हेटौंडा : बुधबार मकवानपुरको दश मध्ये ९ वटा स्थानीय तहले नीति तथा कार्यक्रम तथा बजेट ल्याएका छन्। प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरसहित नौ स्थानीय तहले बजेट ल्याएका हुन्। धेरै जसो स्थानीय तहले कृषि र स्वास्थ्य केन्द्रित भएर बजेट ल्याएका छन्। बागमती गाउँपालिकाले भने बजेट सार्वजनिक गरेको छैन्।
हेटौंडाको २ अर्ब ८ करोड
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आज बुधबार भएको उपमहानगरपालिकाको छैटौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तुत गरिएको बजेटमा आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाँडफाँट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार र संघीय सरकारको अनुदान ९८ करोड ९९ लाख तथा असार मसान्तसम्म खर्च नभई बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँ प्राप्त हुने उपमेयर लामाले बताइन्।
थाहामा कृषिलाई प्राथमिकता
मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ८० करोड ५६ लाख ३३ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ। थाहा नगरको नगरसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको मेयर लवशेर विष्टले जानकारी दिए। नीति तथा कार्यक्रममा कृषि उत्पादन तथा पशुपालन, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रहरुलाई समेटिएको उनको भनाई छ। नगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ।
बाँझो जग्गालाई उत्पादनमा प्रयोग गर्न गरिने, उन्नत जातका बिउ विजन तथा मल खाद्यको समेत व्यवस्था गरिने, आधुनिक औजारको प्रयोगमा जोड दिइने र कृषि अनुदान वितरण गरिने जस्ता विषय प्रातमिकतामा राखिएको छ। उत्पादन भएका तरकारी तथा खाद्यान्नको लागि बजार व्यवस्थापनमा जोड दिइने नगरपालिकाले जनाएको छ। थाहा नगरले आयात घटाउन, निर्यात बढाई आत्म निर्भरतासहितको नीति सार्वजनिक गरेको छ। थाहानगरमा संघीय सरकारको प्रधानमन्त्री कृषि जोन परियोजना पनि कार्यान्वयनमा रहेको मेयर विष्टले जानकारी दिए।
बकैयाको ६५ करोड
मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको अनुमानित बजेट पेश गरेको छ। ‘समृद्ध बकैया निर्माणको मूल आधारः स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरण मैत्री पूर्वाधार” भन्ने मूल नाराका साथ बुधबार भएको गाउँपालिकाको छैठौं गाउँ सभामा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो। बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा सञ्चालित सभामा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन्।
प्रस्तुत बजेटमा नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ। त्यस्तै आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित कूल ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष बोलखेले जानकारी दिएकी हुन्।
राक्सिराङको ५९ करोड
राक्सिराङ गाउँपालिकाद्धारा ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ। पाँचौं गाउँसभामा अनुमानित बजेट पेश गर्दै वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ। पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउपालिकाले ५१ करोड बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेको छ। गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ्गले ५१ करोड १५ लाख २० हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेकी हुन। बजेटले गाउँपालिकाको आन्तरिक राजस्व आम्दानी ३ करोड ३२ लाख हुने अनुमान गरेको छ भने चालु बर्षको ३ करोड मौज्दात रहने जनाएको छ।
नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने बजेट सहित गाउपालिकाले प्रस्तावित बजेट प्रस्तुत गरेका हुन। गाउँपालिकाले अगामी बर्ष चालु खर्च तर्फ २९ करोड ९२ लाख र पुजीँगत खर्चतर्फ २१ करोड ३८ लाख खर्च हुने अनुमान गरेको छ।
इन्द्रसरोवरमा कृषि र पर्यटन
यस्तै मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ५० करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार बसेको गाउँसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रम समेत सार्वजनिक गरिएको छ। गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसँग जोडेर नीति कार्यक्रम ल्याएको छ। कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए। विभिन्न पकेट क्षेत्र निर्धारण गरेर कृषि उत्पादन बृद्धि गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वरोजगार बनाउने खालको बजेट निर्माण गरिएको अध्यक्ष लामाले जानकारी दिए। अर्को गाउँसभाको बैठकबाट आगामी आवको बजेट पास हुने गाउँपालिकाले जनाएको छ।
मनहरीको ७६ करोड
मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ को लागि कूल ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार बसेको गाउँसभा बैठकमा उपाध्यक्ष मनिला विष्टले अनुमानित बजेट र बार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेकी हुन्। उक्त विनियोजित रकम खर्च गर्नको लागि नेपाल सरकार वित्तिय समानिकरणबाट रु १२ करोड ५५ लाख, बागमती प्रदेश सरकार वित्तिय समानिकरण अनुदानबाट रु १ करोड ३८ लाख ४ हजार, नेपाल सरकार सशर्त अनुदानबाट १८ करोड ४४ लाख, बागमती प्रदेश सशर्त अनुदानबाट २ करोड ५४ लाख ५५ हजार, राजश्वको स्रोत बाँडफाँडबाट १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ।
मकवानपुर गढीमा ५९ करोड
मकवानपुरगढी गाउँपालिकाद्धारा ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ। पाँचौं गाउँसभामा अनुमानित बजेट पेश गर्दै वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बाले प्रस्तुत गर्न तयार पारिएको नीति कार्यक्रम र बजेट वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले बाचन गरि प्रस्तुत गरिएको थियो।
आयतर्फ संघीय सरकार र प्रदेश सरकार वितिय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँड तर्फ १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान, आन्तरिक आयतर्फ २ करोड ९१ लख ३० हजार प्राप्त हुने अनुमान, त्यसैगरि संघीय र प्रदेश सरकार शर्सत अनुदान २२ करोड ५ लाख ६० हजार हुने अनुमान, समपुरक अनुदान ५ करोड, विषेश अनुदान रकम २ करोड ७६ लाख प्राप्त हुने अनुमान सहितको विवरण पेश गरिएको छ। त्यस्तै, व्ययतर्फ कुल बजेटको पुँजीगत तर्फ ३२ करोड ६९ लाख ४७ हजार अर्थात ५४ दशमलव ७१ प्रतिशत र चालुतर्फ २७ करोड ५ लाख ६० हजार अर्थात ४५ दशमलव २९ प्रतिशत गरी ५९ करोड ७५ लाख ७ हजारको अनुमानित आय व्यय पेश गरिएको थियो।
“महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्वर”
भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ को लागि ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार नै बसेको गाउँसभा बैठकमा आगामी आवको अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले प्रस्तुत गरेका उक्त बजेटमा “महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्वर” भन्ने मूल नाराका साथ आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।
गाउँपालिकाले आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ। आगामी बजेटमा पूर्वाधार विकासको लागि १६ करोड, सुशासनतर्फ ६७ करोड, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, बन तथा वातावरणमा १ करोड ६४ लाख रूपैँया विनियोजन गरेर बजेट सार्वजनिक भएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए।
कैलाशमा ४३ करोडको बजेट
मकवानपुरको कैलाश गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ। गाउँपालिकाले बुधबार बसेको गाउँसभाबाट ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपैयाँ ल्याएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए।
बागमतीको आएन बजेट
मकवानपुरको बाग्मती गाउँपालिकाले बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन। गाउँपालिका नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहभागिता नजनाउने भएपछि गाउँपालिकाले गाउँ सभा राख्न नसकेको हो। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपाबाट प्रतिनिधित्व गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।