काेराेना परीक्षणका लागि स्वाब पठाउनसमेत समस्या
काेराेना परीक्षणका लागि स्वाब पठाउनसमेत समस्या
हिमालपारिको जिल्ला मनाङबासीलाई नेपालको राजधानी र गण्डकी प्रदेशको राजधानी पुग्नै समस्या छ। राजधानीसँगै सामग्री ढुवानी गर्नसमेत यहाँका नागरिकलाई एउटै सडक छ। तर सडक बनेर सहज यात्रा गर्ने धोको कहिले पनि पूरा हुने हो त्यो पत्तो छैन।
हिउँदमा हिउँले र वर्षामा पानीले यहाँको विकास रोकिन्छ। पहिरोले सडकको निर्माण हुन सक्दैन। कति बेला पहिरो आएर मरिन्छ भन्ने मनाङबासीलाई चिन्ताभन्दा पत्तो छैन। भन्दै जोखिममा सधैं यात्रा गर्न बाध्य छन्। यो वर्ष सडक सञ्जाल विस्तार हुन्छ अनि सहज यात्रा गरौंला भनेर बसेका उनीहरु सडक नबन्दा जोखिम मोल्न बाध्य हुन्छन्।
हिउँदमा हिउँ परेर माटो भेट्न समेत सकिँदैन र काम गर्न मुस्किल भएको बताउँछन् निर्माणको जिम्मा पाएका कम्पनी। मनाङबाट अर्को जिल्लासम्म पुग्नसमेत एउटै सडक छ। त्यो पनि हालसम्म सहज नहुनुले मनाङवासीले सधैं छुट्टै देश हो कि जस्तो लाग्ने गरेको उनीहरु बताउँछन्। उनीहरु भन्छन्, ‘हामीलाई सरकारले देशसँग जोड्न चाहेन जस्तो लाग्छ।’
पुर्खाहरुले हिँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्नुपर्ने बाध्यता थियो, त्यही युगमा उनीहरु अझै बाँचिरहेका छन्। मनसुन सक्रिय हुँदै छ। भीरपाखा पग्लिएर बग्ने डर उस्तै छ। त्यसमाथि कोभिड १९ को संक्रमण। पहिरोको कारण मनाङवासीको स्वाब नमूना संकलन गरी परीक्षणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा पठाउनसमेत समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ।
चामे–बेशीसहर सडकखण्ड सुचारु भए पनि कोभिड परीक्षण गर्न पठाउन भने समस्या छ। कतिबेला पहिरो खस्छ कि भन्दै त्रासमा यात्रा गर्न बाध्य भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए।
बेशीसहर–चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ। गम्भीर बिरामी परिहाले मनाङवासी उपचारका लागि अन्यत्र जानुपर्ने हुन्छ। तर बीचमा पहिरोकै डर छ।
कोभिड १९ को संक्रमण फैलिरहेको र मनाङमा पनि संक्रमण देखिसकेको छ। त्यसका लागि स्वाब संकलन गरी नजिकैको गण्डकी प्रदेशस्थित परीक्षणका लागि पठाउनुपर्ने हुन्छ, तर कठिन र त्रासमा यात्रा गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल पनि बताउँछन्।
‘वर्षा सुरु हुनासाथ पहिरो खस्छ, मनाङवासीलाई रोग फैलिँदा समेत स्वाब पु¥याउन नसकिने हो कि भन्ने चिन्ता पर्छ, त्यसै त स्वाब परीक्षणको रिपोर्ट ढिलो गरी आउँछ,’ प्रजिअ पौडेलले भने, ‘अहिले पहिरो हटाएर सडक सुचारु भए पनि कतिबेला खस्छ त्यही त्रास हुन्छ।’ संक्रमण फैलिसक्दासमेत स्वास्थ्यकर्मी उपलब्ध गराउन नसकिने हो भन्ने मनमा डर भएको उनी बताउँछन्। २०५९ सालमा नेपाली सेनाले ट्रयाक बनाएर मनाङवासीलाई सहज बनाइदियो। तर अहिलेसम्म ट्रयाकलाई सहज सडक बनाउन भने सरकार पटक्कै सक्रिय नभएको उनीहरुको गुनासो छ। वर्षाको बाढी, पहिरो र हिउँदको हिमपातले मनाङका सडकले सडकको रूप लिँदैनन्।
नासो गाउँपालिका–१ तालका स्थानीय राजु गुरुङले हिउँदमा हिमपात, गर्मीमा वर्षाले पहिरो जाने गर्दा बिरामी परेर उपचारमा जान समेत समस्या हुने बताए। ‘सबैखाले खाद्यान्न उत्पादन नहुँदा बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने हुन्छ, कहिले बाढी पहिरो त कहिले हिमपातले समस्या गराउछ,’ गुरुङले भने।
काठैकाठको पुलले जोखिम
उपल्लो मनाङ पुग्न अझै समस्या छ। पहाड फोडेर सडक सञ्जाल विस्तार गरिएको छ। डरलाग्दो पहाडबाट खस्ने सुक्खा पहिरो उस्तै। हावाहुरी बढ्नासाथ यात्राकै क्रममा डाँडोबाट पहिरो खस्ने समस्या पनि छ। त्यसैमाथि काठको पुलको सहारामा नदी पार गर्नुपर्ने।
निर्माण कम्पनीले ठेक्का सम्झौता गरेर थप गर्दासमेत सडक सञ्जाललाई जोड्ने पुलको निर्माण सम्पन्न हुन सकेको छैन। मनाङ पाँच वटा पुलले जोडेको छ। तर अहिलेसम्म एउटा बाहेक अन्य पुल निर्माणको प्रक्रियामा समेत पुग्न सकेको छैन। ‘कतिबेला काठको पुल गलेर दुर्घटना हुने हो डरैडर छ, हिमपात र बाढी पहिरोले ढुवानीका सामग्री बीचमा हुन्छ,’ अरुण गुरुङ भन्छन्।
लमजुङ र मनाङको सिमानामा म्यार्दी खोलाको पुल, नासोँ गाउँपालिका र चामे गाउँपालिका जोड्ने तिमाङ खोलाको पुल, मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने सब्जे खोला, पिसाङ खोला र ङावल र हुम्डे जोड्ने मस्र्याङदी नदीको पुल छन्।
पाँच वटा पुल निर्माणका लागि मात्रै २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको क्याराभान कन्सल्टेन्सीका सब इन्जिनियर कृष्ण महतले बताए। उनका अनुसार अहिलेसम्म एउटा पुल मात्रै निर्माण सम्पन्न भएको छ।
पर्यटकलाई पनि उस्तै सास्ती
प्याकेजको रुपमा भ्रमणमा निस्कने पर्यटकलाई सडक सहज नहुँदा समयमा घुम्न समस्या छ। पदमार्ग र सडक सञ्जाल एउटै भएकाले थप समस्या हुने गरेको छ। स्वदेशी पर्यटकहरु सवारीसाधान प्रयोगमार्फत निश्चित समयका लागि भ्रमणमा निस्कन्छन्। तर सडक सहज नहुँदा समयमा नपुग्ने र हिमपातमा सवारीसमेत गुड्न सक्ने अवस्थामा हुँदैनन्।
पदमार्ग र सडक सञ्जाल एउटै
आन्तरिक पर्यटकले सवारीसाधन प्रयोग गरी छोटो समयमा घुम्न आउने भए पनि बाह्य पर्यटकले भने पदमार्ग बढी प्रयोग गर्छन्। सडक मार्ग र पदमार्ग एउटै भएको छ। जसले पर्यटकलाई समस्या थपिएको छ। बेसीसहरदेखि च्याम्चेसम्म सडकमार्फत नै पदयात्रा गर्ने उनीहरुलाई च्याम्चेदेखि धारापानीसम्म सडक सञ्जाल र पदमार्ग भने छुट्टै प्रयोग गर्नुपर्ने बाध्यता छ। धारापानीदेखि भने मनाङका विभिन्न भागमा पुग्ने पर्यटक सडकमा नै पदयात्रा गर्दै आएका छन्। जसका कारण जोखिम र धुलोमा उनीहरु हिँडन् बाध्य छन्।
सडकको प्रभाव होटल व्यवसायीमा
सडक सञ्जालको विस्तार राम्रो नहुँदा आवश्यक सामग्रीसमेत ल्याउन मुस्किल छ। होटल व्यवसाय सञ्चालनका लागि खाद्यान्नबाहेक प्रायः बाह्य पर्यटकले मन पराउने वस्तु ल्याउनुपर्ने भए पनि सडक नै समस्या भइदिने गरेको व्यवसायीहरु बताउँछन्।
सामान सकिनासाथ सहजै नसकिँदा समेत व्यापारमा समस्या हुने गरेको होटल व्यवसायी विनोद गुरुङ बताउँछन्। ‘कुनै समयमा त सामान ल्याउँदै गर्दा बाटोमै रोकिन्छ, कहीँ पुलको समस्या, कही सडक, पहिरोले खस्छ,’ उनले समस्या सुनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।