उत्खनन ठेक्का अवधि सकिएको २ सातामा पनि ठेकदारले बुझाएनन् विवरण

|

सिमरा : जितपुरसिमरा उपमहानगरपालिकाको चरम लापरबाहीका कारण नदीजन्य उत्खननमा करोडौं राजस्व रकम हिनामिना भएको पाइएको छ।

उपमहानगरले आफ्नो मातहत रहेका खोला उत्खननबापत राजस्व रकम उठाउन आलटाल गरेकाले राज्यकोषमा जम्मा हुनुपर्ने करोडौं राजस्व हिनामिना भएको हो। 

श्रेष्ठ बिल्र्डस् प्रालिले दुधौरा खोला उत्खनन बापत माघ मसान्तमा बुझाउनुपर्ने १ करोड २५ लाख राजस्व हालसम्म बुझाएको छैन। तेस्रो किस्ताको झण्डै साढे ४ करोड राजस्व रकम ३ ओटै खोलाका ठेकदार हरुले नबुझाउने अडान लिएका छन्। 

उत्खनन परिणामका आधारमा ठेक्का लगाइएको दाबी गरेको नगरपालिकाले खोलामा कति उत्खनन भयो घाट गद्दी कहाँ कहाँ छ, बेचबिखन कति भयो भन्ने विवरणसमेत राखेको छैन। 
त्यो नहुँदा राजस्व उठाउनसमेत अन्योल भएको नगरपालिकाले नै जनाएको छ। नगरपालिका र  ठेकदार कम्पनीबीच मंसिर दोस्रो साता भएको सम्झौतामा दुधौरा, बालगंगा र पसाहा खोलाबाट जेठ मसान्तसम्म (२७० दिनमा)  कुल परिणाम ९४ लाख घनफिट नदीजन्य पदार्थ उत्खनन गर्न पाउने उल्लेख छ। 
खोलामा कति उत्खनन भयो, घाट गद्दी कहाँ कहाँ छ, बेचबिखन कति भयो, बिल भर्पाइ, अधकट्टी रसिद वा अन्य कुनै प्रमाण नगरपालिकासँग नभएको इन्जिनियर सन्जिव रुपाखेतीले जनाएका छन्।
‘हामीले प्रत्येक महिना विवरण बुझाउनुस् भनेका थियौं तर अहिलेसम्म कुनै खोलाको ठेकेदारबाट विवरण आएको छैन’, उनले भने, ‘खोलामा ठेकेदारले तोकिएको मापदण्ड बाहिर गएर खनेका छन् र राजस्व हिनामिना गरेका छन्, तर कति बढी खने, राजस्व कति हिनामिना भयो भन्ने विवरण र प्रमाण नगरपालिकासँग  छैन।’
नगरपालिकाले पसाहा खोला ओम सप्लार्यसलाई, बालगंगा न्यु पाथीभरा सप्लार्यस र दुधौरा खोला श्रेष्ठ बिल्र्डस् प्रालिलाई प्रति खोला साढे ३ करोडदेखि ४ करोडमा ठेक्का लगाएको हो।  

३ ओटै खोलाबाट कुल ९४ लाख घन फिट उत्खनन गर्ने  भनिए पनि ठेकेदारले कुल परिणामको दोब्बरभन्दा बढी उत्खनन गरेको नगरपालिका स्रोतले जनाएको छ। बालगंगा खोला अनुगमन समितिका संयोजक तथा वडाध्यक्ष रामप्रसाद लामिछानेले नगरपालिको लापरबाहीका कारण खोलामा तोकिएको मापदण्डभन्दा तीनदेखि ४ गुणा बढी उत्खनन भएको दाबी गरेका छन्। 

उनले भने, ‘उत्खनन परिमाणका आधारमा ठेक्का लगाइएको हो भने खोलामा १ जना प्राविधिक अनिवार्य खटाऊ भनेर धेरै पटक हामीले नगर प्रमुखलाई भन्यौं तर सुनुवाइ गर्नुभएन।’  नगरपालिकाले लाखौं खर्च गरेर खोलाको प्रारम्भिक  तथा  वृस्तृत वातावरणीय प्रभाव मूल्यांकन  प्रतिवेदनसमेत तयार गरे पनि व्यवहारमा कहिल्यै पनि लागु नभएको वडाध्यक्ष लामिछानेले जनाए। 

खोलाको ईआइए रिपोर्टमा तोकिएको प्लटमा १ मिटर गहिराइ र २० देखि अधिकतम ५० मिटर  चौडाइ उत्खनन गर्न सकिने उल्लेख छ। तर खोलामा ठेकेदारले ३ ओटा एक्स्काभेटर चलाएर ३ मिटर गहिराइ र २ सय मिटरसम्म चौडाइमा जथाभावी खनेका नगरपालिकाका इन्जिनियर रुपाखेतीले जनाएका छन्। ‘ठेकेदारको हेपाहा प्रविधिका कारण राजस्व रकम उठाउन साह्रै गाह्रो छ’, उनले भने। 

उपमहानगर र ठेकदार कम्पनीबीच भएको सम्झौतामा  नदीजन्य उत्खनन, घाट गद्दी तथा बेचबिखनको सम्पूर्ण विवरण प्रत्येक महिना नगरपालिकालाई  बुझाउनुपर्ने  उल्लेख छ। ठेकदार कम्पनीले नदीजन्य साम्रगीको घाटगद्दी गर्ने स्थान तोकी बिक्री गर्ने स्थान मिलाउनुपर्ने भनि उल्लेख भए पनि नगरपालिकामा हालसम्म कुनै ठेकदारले विवरण बुझाएका छैनन्।

नगरपालिकाको लापरबाहीका कारण ठेकेदारले खोला छेउछाउ, वन र सार्वजनिक जग्गामा मनोमानी ढंगले नदीजन्य सामग्री घाट गद्दी गरेका छन्।  ​

 उत्खनन विवरण आएको छैन : प्रजिअ पण्डित

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले ठेक्काको म्याद सकिएको भोलिपल्टै नदीजन्य उत्खननको सम्पूर्ण विवरण माग भए पनि हालसम्म कुनै पालिकाहरुबाट नआएको बताए। जिल्ला समन्वय समितिले बाराको ६ ओटा खोला उत्खनन गर्ने ३ ओटै स्थानीय तहहरूलाई विवरण पठाउन ताकेता गरेको छ। 

बाराको जितपुरसिमरासहित कोहल्वी र निजगढ नगरपालिकाले नदीजन्य उत्खनन ठेक्का लगाउने गर्दछन्। राजस्व संकलनका नाममा खोलामा भएको बेथितिमा प्रहरी प्रशासनले मात्रै हेर्नुपर्ने, स्थानीय पदाधिकारी तथा कर्मचारी मूकदर्शक बस्ने गरेको भन्दै पण्डितले आक्रोश व्यक्त्त गरेका छन्। उनले उत्खननमा भएको राजस्व हिनामिना आन्तरिक राजस्व कार्यालयले अनुसन्धान गर्न सक्ने बताए। 

'तेस्रो किस्ताको रकम बुझाउन सक्दैनौं'

दुधौरा खोला उत्खननको जिम्मेवारी लिएको श्रेष्ठ विल्र्डस्का प्रमुख लाल श्रेष्ठले तोकिएको परिमाणमा  नदीजन्य पदार्थ  उत्खनन  गर्न नसकिएको भन्दै  तेस्रो किस्ताको राजस्व  रकम  बुझाउन नसक्ने बताएका छन्।
‘नगरपालिकाबाट हामी धेरै पीडित छौं, यसपटक तोकिएको परिमाणमा माल उठाउन पाइएन अब अहिले के आधारमा  तेस्रो किस्ताको रकम बुझाउने ?’ श्रेष्ठले भने, ‘खोला सुरु(उत्खनन) भएलगत्तै कहिले सिडियो कहिले एसपीको टोली आएर हामीलाई धेरै लखेटियो, लकडाउनले पनि धेरै समस्या पर्यो’।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.