|

बैतडी : सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका बैतडीका सरकारी कार्यालयहरूको विकास खर्च न्युन देखिएको छ। गत वर्ष पनि प्रदेश मातहतका कार्यालयहरूले विकास बजेट खर्चन सकेका थिएनन्‌।  यो वर्ष पनि बजेट खर्च नसकेका कर्मचारीलाई कोरोना महामारी बहाना बनेको छ।

चालु आर्थिक वर्षका लागि विनियोजित १ अर्ब ९ करोड ९४ लाख ५६ हजार रुपैयाँ पूँजीगत बजेटमध्ये ६ करोड २५ लाख ५४ हजार ४० रुपैयाँ मात्रै खर्च भएको छ। यो कुल बजेटको जम्माजम्मी ३६ प्रतिशत हो। अबको २० दिनभित्र खर्चको दायरा बढाउन कार्यालयहरूले कामलाई तीव्रता दिएपनि असारे विकासको प्रवृत्ति दोहरिएको स्थानीयहरुले बताएका छन्।

जिल्लामा सबैभन्दा बढी बजेट भएको पूर्वाधार विकास कार्यालयले ९७ करोड ७० लाख ७० हजारमध्ये ३० करोड १८ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ। यस्तै २६ करोड १ लाख रुपैयाँ पूँजीगत बजेट भएको जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले ६ करोड ९७ लाख ५० हजार रुपैयाँमात्रै खर्च गरेको छ। 

शहरी विकास तथा भवन कार्यालयलाई १७ करोड ९ लाख ३९ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ८ करोड २४ लाख २ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए।

४१ करोड ९ लाख ५ हजार पूँजीगत बजेट पाएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले अहिलेसम्म जम्माजम्मी २१ करोड २९ लाख रुपैयाँ खर्च गर्न सकेको छ। स्वास्थ्य कार्यालयका लागि विनियोजन गरिएको १ करोड १ लाख ४५ हजार रुपैयाँ बजेटमध्ये ३० लाख ५५ हजार रुपैयाँ खर्च भएको छ।

यसैगरी डिभिजन वन कार्यालयले विनियोजित १ करोड २९ लाख ९० हजार रुपैयाँ बजेटमध्ये ५६ लाख १९ हजार रुपैयाँमात्र खर्चगर्न सकेको छ। सुख्खा फलफूल विकास केन्द्रको १ करोड ३८ लाख ५० हजारमध्ये २५ लाख ९८ हजार रुपैयाँ मात्रै खर्च भएको छ।

सुदूरपश्चिम प्रदेश सरकार मातहत नै रहेको कृषि ज्ञान केन्द्रले ७४ लाख ५० हजारमध्ये जम्मा ३ लाख २०७ रुपैयाँ खर्च गरेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ७७ लाख ९५ हजारमध्ये १८ लाख ४९ हजार रुपैयाँ खर्च भएको छ। जिल्ला अस्पतालको ७० लाख ६० हजार पूँजीगत बजेटमध्ये १७ लाख ३६ हजार मात्रै खर्च भएको छ

यी तथ्याङ्क विश्लेषण गर्दा बैतडीमा सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालयहरूको विकास खर्च निराशाजनक देखिएको छ। प्रत्येक आर्थिक वर्षका ११ महिना खासै काम नगर्ने र एक महिनामात्रै आधाभन्दा बढी खर्च गर्ने प्रवृत्तिका कारण विकास निर्माणका कामहरु गुणस्तरीय हुन सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.