्ला बजारका सडक हिँडिसाध्य हुँदैन। यसपछि नगरवासी र नगरपालिकाको काम पनि स्थानीय क्लब र सुरक्षाकर्मीले नै गरिदिनुपर्छ। जुम्ला बजारको फोहोर उठाउन नेपाली सेना, नेपाल प्रहरी ,ससस्त्र प्रहरी र युवा क्लबको जिम्मेवारीजस्तै बनेको छ। नगरवासीमा आफूले उत्सर्जन गरेको फोहोर आफैंले व्यवस्थापन गर्नुपर्छ भन्ने चेत हराउँदै गएको छ।
बजारको फोहोर उठ्यो, जुगाडको खोला उस्तै
चन्दननाथ नगरपालिकाको बजार क्षेत्रमा तीन महिनादेखि थुप्रिएको फोहोर शनिबार उठेको छ।
तर, टुँडिखेलको तल्लो गेटनजिकै रहेको जुगाड नै कुरूप हुनेगरी फालिएको फोहोर त्यसै छाडिएको हो। सो खोलामा झण्डै एक दशकदेखिको फोहोर थुप्रिएको छ।
नगरपालिका र स्थानीय प्रशासनले फोहोर हटाई जुगाड खोलाको सौन्दर्यीकरण गर्नेबारे अहिलेसम्म कुनै काम गरेका छैनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।