|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रअन्तर्गत विभिन्न योजना ल्याएको छ। 

बुधबार नगरप्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस कोरोना महामारीलाई मध्यनजर गरी नीति तथा कार्यक्रम ल्याएको बताए। ‘संस्थागत र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्दे शैक्षिक विकासका लागि विभिन्न नीति तथा कार्यक्रम ल्याएको छु,’उनले भने,‘कोरोना महामारीलाई मध्यनजर गरेर यसै अनुरुप कार्यक्रम ल्याएको छु।’ 

नगरपालिकाले शिक्षाका लागि आर्थिक वर्षमा एक करोड ७८ लाख १६ हजार बजेट विनियोजन गरेको छ। नगरप्रमुख चालिसेले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको शिक्षा तथा खेलकुद नीतिअन्तर्गत सूचना प्रविधिमैत्री शिक्षाको अवधारणाबमोजिम सामुदायिक विद्यालयहरुमा पुस्तकालय तथा ई लाइबेरीको स्थापना गरिने उल्लेख छ। सूचना प्रविधिको प्रयोगमार्फत विद्युतीय हाजिर, सिसीटिभी जडान, विद्युतीय सिकाइ जस्ता कार्यक्रमलाई व्यापकता दिँदै आधारभूत तहको परीक्षालाई थप व्यवस्थित गरिने छ।

अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गरी संस्थागत विद्यालयको समन्वयमा सहयोगी कार्यक्रम सञ्चालन गरिने नीति लिइने छ। त्यस्तैगरी, सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिने छ। सिटिइभिटीसँग समन्वय गरी नगरपालिकामा प्राविधिक शिक्षाको व्यवस्था गरिने छ। अनाथ तथा टुहुरा बालबालिकालाई आधारभूत शिक्षाबाट बञ्चित हुन नदिन निःशुल्क शिक्षाको व्यवस्थापन गर्न जोड दिइने छ। विद्यालय पढ्ने उमेर नाघेकालाई प्राविधिक र व्यवसायिक सीप प्रदान गरिने छ।

५० वर्ष उमेर र ३० वर्ष सेवा अवधि पुगेका शिक्षकहरुलाई स्वेच्छिक अवकाश लिन चाहेमा अवकाश अनुदान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। ‘गरिब, जेहेन्दार तथा विपन्न वर्गका बालबालिकालाई आवश्यकअनुसार पाठ्यपुस्तक,पाठ्यसामग्री र पोसाक लगायतको सामग्री उपलब्ध गराई अभिभाकत्व प्रदान गरिने छ,’उनले भने,‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिगरी बालमैत्री, लैङ्गिकमैत्री,अपांङ्गवातावरणमैत्री बनाइने छ। नगरपालिका क्षेत्रभित्र सञ्चालित शैक्षिक परामर्श सेवा,ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा, पूर्व तयारी कक्षा तथा कोचिङ कक्षाको विवरण अद्यावधिक गरी प्रभावकारी नियमन गरिने छ।’

संस्थागत विद्यालयको घरबहाल करमा ३५ प्रतिशत छुट

गोकर्णेश्वर नगरपालिकाले २०७७/०७८ मा तिर्ने घरबहाल करमा ३५ प्रतिशत छुट दिएको छ। कोरोना महामारीका कारण संस्थागत विद्यालय तिर्ने करमा छुट दिएको नगरप्रमुख चालिसेले बताए। उनले भने,‘कोरोना महामारीले लामोसमयदेखी सबै स्कुल बन्द छन। सामुदायिक भन्दा पनि अहिले संस्थागत विद्यालय आर्थिक मारमा परेका छन।

त्यसैले नगरपालिकाले घरबहाल करमा ३५ प्रतिशत छुट दिने नीति ल्याएका हौँ।’ उनले सामुदायिक र संस्थागत विद्यालयसँग समन्वय गरी अनलाईन कक्षालाई प्रभावकारी बनाउने पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.