|
फाइल फोटो

काठमाडौं : कोरोना महामारीले लाखौं नेपालीको जीवनयापनमा असर पारिरहँदा मानिसहरूलाई रोजगारी गुम्ने चिन्ता बढिरहेको छ। यसै त सरकारले देशभित्रै रोजगारीका लागि आवश्यक अवसर सृजना गर्न सकेको छैन। अर्कातिर महामारीले दपेटेपछि यतिखेर लाखौं नागरिकलाई छाक टार्न मुस्किल परेको छ र भविष्यप्रतिको चिन्ताले सताइरहेको छ।

यही महामारीका बेला विदेशमा पनि लाखौं नेपाली रोकिएका छन्। ती मध्ये अधिका‌ंशले समस्या भोगिरहेका छन्। फर्कनेले नै निकै महङ्गो भाडा तिर्ने गरी विदेशी र निजी हवाई कम्पनीहरूलाई चार्टर उडान अनुमति दिइएको छ। विमानमा सकुशल फर्किएका नेपालीहरू मात्र छैनन्, वैदेशिक रोजगारीका क्रममा पराया भूमिमै ज्यान गुमाएका ८७ जना नेपालीको शव यतिखेर काठमाडौं ल्याइएको छ। 

शनिबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका ८७ नेपालीको शवका सम्बन्धमा सरकारले गरेको निर्णयले यसअघि सरकारले नै बाँडेका आश्वासन, योजना र नीतिहरूको पीडादायी विघटन भएजस्तो देखिएको छ। कोरोना भाइरसका कारण नेपाली नागरिकको उद्बार गर्ने क्रम बढेसँगै विमान चार्टड गरी विदेशमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन छ। यी शव बोक्न सरकारले सवारीसाधन थप गर्दैछ।

घरसम्म शव पुर्‍याउन २० सवारीसाधन थप 

वैदेशिक रोजगार बोर्डले विदेशबाट आएका शवलाई मृतकको गृह जिल्ला (घरसम्म) पुर्‍याउनका  लागि २० वटा साना सवारीसाधन थप गरेको छ। दैनिकजसो ठूलो संख्यामा विदेशबाट शव आइरहेकाले ढुवानी गर्नलाई पुनः २० वटा सवारीसाधन थपिएको वैदेशिक रोजगार बोर्डका निर्देशक राजेन्द्र श्रेष्ठले थाहा खबरलाई बताए।

कुनै-कुनै शवको ढुवानी गर्दा रुट एउटै परेमा दुई वटा शव एउटै सवारीसाधनमा लाने गरिएको उनले जानकारी दिए। 'शव ल्याउने बेलामा परिवारसँग प्रत्यक्ष सम्पर्कमा रहिरहेका हुन्छौं, शवलाई काठमाडौंमा व्यवस्थापन गर्ने वा घरसम्म लाने भनेर जानकारी मागिरहेको हुन्छौं,' उनले भने।

वैदेशिक रोजगारमा मृत्यु भएका मृतकको शवलाई घर परिवारसम्म पुर्‍याउन बोर्डले नि:शुल्क ढुवानी गर्ने गरेको छ। जहासम्म गाडी पुग्छ : त्यहाँसम्म बोर्डले लगिदिने र शवको ढुवानी गर्दा अप्ठ्यारो अवस्था आएमा नजिकैको स्थानीय प्रशासनलाई बोर्डको पत्रसहित शव जिम्मा दिने गरेको छ।

वर्षाको समय भएको र सार्वजनिक यातायात सञ्चालन नभएकोले मृतकको आफन्त आउन नसक्दा शवको जिम्मा लिने मानिस भएमा काठमाडौंमा पनि शवको अन्त्येष्टि गरिरहेको श्रेष्ठले बताए। लकडाउनमा विदेशबाट आएका ७४ वटा शवलाई मृतकको घर-परिवारसम्म पुर्‍याइएको र अन्त्येष्टि गर्न दिएको उनले जानकारी दिए। उनका अनुसार यसबीचमा विदेशबाट आएकामध्ये १३ वटा शवलाई काठमाडौंमै अन्त्येष्टि गरिएको छ।

जिउँदो छँदा बेरोजगार, मृत्युपछि १४ लाख

नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख हाराहारीमा श्रमशक्ति थपिने गरेको छ। तर यी मध्ये अधिकांश किशोर र युवाहरू बेरोजगारीको चपेटामा पर्ने गरेका छन्। 

सरकारले योग्यता र क्षमताअनुसार रोजगारीको कुनै व्यवस्था नगर्दा यी मध्ये अधिकांश युवाहरू वैदेशिक रोजगारीमा जाने गर्छन्। अहिले पनि ५० लाख भन्दा धेरै नागरिकहरू वैध/अवैध तरिकाले विदेश पुगेका छन्। ती सबै नागरिकहरू श्रमको अवसर, उचित ज्याला र श्रम सुविधाकै लागि विदेश पुगेका हुन्। 

नेपाल सरकारले पनि वैदेशिक रोजगारीमा संलग्न युवाहरूका लागि निकै ठूलो रकम खर्च गरिरहेको छ। तर ज्यूँदै छँदै होइन, विदेशी भूमिमा ज्यान गुमाइ सकेपछि घरसम्म शव लगिदिन सवारीसाधन थपिरहेको वैदेशिक रोजगार बोर्ड नै यो काम गर्छ। 

बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली कामदारका परिवारलाई सहयोग क्षतिपुर्ति स्वरुप सहयोग रकम दिने गरिएको छ। यसरी विदेशमै ज्यान गुमाएका युवाको शव उतै अन्त्येष्टि गरेमा ७ लाख ५० हजार र स्वदेशमै अन्त्येष्टि गरेमा मृतकको परिवारका परिवारलाई ७ लाख र बिमा बापत थप ७ लाख गरी १४ लाख रुपैयाँ रकम उपलब्ध गराइन्छ। विदेशमा ज्यान गुमाएका कामदारका परिवारलाई अन्य सहयोग पनि गर्ने गरिएको बोर्डका निर्देशन श्रेष्ठले जानकारी दिए। 

कुनै युवाको वैदैशिक रोजगारीकै क्रममा मृत्यु भएमा मृतकका सन्तानलाई छात्रवृत्ति पनि दिने गरेको छ। बोर्डले ४ वर्षदेखि मृतकको परिवारको सन्तानलाई राहतस्वरुप सहयोग रकम दिइरहेको उनले बताए। 'कक्षा नर्सरी देखि ८ कक्षासम्म ८ हजार, ९ कक्षा देखि १२ सम्म अध्ययन गर्ने मृतकको सबै सन्तानलाई वार्षिक १२ हजार रुपैयाँका दरले छात्रवृत्ति दिइरहेको छौं,' निर्देशक श्रेष्ठले भने, 'स्थानीय सरकारका तर्फबाट छात्रवृत्ति पाउनका लागि प्रमाण पुग्नेगरी कागजपत्र पेश भएको छ भने उनीहरुलाई सहजै छात्रवृत्ति रकम दिइरहेको छौं।'

१०० भन्दा बढी कामदारको शव ल्याउनै बाँकी

यतिखेर १०० भन्दा धेरै नेपाली श्रमिकहरूको शव विभिन्न मुलुकबाट स्वदेश ल्याउन बाँकी नै छ। साउदी अरबबाट मात्रै ५९ जना नेपाली श्रमिकको शव ल्याउन बाँकी छ। मलेशियामा २३ , युएईमा १४, कतारमा ११, कुवेतमा ५, बहराइनमा १ र अन्य मुलुकमा ७ जना नेपाली श्रमिकको शव छ। नेपालमा ल्याउन नसकिएका/नचाहेका १२६ वटा शवको अन्त्येष्टि विदेशमै गर्नको लागि मृतकका परिवारले सहमति दिएका छन्।​

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार यसबीचमा साउदी अरबमा सबैभन्दा बढी १०२ जना कामदारको मृत्यु भएको छ। युएईमा ७३, मलेसियामा ६२, कतारमा ४८, कुवेतमा १७, बहराइनमा ७, दक्षिण कोरियामा ५, ओमानमा २ र अन्य मुलुकमा १७ जना नेपाली श्रमिकहरूले ज्यान गुमाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.