|

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भारतसहितका दक्षिण एसियाली देशमाथि चीनका कारण चुनौती पैदा भएको बताएका छन्। उक्त चुनौतीको सामना गर्न युरोपमा क्रियाशील अमेरिकी सेनालाई त्यहाँबाट ‘अन्यत्र सार्न लागिएको’ उनले बताए। यद्यपि‚ उनले आफ्ना सेनालाई कहाँ सार्न लागिएको हो भन्ने प्रष्ट पारेनन्। ब्रसेल्स फोरमलाई सम्बोधन गर्ने क्रममा पोम्पेओले यस्तो बताएका हुन्।

जर्मनीमा खटाइएका अमेरिकी सेनाको संख्या घटाउने विषयमा सोधिएको प्रश्नमा उनले भने‚ ‘जर्मनीमा अमेरिकी सेना रहनेछैनन् भन्नुको अर्थ हो‚ तिनलाई त्यहाँबाट अन्यत्र सारिँदैछ।’

भारत‚ भियतनाम‚ मलेसिया‚ इन्डोनेसिया लगायतमा क्षेत्रमा चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका तर्फबाट खतरा पैदा भएकाले अमेरिकी सेनालाई जर्मनीबाट सार्नुपर्ने अवस्था आएको उनले बताए। ‘उक्त चुनौतीको सामना गर्न हाम्रा सेना ठीक ठाउँमा खटिएका छन् भन्ने सुनिश्चित गर्न चाहन्छौं’‚ उनले थपे।

पोम्पेओले गतसाता भारत–चीन तनावबारे टिप्पणी गर्ने क्रममा चीनलाई दोषी करार गरेका थिए। उनले चीनको सत्तारुढ दललाई ‘दुष्ट तत्व’को संज्ञा दिएका थिए। चीनमाथि तिखो टिप्पणी गर्दै उनले भनेका थिए‚ ‘नाटोसहितका संस्थाहरूको मद्दतले तयार पारिएको स्वतन्त्र विश्वलाई चीन पूर्ववत् अवस्थामा फर्काउन चाहन्छ‚ आँफूअनुकूलका नियम र मापदण्डहरू लाद्न चाहन्छ।’

‘चिनियाँ जनमूक्ति सेनाले भारतसँग पनि तनाव बढाइरहेको छ। साउथ चाइना समुन्द्रमा पनि अनावश्यक बखेडा निकाल्दै आफ्नो दाबी बढाइरहेको छ’‚ पोम्पेओको भनाई थियो। जर्मनीमा रहेका सेनालाई चीनको सामना गर्न अन्यत्रै खटाउन लागिएको भन्ने अमेरिकी विदेशमन्त्रीको भनाईबारे भारत र चीनको औपचारिक प्रतिक्रिया आइसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.