एउटै झुण्डलाई २५ सय मानिसले खानेजति आहारा आवश्यक

|

काठमाडौं : ग्रामिण भेगमा अनिकाल कीराको नामले परिचित अन्नबाली विनाशक सलह कीरा नेपाल प्रवेश गरेपछि त्यस क्षेत्रका किसानहरू चिन्तित बनेका छन्। 

बारा, पर्सा, सर्लाही हुँदै तराईका विभिन्न जिल्लामा प्रवेश गरेको सलहको झुण्ड पूर्वको सर्लाहीदेखि पश्चिममा बुटवलसम्म देखिएको छ। फट्याङ्ग्रोकै एक प्रजातिको रुपमा रहेको सलहलाई अनिकाल निम्त्याउने कीराको रुपमा लिइन्छ। एक साथ ठूलो संख्यामा उड्ने यसले बालीसहित बोट नै खाने गर्दछ। यो कीरा विभिन्न ठाउँमा देखिन थालेसँगै नेपालका किसानहरू चिन्तित बनेका हुन्।

यतिबेला किसानहरू सलहले आफूले दुःख गरेर लगाएको बाली सखाप पारिदिने चिन्तामा छन्। सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नम्बर २ मा ठूलो संख्यामा सलह आइपुगेको र आफूहरू निकै चिन्तित बनेको स्थानीय फूलकुमार बम्जनले बताएका छन्।

सलहको झुण्ड तराईबाट पहाडी जिल्लामा पुग्यो

‘यो बादलसंगै लछारिएर आउने रहेछ, एक भ्रमण तल आउने फेरी माथि जाने गर्दो रहेछ,' उनले भने, ‘अग्लो-अग्लो रुख बाँसको टुप्पोमा बसिसक्यो, आगो बाल्दाखेरी भाग्छ की भनेर हामीले आगो बालिरहेका छौं, पहिला पनि आएको भन्ने सुनेका थियौं,' उनले भने, ‘अहिले पनि आयो, अब कसरी बालि जोगाउने भन्ने चिन्ता थपिएको छ।’ 

सर्लाहीको लालबन्दी नगरपालिका, नवलपुरमा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको सनही र तिल बालीमा सलह कीरा पसेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द यादवले थाहा खबरलाई जानकारी दिए। हजारभन्दा बढीको संख्यामा बालीमा पसेको सलहले अहिलेसम्म बालीमा धेरै क्षति नपुर्‍याएपनि विस्तृत विवरण संकलन पछि मात्रै क्षतिबारे भन्न सकिने उनले बताए। 'सलह राती र बिहानीपख आएको रहेछ, ठूलो एरियाको सनही र तिलबारीमा लागेको पाइएको छ,' उनले भने, ‘अहिलेसम्म खासै क्षति गरेको छैन, विस्तृत विवरण संकलन आएपछि मात्र थाहा होला।’ 

अन्नबाली, रुख विरुवालगायत जुन कुनै हरियो वनस्पति सखाप पारेर खाने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आएको थियो। सलह नेपालमा पनि प्रवेश गर्ने सम्भावना बढ्दै जाँदा तीन हप्ता अघि मात्रै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तत्काललाई सलह नेपाल प्रवेश नगर्ने निश्कर्ष निकालेको थियो।

सलह समात्‍नेलाई प्रदेश सरकारले प्रतिकेजी २० रुपैयाँ दिने

मन्त्रालयमातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईं नेतृत्वमा प्राविधिक टोली नै गठन गरिएको थियो। उक्त टोलीले भारतको मध्यप्रदेशबाट आएको सलह फेरि राजस्थानतिरै फर्किएको, हावाको बहाव नआएको, वर्षा सुरू भइसकेकाले सलह नेपालमा नआउने निष्कर्ष निकालेको थियो। तर, मनसुन सुरू भएकै बेला सलह नेपाल प्रवेश गरेको छ।

पछिल्लो केही दिनदेखि पश्चिमी वायु सक्रिय भई पूर्वोउत्तर दिशातर्फ हावा बगेको कारण भारतको विहार र उत्तर प्रदेशबाट सलह नेपाल छिरेको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का वरिष्ठ वैज्ञानिक तथा प्राविधिक टोलीका सदस्य डा. सुनिल आर्याल बताउँछन्।

कति आयो भन्ने नै एकीन छैन

अरबको दक्षिणी प्रायद्वीप मरुभूमिबाट यो सलह कीरा फैलिएको डा. अर्यालले बताए। उनकाअनुसार नेपालसम्म आइपुगेको सलहको यो तीन पुस्ता भइसकेको छ। तर, नेपाल प्रवेश गरेको सलह कतिको संख्यामा आएको हो भन्ने यकिन हुन सकेको छैन।

यसबारे अनुसन्धान गर्न बाँकी रहेको कृषि मन्त्रालयको भनाइ छ। हावाको वेगसँगै नेपाल छिरेको सलहको संख्या सानो आकारमा रहेको खण्डमा भने धेरै आत्तिहाल्नु नपर्ने र यो आफैँ हराउँदै जाने नार्कका वैज्ञानिक डा. अर्यालको दावी छ। 'यो हावाको बहावससँगै आफ्नो खाना र प्रजनन गर्ने ठाउँ खोज्दै हिँडेको हुन्छ,' उनले भने, 'अहिलेको झुण्ड भारतको राजस्थानबाट आएको हो की भन्ने लागेको छ, यसको उमेर पनि हुन्छ, यो वयस्क भएपछि २ महिनादेखि ४ महिनासम्म बाँच्छ, आफैँ पनि मर्छ, त्यतिबेलासम्म यसले फुल पार्न या नपार्न पनि सक्छ, हावाको वहाबसFगै त्यहाँबाट पनि उडेर जान्छ।' 

सलह कीराबाट बालीलाई जोगाउन सबैभन्दा उपयुक्त उपाय भनेको विषादीको प्रयोग नै हो। हालसम्मको जानकारी अनुसार सलहमा विषादी पचाउन सक्ने क्षमताको विकास नभएको पाइएकाले सूर्योदय पश्चात केही समय १–२ घण्टा घाम तापेर बसेको अवस्थामा कीराको शरीरमा पर्ने गरी विषादी छर्किएमा यसलाई नष्ट गर्ने सकिने कीट विज्ञहरूको सुझाव छ। 

पाँच प्रकारका विषादी सिफारिस

यो कीराको नियन्त्रणका लागि नेपाल सरकारले पाँच वटा विषादीको नाम सिफारिस गरेको छ। यी विषादीहरू मालाथियन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस र डेल्टामेथ्रीन हुन्‌। यो कीरा आउनसक्ने सम्भावित क्षेत्रका किसानले कीरा आउनु अगाडि नै विषादी प्रयोग गरेको खण्डमा बाली जोगाउन सकिने नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत किट विज्ञान महाशाखाका प्रमुख डा. प्रेमनिधी शर्मा सुझाउँछन्।

​३ मिलिलिटर मालाथियन प्रतिलिटर पानीमा मिसाएर बालीमा छर्कन उनको सुझाब छ। यस्तै, प्रतिलिटर पानीमा ल्याम्डा साइहेलोथ्रीन ०.७० मिलिलिटर, क्लोरपाइरिफोस १.८८ मिलिलिटर र डेल्टामेथ्रीन ०.७५ मिलिलिटर मिसाएर बालीमा छर्के सलहबाट हुने क्षति कम गर्न सकिन्छ।

सलहको संकटसँग जुध्‍न यस्तो छ तयारी, बन्यो प्राविधिक समिति

सलह कीरा नै आइसकेको अवस्थामा विषादी प्रयोग नगरेको खण्डमा खेतबारीमा गएर विभिन्न आवाज निकालेर त्यसलाई धपाउने र सानो क्षेत्रमा बोट विरुवा वा बाली लगाएको छ भने झुल वा जालीको प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ। साथै, यसका लागि सरकारले विषादी छर्ने ठूला यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्न विज्ञहरूले सुझाएका छन्‌। तर, अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने नेपाल सरकारले यसबारे सम्भावित अनुसन्धान गरेपनि उपकरण लगायतका अन्य आवश्यक तयारी गरेको छैन।

एउटै झुण्डलाई २५ सय मानिसले खानेजति आहारा आवश्यक

दिनमा एउटा कीराले आफ्नो औसत शरीरको तौल बराबर (करिब २ ग्राम) खान्छ। औसतमा एउटा सानो सलहको झुण्ड (एक टन बराबरको) ले एक दिनमा बढीमा १० वटा हात्ती वा २ दुई हजार ५०० मानिसले खाने आहारा बराबरको वनस्पति नष्ट गर्छन्‌।

नेपालमा सन् १९६२ तिर फैलिएको सलहले सबै अन्नबाली सखाप पारेपछि भोकमरी निम्तिएको बूढापाकाले बताउने गरेका छन्। यतिसम्म कि सलहले सबै अन्नबाली सखाप पारेर भोकमरी भएपछि त्यसलाई नै मारी भुटेर वा सुकाएर खानु परेको कतिपय बूढापाकाको अनुभव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.