|

धादिङ : नागढुङ्गा–नौविबे सडक खण्डको बैकल्पिक मार्गको रुपमा चिनिने धादिङको धार्केबाट सीतापाइला जोड्ने सडक खण्डमा कालोपत्रे सुरु भएको छ। 

धुनिवेंशी नगरपालिका–६ धार्केबजारबाट जीवनपुर, छत्रेदेउराली हुँदै भीमढुङ्गा भएर काठमाडौंको सीतापाइला जोड्ने सडकको धार्केदेखि ठूलो खोलासम्म ग्रावेल गर्ने काम भइरहेको छ भने काठमाडौंतर्फ सीतापाइला क्षेत्रबाट कालोपत्रे गर्ने काम भइरहेको छ। लकडाउनका समयमा कामदारहबीच भौतिक दूरी कायम गर्दै  गत बैशाख महिनाबाट सडक निमार्णको काम भइरहेको प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाले  बताए।

संघीय राजधानी प्रवेश गर्ने बैकल्पिक मार्गको रुपमा प्रयोगमा ल्याउन सकिने सडक भएर पनि लामो समयदेखि सडकको स्तरोन्नति हुन नसक्दा यस सडक खण्डमा हिउँदमा मात्रै मोटर चल्ने गरेको थियो। धार्के–सीतापाइला सडकका लागि चितवनस्थित सडक डिभिजन कार्यालयले हेर्नेगरी आगामी आर्थिक वर्षमा १५ करोड रुपैयाँ तर्जुमा भएको र सोही योजना अन्र्तगत अहिले धमाधम काम भईरहेको थपलियाले जानकारी दिए।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सीतापाइला खण्डमा पहिलो चरणमा करिब पाँच किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ। सुरुमा सडकमा पर्ने बिजुलीका पोलहरु हटाउने काम गर्न समय लागेको भए पनि अहिले निर्वाध रुपमा काम भइरहेको छ।

सडक निर्माण भएको दुई दशक बितिसक्दा पनि स्तरोन्नति नहुँदा धार्के–सीतापाइला सडकका उपभोक्ता निराश थिए। अहिले सीतापाइलाबाट कालोपत्रे सुरु र धार्के खण्डमा ग्राभेलको काम भएपछि नागरिकमा उत्साह छाएको धुनिवेंसी नगरपालिकाका वासिन्दा राजकुमार ढुंगाना बताउँछन्।

धुनिवेंशी नगरपालिकाको धार्केस्थित पृथ्वी राजमार्गबाट सुरु भएको यो सडकखण्को २५ किलोमिटर पार गरेपछि काठमाडौंको सीतापाइला पुग्न सकिन्छ। 

धार्के–सीतापाइला सडक खण्डको महेशखोला पुलदेखि ठूलोखोलासम्म १३ किलोमिटर सडकमा ग्राभेल हाल्ने र रोलर लगाउने काम भइरहेको छ। नेपाल सरकारको १४ करोड बजेटबाट उक्त सडक खण्डमा ग्राभेल राखेर रोलर लगाउने काम भइरहेको धुनिवेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य बताए। दिव्य ज्योति कन्ट्रक्सनबाट उक्त सडकमा ग्राभेल गर्ने, कच्ची नाला बनाउने र रोलर लगाएर थिच्ने काम भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.