पर्वत : संक्रमितको उपचारमा खट्नुपर्ने पर्वतका चिकित्सक र स्वास्थ्यकर्मीहरू आफ्नै ज्यु-ज्यान खतरामा परेपछि सुरक्षा माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
झमझम बर्खे झरी परिरहँदा जिल्ला प्रशासन कार्यालयअघि यहाँका चिकित्सक र स्वास्थ्यकर्मीहरू छाता रुझ्दै-भिज्दै आन्दोलनमा सहभागी भएका हुन्। भारत तथा तेस्रो मुलुकबाट स्वदेश फर्किएकालाई कोरोना परीक्षणको नतिजा नआउँदासम्म कडा सुरक्षा निगरानीमा क्वारेन्टाइनमा राखिने गरिएको भएपनि सङ्क्रमितको उपचार गर्ने चिकित्सकहरू नै स्वाब परीक्षणको नतिजा नआउँदै आन्दोलनमा उत्रिएका हुन्।
पर्वत अस्पतालका स्वास्थ्यकर्मीले शनिबार जिल्ला प्रशासन कार्यालयमा पुगेर नाराबाजी गरे। आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिन हुँदापनि अस्पतालका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा नराखिएका कारण आन्दोलनमा उत्रनुपरेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्वतमा धर्ना दिँदै उनीहरूले तत्काल आइसोलेसन बेडको व्यवस्था गरी स्वास्थ्यकर्मीलाई राख्न माग गरेका थिए।
आशङ्का गरिएकाहरु बाहिर आउँदा रिसायो समुदाय
कोरोना सङ्क्रमितको उपचारमा संलग्न दुई चिकित्सकसहित पाँचजना स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण पुष्टि भएपछि पर्वत अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द गरिएको छ।
सहकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण भएको आशङ्कामा स्वाब परीक्षणका लागि पठाइएको छ। अस्पतालका सबै सेवा बन्द राखेर उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। तर उनै स्वास्थ्यकर्मी भने परीक्षणको नतिजा नआउँदै सडक आन्दोलनमा उत्रिँदा समुदायमा त्रास फैलिएको जिल्ला प्रशासन कार्यालय आसपास र पर्वत अस्पताल रहेको क्षेत्र बाडागाउँका बासिन्दाले बताएका छन्।
पर्वतका ५ जना स्वास्थ्यकर्मीमा शुक्रबार बिहान सङ्क्रमण भएको औपचारिक जानकारी बाहिर आएको थियो, तर सङ्क्रमण पुष्टि भएका दुईजना चिकित्सकले असार २, ३ र ४ गते ओपिडीमा बिरामी जाँच गरेको बताइएको छ। एक जना ल्याब टेक्निसियन बिहादी गाउँपालिका पुगेका थिए। शनिबार दिनभर पहिरोमा रोकिएपछि उनलाई स्याङ्जा, पोखरा हुँदै कुस्मा ल्याइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।