प्रधानमन्त्रीविरुद्ध अविश्‍वास प्रस्तावको सम्भावना बढ्यो

|

काठमाडौं:  शुक्रबार आफ्नै निवासमै बसेको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सञ्चालन गरेका छन्। प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर नेकपा भित्रै आलोचना भइरहेका बेला आजको प्रधानमन्त्री नआउनुलाई रहस्यपूर्ण मानिएको छ। 

राजनीति विश्लेषक हरि रोका प्रधानमन्त्रीले सकेसम्म बैठक नै बोलाउन नमान्‍ने यदि बैठक बसे पनि आफ्नो भाषण मात्र सुनाउने गरेको बताए। आफ्ना कुरा राखेर अरूका कुरा नसुन्ने गर्दै गएमा पार्टीले प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव ल्याएर बहुमत सदस्यको निर्णयबाट हटाउन सक्ने अवस्था आउने उनी बताउँछन्। 

'बाहिरबाट हामीले भनेर के हुन्छ र?', उनले भने, ‘स्थायी समिति सदस्य या सचिवालयका साथीहरुले मिटिङमा सहभागी हुन  नसक्ने, सहभागी भए पनि सुनुवाइ नहुने वा खेलाँची कुरा गर्दिने गरेको अवस्थामा  प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर बहुमत सदस्यको निर्णयबाट हटाउन सक्ने सम्भावनालाई नकार्न नसकिनेतर्फ स्थिति अगाडि बढेको देखिँदैछ।'

पार्टी अध्यक्षलाई बैठकमा बोलाउन नसक्ने र स्थायी कमिटीको एजेन्डासमेत तय गर्न नसक्ने सचिवालयको भूमिकामाथि पनि उनले प्रश्‍न गरेका छन्।  

सरकार आलोचित  हुनुमा प्रधानमन्त्री स्वयम् जिम्मेवार रहेको नेकपाका शीर्ष नेताहरुको ठहर छ।  कोभिड-१९ को महामारीका बेला सरकारले तदारुकताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीले अनावश्यक विषयमा आफ्नो जिद्दी दोहोर्याउने गरेपछि सरकारसँगको असन्तुष्टि बढ्दै गएको छ ।

कोरोनाबाट मृत्यु भएकाहरुको ज्यान अन्य कारणले गएको दावी गर्नु, नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएका कारण कोरोना नलाग्ने र बेसार पानी खाए कोरोना निको हुने भनेर संघीय संसद र बाहिर आएका प्रधानमन्त्रीको पटक पटकको अभिव्यक्तिले कतिपयलाई आक्रोशित बनाएको छ।

आन्दोलन उठेर सरकार ढल्न सक्छ

कोभिडको संकटमा अपेक्षाकृत राहत वितरण नहुनु र सर्वत्र विरोध भइरहेको एमसिसी परियोजनाबारे स्पष्ट गर्नुभन्दा संसदबाट जसरी पनि पारित गर्ने प्रधानमन्त्रीको ढिपी पनि उनको लोकप्रियता घटाउने अर्को कारण हो भन्छन्, विश्लेषक रोका।

कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै नभएर प्रधानमन्त्री ओली सरकार सञ्चालनमा असफल प्रमाणित भएको बताउँदै रोकाले यस्तो अवस्थामा पनि अवैज्ञानिक कुरा गरेर संसदलाई समेत गुमराहमा राखेको टिप्पणी गर्छन्। उनले भने, ‘कोरोनाको बारे, कोरोनाको संक्रमण रोक्नेबारे, बेसार पानी र नेपालीको इम्युनिटी पावरको विषयमा उहाँ अवैज्ञानिक कुरा गर्नु भयो। उहाँले बाहिर मान्छेले खिल्ली उडाइरहेका छन् भन्ने कुरा कहिल्यै महशुस गरि राख्नुभएको छैन।' 

यही स्थिति अब साढे दुई वर्षसम्म पनि रहिरहे नेकपाले आगामी निर्वाचनसम्ममा पूरै जनमत गुमाउन सक्ने उनी बताउँछन्। उनले त्यसअघि नै यो व्यवस्थाविरुद्ध आन्दोलन भएर सरकार ढाल्नेसम्मको खेल हुनसक्ने खतरा रहेको पनि औँल्याएका छन्। 'यसैगरी ५ वर्ष  चलाउन खोजे बीचमा यो सिस्टम नै असफल भएमा नेकपाले केही गर्न सक्दैन भनेर सरकार ढाल्नेसम्मको आन्दोलन  हुनसक्छ', उनले भने।  

दुईतिहाइ बहुमत नजिकको सरकार सञ्चालनको नेतृत्व गर्दा ओलीलाई जनताले धेरै आशा र विश्वास गरेर साथ दिए तर अपेक्षा अनुसारको कामै हुन नसकेको विश्लेषक रोकाको दाबी छ।

हरेक वर्षायाममा हुने डुबानको समस्या ज्युँकात्यूँ रहेको तथा सीमा अतिक्रमणबारे भारतसँग प्रधानमन्त्रीस्तरमा कुरा गर्न नसक्नु प्रधानमन्त्रीको कमजोरीको रुपमा उनले हेरेका छन्।  पार्टीका एक नम्बर वरियतामा अध्यक्षसमेत रहेका प्रधानमन्त्री स्थायी कमिटी बैठकमा कारण नखुलाइ सहभागी नहुनुले उहाँ आफ्ना कमजोरी सुन्न नचाहेको स्पष्ट भएको रोकाको विश्लेषण छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.