ज्यानै माया मारी यात्रा गर्छन् मानिस

|

म्याग्दी : पश्चिम म्याग्दीका तीन गाउँपालिका र छिमेकी जिल्ला बागलुङका कैयौं बस्तीलाई जोड्ने बेनी–दरवाङ सडकखण्डमा पानी पर्नासाथ कतै खोला बग्न थाल्छ भने कतै पोखरी बन्छ। बेनपा–७ मंगलाघाटदेखि मालिका गाउँपालिका–६ दरबाङसम्म  २४ किलोमिटर सडक पार गर्न बर्खायाममा यात्रुहरुलाई ज्यानकै माया मार्नुपर्ने हुन्छ। 

सडकका दर्जनौं स्थानमा सडकमै बगेका खोला र जमेका पोखरी पार गरेर गन्तव्यसम्म पुग्न सकियो भने ठूलै युद्ध जितेको महसुस गर्नुपर्ने अवस्था रहेको यात्रुहरुले बताएका छन्। जलमग्न सडकमा यात्रा गर्दा यात्रुले ज्यानकै माया मार्नुपर्छ भने सवारी साधनले ठूलै जोखिम मोल्नुपर्छ।

बेनी नगरपालिका ४, ५ ६ का साथै मंगला, मालिका, धवलागिरि तथा छिमेकी जिल्ला बागलुङ र रुमुकका बासिन्दाले समेत प्रयोग गर्ने सडकखण्डको हिलोमा दुई पाङ्ग्रे सवारीसाधनलाई जोगाउनै मुस्किल छ, चारपाङ्ग्रे फसेपछि निकाल्नै नसकिने गाडी चालक धनबहादुर रोकाले बताए।

‘हिलो र साना पोखरीबाट जोगिनै हम्मेहम्मे पर्छ। तीव्र गतिमा सडक स्तरउन्नति र कालोपत्रे हुने सपना देखेका सर्वसाधारणले सडकमै खोलो बग्ने, माथिबाट पहिरो खस्न थालेपछि सपना जस्तै लागेको छ,’ रोकाले भने। 

ठेकेदारले सडकको काम गरेजस्तै गरे पनि स्थानीयलाई छोडेर भागेजस्तै लाग्छ। बगुवा खोलादेखि सिंगाको ठाडोखोला सम्मको अवस्था बेहाल छ। स्काभेटरले काम गदै अगाडि बढ्दा पछाडि जमिन भत्किएको छ।

जलमग्न सडकका कारण सवारी आवागमन प्रभावित हुने गरेको छ। खोलो र सडक छुट्याउन नसकिने अवस्था छ। हिलाम्मे सडकमा गोरु र खेताला लगेमा करिब एकदिनसम्म रोपाइँसमेत गर्न सकिने मेलो छ। 

‘सडक हिलाम्मे छ, माथिबाट भत्किएको छ’, बगुवाखोलाका स्थानीय राम श्रेष्ठले  भने। उनले सडकको अवस्था देखेर स्थानीय आजित भएको बताए। उनले सडकमा खाल्डाखुल्डी धेरै भएको बताउँदै पानी पर्नासाथ खाल्डाखुल्डी पानीले भरिने गरेको बताए। ‘खाल्डाखुल्डीमा ताल बनेको छ, ‘दुर्घटनाको जोखिम बढाएको छ’, उनले भने 

फकाउन र आश्वासन दिन खप्पिस ठेकेदार 

ठेकेदारले यो सडकमा काम नै गरेका छैनन्। उनले सम्बन्धित कार्यालयका हाकिमलाई राम्रो देखाएका छन्, आश्वासनले जनप्रतिनिधिलाई चित्त बुझाएका छन् तर सडक बनाएका छैनन्। निर्माणको जिम्मा लिएको लामा समानान्तर जेभीले सडक बेहाल बनाएको छ। निर्माणलाई तीव्रता दिनुपर्नेमा आलटाल गरेको छ। 

२४ किलोमिटरको सडकखण्ड अन्तर्गत पहिलो चरणमा १४ किलोमिटर सडक स्तरउन्नति गरी कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङले लामा समानान्तर जेभीसँग ४४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो।

सम्झौता गरे यता सडकमा मुस्किलले २० जना कामदार र  दुईवटा मेसिन मात्रै देखिन्छन्। सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धतालाई ठेकेदारले कोरोनाको जोखिमलाई बहाना बनाउन सजिलो भएको छ।सडकखण्ड अन्तर्गत ११ मिटर फराकिलो सडक सात मिटर चौडाइमा कालोपत्रे गरिने छ। 

पहिलो चरणमा बेनीदेखि बाबियाचौरसम्म सडक कालोपत्र हुने सम्झौतामा उल्लेख छ। पश्चिम म्याग्दीसँगै बागलुङ र रुकुम जिल्लाका जनतालाई समेत सहज हुनेगरी मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकमा रुपमा समेत प्रयोग गर्ने तयारी भएको बताइएको छ। सडक विस्तार तथा स्तरउन्नतिले हाल करिब साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटिएर करिब ३५ मिनेटमा पूरा गर्न सकिनेछ। 

बेनी–पाखापानी सडक पनि उस्तै : ‘हिँड्दा चिप्लिएर लडिएला भन्ने पीर’ 

बेनी–पाखापानी सडकको अर्थुङ्गेस्थित आँपा रुख खण्डमा हिलाम्मे सडकमा दैनिकजसो पैदलयात्रुलाई एउटै चिन्ताले सताउँछ, ‘हिँडदा चिप्लिएर लडिएला।’ बेनीबजारबाट बेनी नगरपालिका साथै मंगला र रघुगंगा गाउँपालिकका विभिन्न वडाका सर्वसाधारणले दैनिक प्रयोग गर्ने सडकमा सबैभन्दा धेरै सास्ती पदैलयात्री र मोटरसाइकलमा यात्रा गर्नेलाई छ।

बेनीबाट फर्किने क्रममा ढलान गरेको सडक सकिएलगत्तै अर्थुङ्गे खण्डमा विगतका वर्षमा भन्दा चारगुणा धेरै हिलो छ। बर्खाको समयमा हिलो हुने भए पनि सडकखण्डको सबैभन्दा जोखिम स्थानमै हिलोले सडक छोपेपछि दैनिक यात्रुलाई चिप्लिएर लड्ने पीरले सताउने गरेको जामुनाखर्क माविका शिक्षक गणेश केसीले बताए। 

‘अघिल्लो वर्ष यस्तो थिएन, अहिलेको अवस्थामा हिँड्नै सकिँदैन’, उनले भने। रातो माटो भएकाले चिप्लो सडकमा दुर्घटना जोखिम अत्याधिक छ। जथाभावी खनेर भद्रगोल बनाइएका सडकमा हिलोले गर्दा हिँड्न नसकिने अवस्था छ। 

नजिकै रहेको नेपाली सेनाको ब्यारेकबाट समेत दैनिक सवारीसाधन आवतजावत गर्ने गरेको अवस्थामा निजी भवन र वडा कार्यालयको भवन बनाउने क्रममा समेत माटोले सडक हिलाम्मे भएको हो। हिउँदमा धुलो र वर्षामा हिलोले गर्दा समस्या रहेको अर्थुङे सामुदायिक युवा क्लबका अध्यक्ष नारायण पौडेलले बताए। 

‘यो समस्याले आजित भएका छौं, समस्या समाधान गर्ने प्रयास प्रभावकारी नै छैन’, उनले भने। सडकखण्डको समस्या समाधानका लागि स्थानीय युवा यादव सुवेदीलगायत टोलीले नेपाली सेनाको ब्यारेकमा समेत पुगेर त्यहाँको पानी तर्काउने लगायतको काम गर्ने प्रयास गरेको समेत उनले बताए।

अर्थुङ्गेबाट पैदल तथा मोटरसाइकलमा दैनिकजसो जागिरका सिलसिलामा समेत बेनी आउने गरेकाहरुले सडकको समस्या समाधानका लागि अनुरोध गर्दा सम्बन्धित निकायले कानमा तेल हालेर बसेको गुनासोसमेत गर्ने गरेका छन्। ‘यहाँ जोगिएर गन्तव्यमा पुग्नै मुस्किल छ, ‘पानी र हिलो उछिट्टिँदा त्यसको मार पैदल यात्रुले खेप्नुपर्ने बाध्यता छ’, गरिका विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले भने। 

सडकको हिलो पन्छाएर, पानीको व्यवस्थापन गरेमा सहज हुने बताए। सडकमा काम गर्दै गरेका ठेकेदारले समेत समयमै काम सम्पन्न गर्न नसक्दा थप सास्ती भएको छ। यता बेनी नगरपालिकाले भने सडकको समस्या समाधानका लागि प्रयास गरेको बताउँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.