|

इटहरी : प्रदेश मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्र बजेट छुट्याएको आरोप प्रदेश १ का सांसदहरूले लगाएका छन्। सांसदहरूले संसदमा उठाएको गुनासो सरकारले नसुनेको र  ध्यान नदिएको भन्दै सरकारको विरोध गरिएको छ। 
धेरै अघिदेखि देखि विभिन्न विषयका समस्या सम्बोधन गर्न सुझाए पनि हालसम्म गुनासो सम्बोधन नगरेको भन्दै नेकपाकी सांसद कला घलेले कान थुनेर प्रदेश सभामा बोलेकी छन्। 

उदयपुरको महाभारत एकीकृत पर्यटन पार्कको फायल पर्यटन  मन्त्रालयमा पेस भएको महिना दिन बितिसक्दा समेत सम्बन्धित मन्त्रालयले ध्यान नदिएको उनले गुनासो गरेकी छन्। ‘पेस्की रकम पनि गएको छैन,’ घलेले भनिन्, ‘मन्त्रीका स्वकीय सचिवलाई बारम्बार लेखे पनि सुनुवाइ भएन।’ 

सांसद घलेले बिहीबारको संसदको शून्य समयमा सरकार कामकाजीभन्दा पनि नामकाजी भएको आरोप लगाएकी छन्। ‘कामकाजी हौँ कि नामकाजी हौँ’ प्रस्ट हुनुपर्छ भन्दै उनले सरकारद्वारा सांसदले उठाएको सवाल नसुन्ने गरिएको र आफूले कान थुनेर समस्या राखेको स्पष्ट गरिन्।

शून्य समयमा उनले पूरै समय कान थुनेर बोलेकी थिइन्। प्रदेश सरकारको बजेट मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र धेरै लगाएको भन्दै सरकारले बजेट समानुपातिक वितरण गर्नुपर्ने माग घलेको थियो। ‘मन्त्रीकै निर्वाचन क्षेत्रमा योजना हुलका हुल छन्, यो तरिकाले सुनुवाइ नभएकाले कान थुनेर शून्य समयमा बोलेको हुँ।’

घलेले मात्र हैन मन्त्रीको क्षेत्रमा मात्र धेरै बजेटको परेको विषयमा धेरै सांसदहरूले गुनासो गरेका थिए। मन्त्रीको क्षेत्र र तराइ क्षेत्रमा मात्र रकम छुट्याएको भन्दै सांसदहरूले विरोध गरेका हुन्। सोलुखुम्बुका सांसद उत्तमकुमार बस्नेतले सामाजिक विकास मन्त्रालयको शीर्षकगत विनियोजन माथिको छलफलमा भौगोलिक विभेद गरेको भन्दै प्रदेशसभामा असन्तुष्टि पोखेका समेत थिए।

कांग्रेसबाट निर्वाचित सांसद लोकप्रसाद संग्रौलालाले मन्त्री बाहेकको अन्य क्षेत्रको कार्यक्रम परेको भए पनि कटौती गरिदिने प्रवृत्ति देखिएको उनले सरकारमाथि आरोप लगाएका थिए। बजेटको शीर्षकगत छलफल चलिरहेको बेला बस्नेतले सरकारले बजेट विनियोजन गर्दा भौगोलिक उत्पीडन गरेको आरोप लगाएका हुन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.