बाली सखाप हुने डरले किसान चिन्तित
बाली सखाप हुने डरले किसान चिन्तित
सर्लाही : सर्लाहीमा सलह किराको झुण्ड देखिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका १ नवलपुर बजार छेउमा रहेको तेलबाली अनुसन्धान कार्यक्रमको जमिनमा लगाइएको विभिन्न बालीमा शनिबार बिहान सलह किरा देखिएको हो।
‘आज बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम (ममफली),धैंचा, धानको बेर्ना लगाएतमा सलह किराले झ्याप्पै छोपेको देखियो, तेलबालीसँगै अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ बैज्ञानिक डा. विशेश्वर प्रसाद यादवले जानकारी दिए। ‘सँधै बिहान र बेलुका फिल्ड भिजिट गर्ने गरिएको छ, हिजो अस्ति देखिएको थिएन, आज बिहान एक्कासी देखियो।’ सलह किरा हजारौंको संख्यामा रहेको समेत डा. यादवले बताए।
कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख देवानन्द राय यादवले सर्लाहीमा सलह किरा आएको बरेमा तेलवाली अनुसन्धान केन्द्रबाट जानकारी आएको छ। हामी त्यसतर्फ जाँदैछौँ । तत्काल फिल्डतिर गएर सलह किरा हो कि हैन भन्ने कन्फर्म गर्ने प्रयासमा छौं।’ यादवले भने। सर्लाहीमा सलह किरा देखिएको चर्चासँगै जिल्लाका किसान चिन्तित बनेका छन्।
फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो। नेपालमै पहिलोपटक शनिबार सलह किरा देखिएको हो।
वैज्ञानिक नाम Schistocerca Gregaria रहेको सलहले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्याउने जानकारहरु बताउँछन्। विज्ञहरुका अनुसार करोडौंको संख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ। जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउने विज्ञहरु बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।