एकातिर कांग्रेस-राप्रपा, अर्कातिर नेकपा

|

भद्रपुर, (झापा) : जिल्लामै उत्कृष्ट स्थानीय तहको रूपमा चिनाउन सफल हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधिबीच लफडा सुरु भएको छ।

सडक नामकरण र बजेट बाँडफाँडको विषयमा अल्पमत र बहुमत पाएका जनप्रतिनिधिबीच लफडा सुरु भएको हो। गाउँपालिकाको अल्पमतमा राप्रपा र नेपाली कांग्रेसका जनप्रतिनिधि तथा बहुमतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रतिनिधि छन्।

बुधवार दिउँसो हल्दीबारीको बजेट, नीति तथा कार्यक्रम पारित गर्न बसेको गाउँ सभामा वडाहरूमा समानुपातिक बजेट वितरण नभएको र जलथल जङ्गलको सडक नामकरण दलगत भएको भन्दै जनप्रतिनिधि र पार्टीका कार्यकर्ता बिच बबाल हुँदा तोडफोड भएको थियो।  

तोडफोडबाट गाउँपालिकाको भौतिक संरचनामा क्षति पुगेको छ। गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनसहित ६ जना जनप्रतिनिधि र उपाध्यक्ष डम्बरबहादुर गिरीसहित २२ जना जनप्रतिनिधिबीच दलीय सहमति हुन नसक्दा गाउँपालिकामा बल्झिएको लफडाले तोडफोडसँगै हातपातसम्मको घटना हुन पुग्यो।

अध्यक्ष लिङ्देन राप्रपाका हुन भने उपाध्यक्ष गिरी नेकपाका हुन्। गाउँपालिकामा दलगत विवाद सुरु भएपछि अध्यक्ष लिङ्देन र उपाध्यक्ष गिरीले आआफ्नो तर्क राख्‍न थालेका छन्। 

हातपात गरेको आरोप

यसै क्रममा गाउँपालिकाका अध्यक्ष लिङ्देन, वडा नम्बर ४ का वडा अध्यक्ष होम प्रसाद चुँडाल र ५ नम्बर वडा अध्यक्ष शेरबहादुर नेम्वाङले बिहीबार गाउँपालिका परिसरमै पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।

पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष लिङ्देनले आफूमाथि नेकपाका जनप्रतिनिधिले सभाभित्रै घेराबन्दी गरी हातपात गरेको आरोप लगाएका छन्। उनका अनुसार गाउँसभा चलिरहेको अवस्थामा बाहिर नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरू ज्ञापन पत्र बुझाउन आएका थिए।

बजेट समानुपातिक नभएको र सडक नामकरणको विषयमा उनीहरू ज्ञापन पत्र बुझाउन आएका थिए। तर, सभा छाडेर ज्ञापन पत्र बुझ्न बाहिर जान नदिएको र त्यही बेला बाहिर जान खोज्दा ममाथि गाउँपालिकाका उपाध्यक्ष गिरी, १ नम्बर वडा अध्यक्ष त्रिलोचन सापकोटा, वडा सदस्य महेश मेचे र कार्यपालिका सदस्य सागर पोर्तेलले हातपात गरेको अध्यक्ष लिङ्देनले आरोप लगाए।

बजेटमा जनप्रतिनिधि नै असन्तुष्ट रहेकोले गाउँ सभा असार २९ गते समापन गर्न आग्रह गरेका थियौं, तर बजेट आजै पारित हुनु पर्ने अडानका साथ गाउँपालिकाका उपाध्यक्ष गिरी लागे। उनकै योजनामा सभा बिथोल्ने काम भएको हो, उनले भने, ‘यसको नैतिक जिम्मेवारीले उपाध्यक्ष गिरीसहित नेकपाका जनप्रतिनिधिले लिनुपर्छ।’

 ‘हामी अल्पमतका जनप्रतिनिधिबाट बहुमतका जनप्रतिनिधिले कहिले राम्रो कुरा सिकेनन्। हामी धेरै सहेर बस्यौँ', उनले भने, 'बहुमतको दम्भमा नेकपाका जनप्रतिनिधिले हाम्रो कुरालाई काटेर उनीहरुकै कुरालाई स्विकार गर्नुपर्छ भन्दै आए। दम्भकै कारणले आज यस्तो परिणाम आएको हो।’

‘हामी राम्रो काममा सधैँ सहकार्य गर्न तयार छौं, अझै पनि तयार छौँ,’ उनले भने, ‘हामी निर्वाचित जनप्रतिनिधि यहाँ सभा बिथोल्न, अराजकता फैलाउन, तहसनहस बनाउन आएका होइनौँ, बहुमतका जनप्रतिनिधिले छाती फुलाएर भन्नु पर्‍यो के हो समस्या हामीसँग आउनु पर्‍यो हामी बस्न तयार छौँ। हाम्रो बहुमत छ हामी किन निहुरेर जानु भन्‍ने बहुमतको दम्भ राख्छन् भने यो समस्या अझै लम्बिएर जान्छ।

अध्यक्षलाई नै उपेक्षा गरेर गाउँ सभा सञ्चालन गरी उपाध्यक्षले बजेट, नीति तथा कार्यक्रम पारित गर्नु असंवैधानिक छ। त्यसैले पारित भएको बजेट लागु नहुने उनले बताए। 

त्यस्तै नेपाली कांग्रेस र राप्रपा गाउँ कमिटीले पनि पत्रकार सम्मेलनमै संयुक्त रूपमा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेकपाका जनप्रतिनिधिले बहुमतको दम्भमा बजेट पारित गर्नुका साथै एकलौटी ढङ्गबाट सडकको नामकरण गर्नु शैली प्रति आपत्ति जनाएका छन्।

ज्ञापन पत्र बुझ्न पुगेका कार्यकर्तालाई अवरोध सृजना गरी अध्यक्षलाई नै घेराबन्दी गरी हातपात र तोडफोड गर्नु घटनाको जिम्मेवारी नेकपाका जनप्रतिनिधिले लिनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

राप्रपाका अध्यक्ष एकराज राना मगर र नेपाली काँग्रेसका दिलीप माबोको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ,  गाउँपालिकामा भएको भौतिक संरचनाको क्षति र अगंभग हुने गिरीको घटनामा नेपाली काँग्रेसका नेताहरू गङ्गा प्रसाईं, भिमराज फ्याक, भीम तुम्बाफु घाइते भएको लगायतको घटनाको जिम्मेवारी नेकपाले लिनुपर्छ।

यता गाउँपालिका उपाध्यक्ष गिरीले गाउँ सभामा मसहित नेकपाका जनप्रतिनिधिले अध्यक्ष लगायत कसैमाथि हातपात नगरेको प्रस्ट्याए। अध्यक्ष लिङ्देन आफैंले सभाभित्रै टेबल फुटाएर सभा छाडेर जानु भएको र बाहिर रहेका नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताले तोडफोड उत्रिएर सभा बिथोलेको बताए।

सडक नामकरणको विषयमा नेकपाका स्वर्गीय नेता द्रोणाचार्य क्षेत्रीको कुरा उठाएको हो, उनले भने, ‘तर त्यस विषयमा कुनै छलफल भएन। वडाको बजेट पनि अध्यक्ष आफैले बाँडफाँड गरेर कार्यपालिका बैठकबाट पारित गरेको हो।’ सभामा नेकपाका जनप्रतिनिधिले धैर्यता अपनाएकाले ठुलो घटना हुन नपाएको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.