|

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ भएको पाइएको छ। जारी आर्थिक वर्ष सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ।

नगरपालिकाको विकासका लागि करिब एक करोड रुपैयाँ मूल्यमा खरिद गरिएको डोजर विभिन्न निकायमा आबद्ध व्यक्ति तथा संस्थाहरुले निजी तथा सार्वजानिक प्रयोजनका लागि प्रयोग गरेर रकम नतिरेको पाइएको हो। नगरको डोजर धेरैजसोले व्यक्तिगत कामका लागि प्रयोग गरेका छन्। तुइनमा गाडी तार्नेदेखि भवनको जग खन्ने, व्यक्तिगत कुलो खन्नेलगायतका काममा प्रयोग गरिएको छ। जारी आवमा मात्रै डोजर प्रयोगवापतको ४४ लाख ७२ हजार रुपैयाँ रकम उठाउन बाँकी रहेको नगरपालिकाले जनाएको छ।

केही दिनअघि मात्रै नगर उपप्रमुख चन्द्राकुमारी बोहोराको संयोजकत्वमा बसेको नगर राजस्व परामर्श समितिको बैठकमा डोजरको उठ्न बाँकी रकमका बारेमा बृहत् छलफल भएको थियो। उठ्न बाँकी रकमको विषयलाई लिएर सरोकारवाला पक्षले तीव्र आलोचना गरेका छन्। आगामी नगरसभामा डोजर प्रयोग गरेर रकम नतिरेका सबैको नाम सार्वजानिक गरिने नगर उपप्रमुख बोहोराले बताइन्।

नगरसभामा नाम सार्वजानिक गर्नुअघि डोजरका कर्मचारी खटाएर रकम उठाउन लगाउने र नउठे नाम सार्वजानिक गर्ने उनको भनाइ छ। डोजरका लागि मात्रै नगरपालिकाले तीन कर्मचारी नियुक्ति गरेको छ।

‘नगरको डोजरको लाखौँ उधारो छ, त्यही रकम उठाएर तलबभत्ता खुवाउनुपर्ने हो तर उधारो रकम नउठाएरै कर्मचारी पालिरहेको छ,’ राजस्व परामर्श समितिका सदस्य पूर्णकेशर न्यौपानेले बताए। नगरपालिकाको डोजर एउटै व्यक्तिले ४८ घण्टासम्म प्रयोग गरेर रकम नतिरेको उधारो सूचीमा देखिएको छ।

सरकारी डोजर कर्मचारी, जनप्रतिनिधि, स्थानीय राजनीतिज्ञ, बुद्धिजीवीलगायतका व्यक्तिले प्रयोग गरेर रकम नतिरेको पाइएको हो। डोजर खरिद गरेका जिल्लाका अन्य स्थानीय तहले पनि आर्थिक लेखाजोखा जनतासामु सार्वजानिक गर्नुपर्ने डोल्पालीको धारणा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.