'अंगीकृतभन्दा वंशज नागरिकताधारीबाटै धेरै राष्ट्रघात'

|

काठमाडौं : संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अघि बढाएपछि जनता समाजवादी पार्टीका नेताहरू आक्रोशित भएका छन्। सत्तापक्षले पेलेर अघि बढ्न खोजेको र कानुन परिवर्तनमा चित्तबुझ्दो कारण दिन नसकेको भन्दै उनीहरूले सदन र सडकमा आन्दोलन गर्ने चेतावनी नै दिएका छन्। 

जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले नागरिकतासम्बन्धी प्रचलित कानुनमा परिवर्तन गर्न जरुरी नै नभएको बताए। ‘यसले मधेशको संस्कृति, हिन्दु रीतिरिवाज र नेपाल-भारत सम्बन्धमाथि ठूलो प्रहार भएको छ,’ कर्णले थाहा खबरसँग भने, ‘विवाह भएर आएपछि महिलाको कूल र गोत्र परिवर्तन हुन्छ, सनातनदेखि चलिआएको यो व्यवस्था तोड्न किन जरुरी पर्‍यो? चित्तबुझ्दो कारण चाहियो नि!’ 

भारतीय सीमा क्षेत्रका सबै ठाउँमा नेपाली र भारतीयबीच विवाह हुने गरेको भन्दै उनले अब ठूलो समस्या आउनसक्ने संकेत गरे। 'नागरिकता नै नपाउने भएपछि अब भारतीयले जानीजानी किन नेपालीलाई छोरी दिन्छन्?' कर्णले प्रतिप्रश्न गरे, 'सीमा क्षेत्रमा यसले ठूलो समस्या निम्तिन सक्छ।’ 

संसदीय समितिबाट झिनो मतले यो विधेयक अघि बढेको भन्दै संसदमा आफ्ना कुरा राख्ने उनले बताए। संसदमा पनि सत्तारुढ नेकपाको बहुमत भएकाले यो विधेयक समितिकै प्रतिवेदनका आधारमा जस्ताको तस्तै पारित हुनेछ। पेलेरै जाने रणनीतिमा सत्तापक्ष देखिए आफूहरू सडक आन्दोलनमा जान बाध्य हुने कर्ण चेतावनी दिन्छन्‌।

​झण्डै दुई वर्षअघि संसदमा दर्ता भएको नागरिकता ऐन, २०६३ लाई संसोधन गर्न बनेको विधेयकमा सहमति जुट्न नसकेपछि राज्यव्यवस्था तथा सुशासन समितिमा अड्किएको थियो। अंगीकृत नागरिकताका विषयमा सत्तारुढ नेकपाकै सांसदहरूको पनि एकमत नभएपछि सचिवालय बैठक नै बसेर ७ वर्षे प्रावधान राख्ने निर्णय गरेको हो।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत रहेका जसपाकै अर्का नेता राजकिशोर यादवले विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिन ७ वर्ष कुराउनुको औचित्य पुष्टि नहुने बताए। ‘पहिला विवाह गर्नासाथ नागरिकता दिँदा कहाँ-कहाँ कस्तो राष्ट्रघाती काम भयो? अब ७ वर्ष कुराएर दिँदा चाहिँ राष्ट्रघात हुन सक्दैन भन्ने के ग्यारेन्टी छ?' यादवले थाहा खबरसँग भने, ‘त्यसैले विना अध्ययन र तथ्यभन्दा बाहिर गएर गरिएको यस्तो निर्णय व्यवहारिक छैन, ७ वर्ष नै कुराउनुपर्ने कारण के हो ? जनतालाई स्पष्ट पार्नुपर्छ।’ 


राजकिशोर यादव।

अंगीकृत नागरिकता लिनेले भन्दा बढी राष्ट्रघाती काम वंशजका आधारमा नागरिकता लिनेले गरिरहेको उनको आरोप छ। आवासीय प्रमाणपत्रको व्यवस्था संविधानले परिकल्पना नगरेको भन्दै यादवले नेपालमा नागरिकताबिना कुनै काम हुन नसक्ने बताए। ‘बरु अंगीकृत नागरिकता सुरुमै दिएर जुन–जुन अधिकार दिँदा समस्या आउन सक्छ भन्ने लाग्छ, त्यसलाई रोक्न सकिन्थ्यो’, विकल्प सुझाउँदै उनले थपे, 'यहाँ त नागरिकता नभई केही काम हुँदैन, यो सरासर महिला अधिकार र मानव अधिकारको हनन हो।’ भारतमा नागरिकताको प्रावधान नै नभएको र त्यहाँ विवाह गरेर जाने नेपाली महिलाले सुरुदेखि नै सबै अधिकार प्रयोग गर्नसक्ने उनको दाबी छ।

नेपालमा पछिल्लो समय राष्ट्रवाद खपतको विषय भएकाले कसैलाई अधिकारबाट बञ्चित गर्न र मूलधारबाट बाहिर धकेल्न यस्ता विषय उठ्ने गरेको यादवको तर्क छ। ‘राष्ट्रवादी देखिन एउटा विषय उठाउने, माहौल तताउने र त्यसैको आडमा आफ्नो स्वार्थसिद्धि गर्ने परिपाटी छ,’, यादव भन्छन्‌। सत्तारुढ नेकपाले विकल्पमा छलफल नै गर्न नचाहेको र जबर्जस्ती पेलेर अघि बढेको भन्दै यादवले बहुमतको खेलले समस्या समाधान नभई थप बल्झिने जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.