|

सुर्खेत : कोरोना भाइरस (कोभिड(१९) संक्रमण कर्णालीका सबै जिल्लामा पुगेको छ। आइतबारसम्म कर्णालीका १० वटै जिल्लामा कोरोना संक्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाए। 

शनिबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ का ३३ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको छ। शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा रुकुममा ती युवामा संक्रमण पुष्टि भएको डा. लक्ष्मीनारायण तिवारीले जनाए।

रुकुमका युवासहित कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। 

जसमध्ये सल्यान वनगाड कुपिन्डे नगरपालिका–२, ३, ५ र ६ का एक÷एक जना र वडा नम्बर ४ मा दुई जना छन्। सुर्खेत भेरीगंगा नगरपालिका – ७ र ८ का एक÷एक जना र दैलेखको महाबु गाउँपालिका – १ मा दुई जना संक्रमित छन्।  

कर्णालीमा कोरोना संक्रमित संख्या १२ सय ५६ पुगेको छ। संक्रमितमध्ये दैलेखमा सबैभन्दा बढी अर्थात् सात सय ११, सुर्खेतमा दुई सय ७९, सल्यानमा एक सय ६९, कालिकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई र हुम्ला, डोल्पा तथा रुकुम पश्चिममा एक÷एक जना छन्।

यस्तै कर्णालीको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका १६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

आइतबार कर्णालीमा १४ जना कोरोनामुक्त भएका छन्। दैलेखस्थित नौमुले आइसोलेसन सेन्टरबाट सात, सुर्खेतस्थित प्रदेश अस्पतालबाट ३ जना, सल्यान बहुमुखी क्याम्पसबाट तीन जना र जाजरकोट अस्पतालबाट एक जना कोरोनामुक्त भएका छन्। अहिलेसम्म कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच सय ३१ पुगेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.