यो महिना १२ हजारलाई फर्काउने सरकारको दाबी

|
फाइल फोटो

काठमाडौं : कोभिड-१९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेश ल्याउन थालिए पनि वास्तविक पीडितहरूको उद्धार हुन सकेको छैन। आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने, रोजगारी गुमाएका, भिषा सकिएका तथा श्रम स्वीकृत नलिई गएकाहरुले हालसम्म स्वदेश फर्कन नपाएको गुनासो गरेका छन्।

खाडी मुलुक कुवेतमा रहेका नेपाली केशर ग्लानले विदेशमा रहेका वास्तविक पीडितहरूको अहिलेसम्म उद्धार हुन नसकेको गुनासो गरे। आफुहरुले पटक–पटक उद्धारका लागि आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको उनले सुनाए। 

'कुवेतस्थित नेपाली दूतावासमा हामीले धेरै पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गरायौँ, हाम्रो अभिभावक जस्तो राजदूतले कुनै पहल गर्नु भएन', उनले भने, प्लेन चार्टर्डको शुल्क तिर्नेलाई पठाउन मात्र ध्यान दिने तर वास्तविक पीडितलाई घर पठाउने कुनै योजना छैन।'

ग्लानले त्यहाँ समस्यामा परेका नेपालीलाई अहिलेसम्म एनआरएनए कुवेत र केही स्थानीय संघ संस्थाहरुले दाल चामल राहत दिएर सहयोग गरे पनि लामो समय राहत दिन सक्ने स्थिति नरहेको बताए।

'नेपाल सरकारले जुन जिम्मेवारीका साथ काम गर्नुपर्ने थियो, त्यसो हुन सकेन', उनले भनेका छन्, 'बरु स्वदेश फर्काउने नाममा सरकारले विमानको दोब्बर भाडा असुलेर व्यापार गरिरहेको छ। पहिला दुईतर्फी पुग्ने ६० हजार अहिले एकतर्फी मात्र ५० हजार लिने गरिएको छ। अझ यसलाई उद्दार भनिएको छ। उद्दार भनेको छ, अप्ठेरोमा परेकालाई निशुल्क सहयोग गर्नु होइन र? 

तर, अप्ठेरोमा परेका नागरिकलाई कसरी ल्याउने भन्नेबारे कार्यविधि बनाउन लागि परेको श्रम मन्त्रालय भने अहिलेसम्म अलमलमै छ। उसले अहिलेसम्म पनि कार्यविधि ल्याउन सकेको छैन। श्रम मन्त्रालयका सह-सचिव एवम् प्रवक्ता सुमन घिमिरेले कार्यविधि अन्तिम चरणमा रहेको र अब छिट्टै मन्त्रिपरिषद्‍मा पेश हुने जानकारी दिए।

उनले श्रम स्वीकृति लिएर गएकाहरुले फारम भरेपछि दूतावासको सिफारिसमा नेपाल ल्याउने गरी कार्यविधि तयार भएको र अन्यलाई पनि परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ल्याउने क्रम जारी रहेको दाबी गरे। 

परराष्ट्र मन्त्रालयका सह–सचिब हरिशचन्द्र घिमिरेले भने पहिलो चरणमा १० देखि १२ हजार नेपाली स्वदेश ल्याउने सरकारको योजनाअनुरुप नेपाली स्वदेश फर्कने क्रम जारी रहेको बताए। पहिलो चरणमा हामीले यही जुन महिनामा मात्र १० देखि १२ हजार नेपाली स्वदेश ल्याउदै छौं अहिलेसम्म दैनिक आउने क्रम त्यही क्रम अनुसार राम्रै छ।

उनले भने, 'यसपछि हामी दोस्रो चरण सुरु गर्छौ।' उनकाअनुसार बिहिबारसम्म मात्र पहिलो चरणअन्तर्गत ८ हजारको हाराहारीमा स्वदेश फर्किसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.