|

बर्दिया : बर्दियाका ७२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। शनिबार बर्दियाको बारबर्दिया नगरपालिकाका ५ जना उपचारपछि डिस्चार्ज भएसँगै निको हुनेको संख्या ७२ पुगेको हो। 

शनिबार बाँकेको आइसोलेसनमा उपचाररत बर्दियाको बारबर्दिया नगरपालिकाका ५ जना डिस्चार्ज भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए। अहिलेसम्म ९ जना महिला र ६३ जना पुरुष उपचारपछि निको भएका हुन्। 

निको हुनेका गुलरिया नगरपालिकाका १६ जना, मधुवन नगरपालिकाका ८ जना, बाँसगढी नगरपालिकाका १५ जना, राजापुर नगरपालिकाका ९ जना छन्। यस्तै बारबर्दिया नगरपालिकाका ८ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना तथा बढैयाताल गाउँपालिकाका १३ जना निको भएर घर फर्किएका छन्। 

जिल्लामा १ सय ६५ संक्रमित 

बर्दियामा कोरोना संक्रमितको संख्या १ सय ६५ पुगेको छ । शनिबार बर्दियाका थप ४ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १ सय ६५ पुगेको हो। 

आज बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का ३५ बर्षीय १ महिला, मधुवन नगरपालिका वडा नम्बर ५ का ३३ र २५ बर्षीय पुरुष तथा गेरुवा गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। 

बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणका क्रममा २४ घण्टामा बाँकेका २ र बर्दियाका ४ गरि ६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै बर्दियाका ८ वटै पालिकामा संक्रमण फैलिसकेको छ। 

बर्दियामा संक्रमण फैलिदै गएको र परिक्षणको गती सुस्त भएपछि स्थानीय त्रसित समेत बनेका छन्। संक्रमितलाई स्थानीय पालिकाहरुले तयार पारेका आइसोलेसन कक्षमा राखिँदै आइएको छ। 

जिल्लामै प्रयोगशाला 

बर्दियामै पिसिआर परिक्षण प्रयोगशाला खोल्ने तयारी गरिएको छ। जिल्लामा कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएसँगै बाँके स्थित भेरी अस्पतालमा स्वाब परीक्षणको नतिजा ढिलो आउन थालेपछि जिल्लामै पिसिआर परीक्षण प्रयोगशाला खोल्ने तयारी गरिएको हो। 

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा असार १२ गते बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले प्रयोगशाला संचालनमा ल्याउने निर्णय गरेको हो। 

अहिले स्वाब परीक्षणका लागि पठाइएका नमुनाहरूको नतिजा आउन ५ देखि १० दिन लाग्ने गरेको छ। नतिजा आउन ढिलो हुने गरेपछि क्वारेन्टिनमा बसेकाहरु समस्यामा पर्न थालेका छन्। बर्दियाका स्थानीयले यसअघिबाट नै जिल्लामै प्रयोगशाला सञ्चालनमा ल्याउन पटक पटक माग गर्दै आएका थिए। 

जिल्लालाई कोरोनामुक्त बनाउने लक्ष्य सहित जिल्लामै ल्याब आवश्यक भएपछि ल्याब प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ। गुलरियाको साविक महिला तथा बालबालिका कार्यालयको भवनमा प्रयोगशाला राख्‍ने तयारी गरिएको छ। 

प्रयोगशालाको खर्च ब्यवस्थापनका लागि गुलरिया नगरपालिकाबाट ४० लाख र अन्य पालिकाहरुबाट २०/२० लाख रुपैयाँ प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। समितिले प्रयोगशाला संचालनका लागि असार १५ गते भित्र स्थानीय पालिकासँग सहयोगको प्रतिवद्धता माग गरेको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.