|

भक्तपुर : बढ्दो शहरीकरण, बेमौसमी नगदे बालीको बिस्तार र जग्गा प्लटिङ गरेर बाँझो राख्ने प्रवृत्तिले बर्सेनि धान खेती घट्दै गए पनि भक्तपुरमा रोपाइँको रौनक भने घटेको छैन। यसवर्ष लकडाउनसँगै समयमा वर्षा भएपछि त झन् खेतका गरागरामा रोपाइँको बेग्लै रौनक देखिएको छ। 

लकडाउन खुकुलो भए पनि जोर बिजोर प्रणाली, शैक्षिक संस्था, होटल, रेष्टुरेन्टलगायतका क्षेत्र बन्द भएकाले फुर्सदिला बनेका युवा र व्यवसायीहरु समेत रोपाइँमा जुटेकाले विगतमा जस्तो श्रमिकको अभाव छैन। यस वर्ष रोपाइँ पर्व जस्तै बनेको छ।

यसवर्ष प्रि–मनसुन र मनसुनको शुरुवातमा नै वर्षा बलियो भएपछि भक्तपुरमा जेठ अन्तिम सातादेखि नै रोपाइँ सुरु भएको हो। असारको दोस्रो सातासम्म करिब ६० प्रतिशत रोपाइँ सकिएको छ।

रोपाइँलाई नेपालीहरु एउटा संस्कृतिको रुपमा लिइन्छ। रोपारहरुले असारे भाकामा लोकगीत गाउनु, बाउसेहरुले हिलो छ्यापाछ्याप गर्नु, ब्याडेहरुले रोपारहरुले गाएको भाका छोप्दै बीउ काढ्नु, बेठी गाउनु, लाठेहरुले गोरु जोत्नु र अन्तमा नाचगान गरेर रमाइलो गर्नु रोपाइँ संस्कृति हो।

काठमाडौं उपत्यकामा नेवार समुदायमा पनि रोपाइँको छुट्टै पहिचान झल्कने संस्कृति रहेको छ। नेवारी लोकभाका गाउँदैं एकापसमा हिलो छ्यापाछ्याप मात्र होइन साँधेको आलुसँगै सगुनको रुपमा थ्ओं (जाँड) सेवन गरेर रमाइलो गर्ने र खेतका आलीमा बसेर भोज खाने प्रचलन छ। यस्ता मौलिक परम्परा भने पछिल्लो समय हराउँदै गएको छ। तथापि, रोपाइँलाई महोत्सवको रुपमा मनाउने प्रचलन यदाकदा देख्न पाइन्छ। यस्तै परिदृश्य यसवर्ष भक्तपुरको चंखुमा देखियो।
 
स्थानीय अग्रज सञ्चारकर्मी समेत रहेका कृष्ण प्रजापतिले यस वर्ष नेवारी परम्परागत सँस्कृति झल्कने गरी रोपाइँ गरे। रोपाइँ संस्कृतिलाई संरक्षण गरी जीवन्तता दिन परम्परागत शैलीमा रोपाइँ गरेको उनले बताए। नयाँ पुस्तालाई रोपाइँको महत्त्व र संस्कृतिबारे जानकारी दिने उद्देश्यले परम्परागत शैली अपनाएर रोपाइँ गरेको प्रजापति बताउँछन्।

मध्यपुर थिमि नगरपालिकाको लोहकिल्थलीदेखि चाँगुनारायण मन्दिरको फेदसम्मको मनोहरा फाँट, काँडाडोल, बुढाथोकी गाउँ, राधेराधेदेखि निकोशेरासम्मको हनुमन्ते खोला किनारमा जग्गा एकीकरण आयोजना लागु हुनाका साथै बढ्दो आवादीका कारण खेती योग्य जमिन दिनानुदिन घट्दै गएको छ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाको बालकोट, सिरुटार, दधिकोट, कटुञ्जे, सिपाडोललगायतका स्थानमा पनि बढ्दो आवादीका कारण खेतीयोग्य जमिन घटेको छ। चाँगुनारायण नगरपालिकाको दुवाकोट, ताथली, सुडाल, बागेश्वरी क्षेत्रमा समेत जग्गा प्लटिङले खेतीमाह्रास आउन थालेको छ। भक्तपुर नगरपालिकाले कमलविनायक, लिवाली, टुमुचो दुगुरे, मिवा–पाके देकोचा जग्गा एकीकरण आयोजना सञ्चालन गरेपछि त्यसक्षेत्रमा पनि तीव्र रुपमा घर निर्माण हुनुका साथै जमिन बाँझो राख्नाले खेतीमाह्रास आएको छ।

भक्तपुरका अधिकांश स्थानमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था छ। दुई मुख्य खोला हनुमन्ते र मनोहराका साथै यसका सहायक खोलानाला र परम्परागत कुलो भएका स्थानमा सिचाइँको व्यवस्था भए पनि बालकोट, सिरुटार, दधिकोट, दुवाकोट, झौखेल, सुडाल ताथलीलगायतका अधिकांश उच्च भूभाग र टारी खेतहरुमा रोपाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ। 

तर, यस वर्ष जेठको अन्तिम साता परेको वर्षाले पर्याप्त पानी भएपछि दुवाकोट, झौखेल, बागेश्वरी, सुडाल, ताथली, सिपाडोल, गुण्डुलगायतका स्थानमा रोपाइँ करिब सकिएको किसानहरुले बताए। विगत वर्ष असारको अन्तिमतिर मात्र रोपाइँ सुरु हुने दुवाकोटमा यस वर्ष जेठ अन्तिमतिर परेको झरीले रोपाइँ गर्न पाएको स्थानीय निर्मल थापाले बताए। 

विकासे धानको बीउले गर्दा पनि रोपाइँ सहज भएको किसानहरुको भनाइ छ। स्थानीय जातको धान रोप्न एक रोपनीको लागि एक पाथी धानको बीउ राख्नुपर्ने, एक रोपनी खेत रोप्न चार पाँचजना रोपारलाई दिनभरी लाग्ने, बाउसे, लाठे सोहीअनुसार चाहिने हुन्थ्यो। तर, हाइब्रिड धानले गर्दा एक किलो धानको बीउ पनि बढी हुने र चार पाँच जना रोपारहरुले दिनमा २÷३ रोपनी खेत रोपाइँ गर्न सक्ने मध्यपुर थिमि–१ लोहकिल्थलीका किसान चन्द्रकुमार प्रजापतिले बताए। उनले भने, ‘सानो हाते ट्याक्टरले खनजोत गर्दा बाउसे गर्न पनि कम जनशक्ति भए पुग्ने भएको छ।’

भक्तपुरमा प्रतिहेक्टर ६ टन धान उत्पादन हुने गरेको छ। जुन नेपालभरिको तुलनामा दोब्बर हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.