|

गुल्मी :राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा निर्माण हुने गुल्मीका अधिकांश विद्यालय मापदण्ड र नियमविपरीत ठेक्कामा लागेका खुलेको छ। पछिल्लो समयमा राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई (शिक्षा) अन्तर्गतबाट निर्माण  हुने भवनहरुमा यस्तो अनियमितता पाइएको हो।

मुसिकोट नगरपालिका–५ को दुर्गाभवन माध्यमिक विद्यालयले ६८ लाख ५० हजारमा निर्माण हुने ४ कोठे  आरसिसी भवन निर्माणका लागि कुनै प्रक्रिया नै पूरा नगरी सोझै निर्माण व्यवसायीलाई ठेक्का दिएको भेटिएको छ। 

०७५।७६ अन्तर्गत नन स्टप कन्स्ट्रक्सन काठमाडौंका निर्माण व्यवसायी लवमणि खरेललाई विद्यालय निर्माणको जिम्मा दिइएको खुल्न आएको छ।सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अन्तर्गत ५ लाख रुपैयाँसम्म तीन वटा कोटेसनका आधारमा खरिद–बिक्री गर्न सक्ने प्रावधान छ। 

५ देखि २० लाखसम्म सिलबन्दी दरभाउपत्रका आधारमा गर्न सक्ने प्रावधान ऐनमा छ। २० लाखभन्दा माथिको निर्माण वा सामान खरिद गर्दा अनिवार्य रुपमा बोलपत्र गर्नुपर्ने र विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्नुपर्ने प्रावधान रहेको छ।

तर यी प्रक्रिया पूरा नगरी बिना बोलपत्र व्यवसायीलाई निर्माण जिम्मा दिइएको छ। विद्यालयका प्रधानाध्यापक गोकर्णराज खरेल, भवन निर्माण समिति संयोजक तुल्सीराम खरेलको मिलेमतोमा २०७६ भदौ २१ गते सोझै भवन निर्माणका लागि जिम्मा दिइएको छ। 

निर्माण व्यवसायीले भवन निर्माणको सबै फरफारक गर्नुपर्ने र पुरानो भवनको केही निर्माण सामग्री प्रयोग गरेबापत ५ लाख रुपैयाँ विद्यालयको खातामा जम्मा गरिदिनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ। 
यो त जिल्लामा बाहिर आएको एउटा उदाहरण मात्र हो। 

जिल्लामा पुनर्निर्माण प्राधिकरणबाट बनेका र बन्न लागेका अधिकांश विद्यालयको यही हाल छ। नियमावली र प्रक्रियामाथि ठाडै धावा बोल्दै भवनहरु निर्माणको जिम्मा दिइएका छन्। ०७५/७६ को पहिलो चरणमा जिल्लामा पुनर्निर्माण प्राधिकरणमार्फत २१ वटा ४ कोठे, १७ वटा २ कोठे र ५ वटा ३ कोठे भवनहरु केही निर्माण  सम्पन्न भएका र केही सम्पन्न प्रक्रियामा छन्।

यस्तै दोस्रो चरणमा १८ वटा ४ कोठे ,५ वटा ३ कोठे, २० वटा २ कोठे भवन र ३४ वटा शौचालय निर्माण चरणमा छन्। यीमध्ये पनि अधिकांश भवनहरु विद्यालयका प्रधानाध्यापक व्यवस्थापन समितिका पदाधिकारी मिलेरै नियमविपरीत काम भइरहेका छन्। 

‘ठेक्कामा दिएको कार्यालयलाई थाहा छैन’

यता राष्ट्रिय पुनर्निर्मााण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)गुल्मीका कार्यालय प्रमुख पीताम्बर पन्थीले भवन निर्माण ठेक्कामा दिइएको कार्यालयलाई थाहा नै नभएको बताए। कार्यालयसँग विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यपकले सम्झौता गरेका भन्दै विद्यालयको खातामै रकम पठाइने हुँदा यसबारे आफूलाई थाहा नभएको उनले बताए। 

कुनै विद्यालय निर्माणमा ठेक्का भएका रहेछन् भने आफूले छानबिन गर्ने उनी बताउँछन्। 

नियमविपरीत अधिकार कसैलाई छैन : प्रवक्ता

प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले नियमविपरीत कार्य गर्ने अधिकार कसैलाई नभएको जानकारी दिए। विद्यालय व्यवस्थापन समितिले निर्माण गर्ने भनी सम्झौता गरेअनुसार, भवन निर्माण प्रक्रियाअनुसार नभए कारबाही हुने उनले दाबी गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.