|

बागलुङ : रातभरी पानी पर्‍यो। बिहान उज्यालो हुने बेलासम्म पनि पानीको रफ्तार रोकिएको थिएन्। स्तरोन्नतिका लागि भन्दै खनिएको घरमाथिको सडक भताभुङ्ग  थियो। घर गोठको माथी अग्लो बनाएर काटिएको जमिन र  त्यसैमाथि थुप्रो लगाइएको माटोका कारण जोखिम अझै धेरै।

बागलुङको बरेङ गाउँपालिका-१ धुल्लुबास्कोटका लिलबहादुर खत्रीको समस्या हो यो। उनी आकाश बादलियो भने रातभर सुत्दैनन्। घरगोठ सबै पहिरोको जोखिममा छ। पानी दर्किँदा उनको मन थर्कन्छ।

मध्य बर्खाका बेला बरेङ गाउँपालिका-२ बरेङ बजारदेखि धुल्लुबास्कोट लिउँवासम्मको सडक स्तरोन्नतीको काम चलिरहेको छ। सडकले थुपारेको माटो र अग्ला कान्लाहरूका कारण धुल्लुबास्कोटका दर्जनभन्दा धेरै घर जोखिममा छन्।

पाँच दिन यता भैरहेको वर्षाका कारण बागलुङका विभिन्न ठाउँका बस्तीहरू पहिरोको जोखिममा परेका छन्। बाढी र पहिरोले बागलुङको काठेखोला, बरेङ, तमान खोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका बस्तीहरू जोखिममा परेका हुन्।

खहरेखोला छेउका र सडक आसपासका बस्तीहरू बाढी पहिरोको सबैभन्दा बढी जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। नयाँ खनिएका र स्तरोन्नती गरेका भनिएका सडकका कारण बस्तीहरू प्रभावित भएको बरेङ गाउँपालिका-१ का वडाध्यक्ष नरसिंह पुनले बताए।

बागलुङको बरेङ गाउँपालिका-१ धुल्लुबास्कोटमा सडक बनाउँदा थुप्रिएको माटोका कारण सिंगो बस्ती नै जोखिममा परेको छ। धुल्लुका लिल बहादुर खत्रीको घरगोठ माथिबाट झरेको पहिरोका कारण क्षतिग्रस्त भएको छ। वडाको लुङदीस्थित टेक बहादुर थापाको घरैअघि पहिरो जाँदा घर उच्च जोखिममा परेको छ।

त्यस्तै, बास्कोटका गम्भीरसिंह थापा, कडेनीका जगबहादुर थापाको घर पनि पहिरो र बाढीले जोखिममा परेको छ। सोही ठाउँकी हिमा थापा र लिलाबहादुर थापाको घर पनि पहिरोले जोखिममा परेको वडा सदस्य छत्रबहादुर थापाले बताए। पहिरोको उच्च जोखिममा रहेका कयौं परिवारलाई सुरक्षित स्थानमा सारिएको थापाले जानकारी दिए।

यस्तै, बागलुङ नगरपालिका-५ मालिकामा पनि कयौं घरहरू पहिरोको जोखिममा परेका छन्। मालिकाको चनौटे गाउँका दुदी कुँवर, जुना न्युरे र कमला रेग्मीको घर गोठ जोखिममा परेका छन्। चनौटेमै रहेको राम मन्दिरसँगैको सामुदायिक भवन पहिरोले बगाउने अवस्थामा छ। मालिका गाउँका टकमाया किसान, गोरे बिक, टेक बहादुर बिक, भीम विश्वकर्मा, टिकाराम सापकोटा र हिरा आचार्यको घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष शिव सापकोटाले बताए।

मालिकाकै अठाईथरका भीम सापकोटा र देवी प्रसाद सापकोटाको घरगोठ समेत पहिरोको जोखिममा छन्। बागलुङ नगरपालिका-६ धारापानीकी बिमकुमारी क्षेत्रीको घर जगबाटै भत्किएको छ। उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए।

क्षेत्रीको घरछेउमा सडक बनाएको बर्षाैं बित्यो। त्यहि सडकको स्तरोन्नतीका क्रममा बनेका संरचनाले भलको पानी रोकेर उनको घरको जगबाट पानी बग्छ। भूमिगत रुपमा बगेको पानीले उनको घर जोखिममा राखेको छ।

यस्तै, तमानखोला गाउँपालिकाको लाम्मेलामा रहेको बाल बिकास केन्द्रको भवन, बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा खनिएको नयाँ सडकका कारण जैमिनी नगरपालिका-१ कुश्मीशेराको बस्ती नै पहिरोको जोखिममा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.