अस्पतालकाे लापरबाहीका कारण परिवार नै अपहेलित

|

बाँके : कोरोना लागेका, मृत्यु भएका र उनीहरुसँग सम्बन्धित परिवारका सदस्यको नाम गोप्य राख्ने कानुनी व्यवस्था छ। 

तर, बैजनाथ गाउँपालिका–६ की महिलाको कोरोनाले मृत्यु भएको खबर गाउँपालिका भर एकछिनमै फैलियो। मृतकका परिवारलाई समाजले हेर्ने नजर फेरियो।  मृतकका परिवारलाई समाजले सान्त्वना दिनुुभन्दा लाञ्छना र भेदभाव गरेको परिवारका सदस्यले बताए। ‘आमाको मृत्युले शोकमा डुबेका छौँ। त्यसैमा समाजले लाञ्छना लगाउँदा पीडामाथि पीडा थपिएको छ,’ मृतककी बुहारीले भनिन्। कोरोनाका कारण मृत्यु भएको भन्ने खबर सुनेपछि गाउँघर, छरछिमेकका मान्छे घरमा आउन छाडेको उनले बताइन्। 

‘यिनीहरुले गर्दा गाउँ बिग्रियो, कोरोना रोग ल्याए भन्छन्। कोरोना लागेको घर भन्दै बालबच्चाले समेत देखाउँदै हिँड्छन्,’ उनले भनिन्, ‘आमाको मृत्युले थलिएका बेला समाजले लगाउने लाञ्छना र भेदभावले पीडामाथि पीडा थपिएको छ।’

समाजले भेदभाव गरेका कारण सागसब्जीसमेत खान नपाएको उनले बताइन्। बाहिरकाले तरकारी ल्याउन नमानेको बताउँदै उनले ३ असारदेखि तरकारीसमेत नपाएको गुनासो गरिन्। ‘हाम्रो कारणले कोरोना संक्रमण नभए पनि यसको सजाय हामीलाई भोग्न परेको छ,’ उनले भनिन्।

परिवारका सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ

मृतक महिलाको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत महिलामा कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको थियो। उनको कोरोना रिपोर्ट नआउँदै मृत्यु भयो। 

भेरी अस्पताल, नेपालगन्जमा पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएपछि उनका परिवारका सदस्य र सम्पर्कमा आएका १९ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

‘मृत्यु भएको महिलामा कोरोना देखिए पनि उनको स्याहार सुसारमा संलग्न छोरा, बुहारी, आमालगायत इष्टमित्र र अन्य परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने। रातदिन स्याहारसुसार गरेका छोरा र बुहारीमा कोरोना संक्रमण नदेखिएपछि उनीहरु अचम्म परेको बुहारीले बताइन्। घरबाहिर ननिस्केको मान्छेलाई कोरोना लागेको होला भन्ने विश्वास नलागेको उनको भनाइ छ। ‘मृत्यु हुनुअघि हामीले उहाँको स्याहारसुसार गर्‍यौँ। पानीपट्टी गर्‍यौँ। लुगा फेरिदियौँ। मुख धोई दियौँ, तर हाम्रोमा कोरोना नदेखिएर उहाँमा मात्र देखिनुले हामीलाई शंका लाग्नु स्वाभाविक हो,’ उनले भनिन्। 

मृत्युपछि छोरा र मृतककी आमाले ग्लोब्स नलगाएर कपडा फेरि दिए। शव प्लास्टिकले बेर्ने कार्यमा खटिए पनि। तर, उनीहरुको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आउँदा परिवारका सदस्य अलमलमा परेका छन्। 
 
रिपोर्ट ढिलो आउँदा काजकिरिया ढिलाइ

मृत्यु भएको ८ दिनपछि मात्र काजकिरिया गर्न थालेको उनले बताइन्। ४ असारमा संकलन भएको स्वाब रिपोर्ट १० असारमा आएपछि किरिया प्रक्रिया बढाएको बताइन्। आमाको जस्तै हाम्रो रिपोर्ट पनि पोजेटिभ आउन सक्ने भन्दै किरिया गर्न नसकेको उनले स्पष्ट पारिन्। ‘कोरोना रिपोर्ट पोजेटिभ आए आइसोलेसनमा बस्नु पर्ने होला भनेर आमाको किरिया सकेनौँ,’ उनले भनिन्, ‘रिपोर्ट नेगेटिभ आएपछि ढुक्क भएर सुरु गर्‍यौँ।’

अस्पतालको लापरबाहीले कुरा बाहिर आएको उनले आरोप लगाइन्।  ‘अस्पतालले नाम र ठेगाना गोप्य राख्नुपर्ने हो, तर सबैले थाहा पाउने गरी हल्ला फैलायो,’ उनले भनिन्। 

दुई वर्षदेखि स्वास्थ्यमा समस्या 

बैजनाथ गाउँपालिका–६ की ती महिलालाई दुई वर्षअघि स्वासप्रस्वासमा  समस्या देखिएको थियो। नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचार गराउँदा निको नभएपछि परिवारका सदस्यले भारतको लखनऊ लगेर उपचार गराए। त्यहाँ उपचार गराउँदा उनको मिर्गौलामा समस्या भएको पत्ता लाग्यो। त्यसपछि उनी नियमित रुपमा मिर्गाैला र दमको औषधि सेवन गर्दै आएकी थिइन्। त्यैपनि बेला–बेलामा स्वास प्रश्वासमा समस्या आउने गरेको परिवारका सदस्यले बताए। 

वैशाख ७ मा उनलाई उच्च रक्तचापको समस्या देखियो। उनको शरीरको एक भाग नचल्ने भयो। परिवारका सदस्यले उनलाई एक महिनासम्म कोहलपुरस्थित कौसल्या मेमोरियल अस्पतालमा राखे। उनी हिँड्डुल गर्न सक्ने भइन् र खाना पनि खान थालिन्। 

फेरि उनको शरीरमा दाना आयो, शरीर र पेट सुन्नियो। छोराबुहारीले उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्जमा कार्यरत डा. मधु अर्यालको क्लिनिकमा ल्याए। डा. अर्यालले दिएको औषधि सेवन गरेपछि उनी निको भइन्। ‘डा. अर्यालले ७ असारमा फ्लोअपका लागि आउन भन्नुभएको थियो, तर त्योभन्दा अघि नै सास फेर्न समस्या भयो,’ बुहारीले भनिन्, ‘हामीले फेरि डा. अर्यालकहाँ ल्यायौँ। डा. साबले मकहाँ हुँदैन। मेडिकल कलेजमा भर्ना गर्नुपर्छ भन्नुभयो। हामीले त्यस्तै गर्‍यौँ।’

छोरा बुहारीले शिक्षण अस्पताल नेपालगन्जमा लिएर गए। तर, अस्पतालले आइसियू खाली नभएको भन्दै भेरी अस्पताल वा शिक्षण अस्पताल कोहलपुर लैजान सल्लाह दिए। उनीहरुले आमालाई कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना गरे। चिकित्सकको सल्लाहबमोजिम आइसियूमा राखेर उपचार सुरु भयो। ‘आमाको स्वास्थ्यमा पहिलेदेखि नै समस्या थियो। हामीले बचाउन धेरै प्रयास गर्‍यौँ, तर बचाउन सकेनौँ,’ उनले भनिन्, ‘पहिले देखिको रोग भए पनि अस्पतालले कोरोना संक्रमण भएको भनेपछि छांगाबाट खसेझैँ भयौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.