असन्तुष्ट समूह भन्छ : बैठक छल्नुको स्पष्ट कारण चाहियो

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) स्थायी कमिटीको बैठक जारी छ। बुधबारबाट सुरु भएको बैठक सात बिषयमा  केन्द्रित छ। बैठकको शुरु दिन बुधबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भनाई राखे। 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अध्यक्ष दाहालको भाषण एक अर्का प्रति मन्दमन्द घोचपेच पूर्ण थियो। प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरिरहे भने अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग रुष्ट बनेको जनाउ दिइरहे। 

पटक पटकका व्यवहारले अध्यक्ष दाहाल मात्र होइन वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रधानमन्त्री ओलीसँग चिढिएका छन्। त्यसो त बुधबारको भाषणमा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरेपछि अध्यक्ष दाहाल आक्रमक रुपमा प्रस्तुत भएका थिए। 

सरकार भ्रष्टाचार र अनियमितमा लिप्त भएको जन आवाज बाहिरबाट पर्याप्त रुपमा उठिरहेको उल्लेख गर्दै बैठकको पहिलो दिन अध्यक्ष दाहाल र नेता नेपालसँग ओलीको चर्काचर्की परेको थियो। तर, बैठकको पहिलो दिन चर्काचर्की परेपछि दोस्रो दिन अनुपस्थित भएकाले विभिन्न टिकाटिप्पणी भइरहेको छ। 

केही बेरमै फर्किए ओली

प्रधानमन्त्रीको सरकारी निवासमा चलिरहेको बैठकमा शुक्रबार प्रधानमन्त्री ओली बैठकमा आएनन्। तर, शनिबार केहि समय बसेर फर्केका छन्। शनिबार भने स्वास्थ्यमा समस्या परेको देखाउँदै प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका हुन्। 

शुक्रबार पनि प्रधानमन्त्री ओली बैठकमा कार्य व्यस्तताको कारणले अनुपस्थित भएको महासचिव बिष्णु पौडेलबाट जानकारी दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताएका थिए। ‘उहाँले काम विशेषले आउँन भ्याइन। बैठक सञ्चालन गर्दै गर्नु म आउँछु भन्नुभएको थियो । तर, आउनुभएन’ उनले भने। 

यता प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापा पनि कार्यव्यस्ताकै कारण प्रधानमन्त्री उपस्थित हुन नसकेको जिकिर गर्छन्। ‘उहाँ अहिले आफ्नो कामको व्यस्तताले बैठकमा उपस्थित हुन सक्नुभएको छैन’, थापाले भने। 

बैठक छल्न खोजेको आरोप

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै जारी स्थायी कमिटी बैठकमा कार्य व्यस्तता कारण देखाउँदै ओली अनुपस्थित भएपनि असन्तुष्ट पक्षका स्थायी स्थायी कमिटी सदस्यहरुले बैठक छल्न खोजेको आरोप लगाएका छन्।

शुक्रबार प्रधानमन्त्री ओली बालुवाटारको बैठकमा अनुपस्थित भएपछि स्थायी कमिटी सदस्य भीम रावलले बैठक पार्टी मुख्यालय धुम्वराही सार्न माग गरेका थिए। यस्तै, अर्की स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पनि प्रधानमन्त्री ओली बालुवाटारको बैठकमै अनुपस्थित भएपछि बैठक धुम्वराहीमा चलाउनुपर्नेमा जोड दिएका थिइन्। 

ओलीको बचाउमा भट्टराई 

प्रधानमन्त्रीको सरकारी निवासमा चलिरहेको बैठकमा अध्यक्ष ओली अनुपस्थित भएपछि शुक्रबार पर्यटनमन्त्री योगेश भट्टराइले प्रधानमन्त्रीको बचाउ गरेका थिए। प्रधानमन्त्री ओलीको अनुपस्थितिले विभिन्न आशंका सिर्जना भइरहेको बेलामा मन्त्री भट्टराइले बचाउ गरेका थिए।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार चलिरहेको बैठकमा उहाँ यही हुनुहुन्छ भन्ने ठान्नुस् भन्ने खालका अभिव्यक्ति दिएका हुन्। छलफलमा उठेका बिषयलाई प्रधानमन्त्रीले पछि अध्ययन गरेर जवाफ दिन उनको तर्क छ। ​बै

बैठकमा प्रधानमन्त्रीको बचाउ गरेका मन्त्री भट्टराईले प्रधानमन्त्रीसँग भेटेर चाहिं अनुपस्थित हुनु पार्टी र स्वयं ओली कै लागि पनि प्रतिउत्पादक हुने बताएका छन । प्रधानमन्त्री निकट सूत्रका अनुसार मन्त्री भट्टराईले बिहिबार राती प्रधानमन्त्री ओलीलाई भेटेर "मन्त्री हुनुको नाताले  तपाईंका कामको प्रतिरक्षा गर्न तयार छु तर जे जसरी काम भइरहेको छ यसको परिणाम चाहिं राम्रो नहुने' बताएका थिए।

गुटगत भेला उस्तै

नेकपा स्रोतका अनुसार चर्को विवादपछि बसेको स्थायी कमिटीको बैठकमा गुटगत रणनीति तय गरेर अघि बढेको पाइन्छ। प्रधानमन्त्री ओलीका कामबाट रुष्ट बनेको दाहाल- नेपाल समूह बैठकमा प्रधानमन्त्री ओलीलाई गलाउने रणनीतिमा उत्रेको छ। तर, प्रधानमन्त्री ओली समूह पनि रक्षात्मक रुपमा उत्रने रणनीतिमा तयार गरेर बसेको छ। 

गुटगत रणनीति तय गर्नका लागि बिहिबार नेताहरु खुमलटार, बालुवाटार दौडमा व्यस्त थिए। ‘प्रधानमन्त्री ओली एकलौटी चलिरहनु भएको छ। हामीले पार्टीलाई विधान र पद्धति बसाउन खोजेका हौँ’ अध्यक्ष दाहाल निकट एक नेताले भने, ‘पार्टीमा एक व्यक्ति एक पदको माग गरिरहेका छौँ। बैठकमा त्यो बिषय पनि उठ्न सक्छ। त्यसका लागि  हामी तयार भएर बसेका छौँ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.