|
कांग्रेस सभापति देउवाको घरको गेटमा टाँसिएको विप्लवको पत्र

डडेल्धुरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुदूरपश्चिमका तीन सांसदहरूलाई जनकारवाही गर्ने चेतावनी दिएको छ।

नेपाल कम्युनिस्ट पार्टी कैलालीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र नेकपा प्रतिनिधिसभा सदस्य नारदमुनि रानालाई जनकारवाही गर्ने चेतावनी दिएको हो।

धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीस्थित देउवा निवासको गेटमै विप्लवका कार्यकर्ताले जनकारवाही गर्ने पत्र टाँसेका छन्। मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारवाही गर्ने चेतावनीसहितको पत्र टाँसेका हुन्। घरमा परिवार सदस्यसँग सम्पर्क हुन नसक्दा पत्र गेटमै टाँसिएको नेकपा स्रोतले जनाएको छ।

यस्तै कैलालीको गोदावरी नगरपालिकास्थित मन्त्री भट्टको घर पुगेर विप्लवका कार्यकर्ताले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारवाही गर्ने चेतावनीसहितको पत्र दिएका छन्।

‘राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेटको कदर गर्दै सदनमा एमसिसी परियोजनासम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्र प्रेमी कैलालीबासीहरुको रहेको छ। यदि नेपाली जनताको राष्ट्र भक्तिको भावना, आवाज र अपिल विपरीत तपाईँद्वारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारवाहीको सामना गर्न तपाईं तयार रहनुहुनेछ भन्ने कुरापनि अवगत गराउन चाहान्छौँ’ पत्रमा लेखिएको छ, ‘उक्त राष्ट्रघाती परियोजनाको पक्षमा तपाईं कदापि उभिनु हुने छैन भन्ने हाम्रो पार्टीले आशा गरेको छ।’   

कैलालीका राष्ट्रियसभा सदस्यहरूलाई एमसिसीको पक्षमा लागे वा मतदान गरे जिल्ला प्रवेशमा निषेधसहित कडा जनकारवाही गरिने भन्दै लिखित पत्र पठाएको सो पार्टीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.