|

ओखलढुंगा : पहिलो पटक एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै ओखलढुंगामा पनि पिसिआर परीक्षणको दायरा बढाइएको छ। आइतबार लिखु गाउँपालिकामा एक युवामा संक्रमण भएसँगै पछिल्लो समय जिल्लाभर आवतजावत तथा सीमामा सतर्कता अपनाइएको छ।

संक्रमण देखिएका ती युवामा कुनै लक्षण देखिएको छैन। अवस्था सामान्य रहेको र उनलाई मोरङको गोठगाउँस्थित कोभिड अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए। प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जिल्लामा पिसिआरको परीक्षण दायरा बढाइएको र सीमा तथा आवतजावतमा कडाइ गरिएको छ।

संक्रमितसँग यात्रामा महोत्तरी आएका ३६ जनाको पहिचान गरेर परीक्षण गराउन सम्बन्धित जिल्लामा समन्वय भइरहेको पौडेलले जानकारी दिए।

संक्रमितको ‘ट्राभल हिस्ट्री’

संक्रमित युवा भारतबाट जेठ ३० गते लिखु गाउँपालिका आइपुगेका थिए। महोत्तरीको बर्दिबासबाट उनलाई एम्बुलेन्सबाटै क्वारेन्टाइनमा लगेर राखिएको थियो। उनको मन्थलीमा स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण देखिएको हो।

उनी भारतबाट वीरगञ्ज हुँदै जेठ १९ गते बसमा महोत्तरीको इटाटार आएका थिए। उनीहरूसँग अरू ३६ जना साथीहरू पनि थिए। इटाटार क्वारेन्टाइनमा ३ दिन बसेपछि उनी जेठ २२ गते एकजना साथीसँग मोटरसाइकलमा महोत्तरीको जनसेवा अस्पताल गए र त्यहाँ ७ दिन क्वारेन्टाइनमा बसेपछि एम्बुलेन्सबाट जेठ ३० गते रामेछापको मन्थलीमा स्वाब दिएर लिखु गाउँपालिका आइपुगेका थिए।

एम्बुलेन्समा एक्लै आएका उनलाई सिधै लिखु गाउँपालिकाको केन्द्रमा रहेको क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा उनीसँगै अन्य ८ जना पनि रहेको र अन्यलाई संक्रमण नदेखिएको लिखु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चाौधरीले जानकारी दिए। उनीसँगै आएका अन्य ३६ जना भने महोत्तरीमै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.