|

काठमाडौं : नेपाली फुटबल प्रतियोगितामा पुराना पुस्ताका खेलाडीहरु नगन्य छन्। नेपालले औपचारिक अन्तराष्ट्रिय प्रतियोगिता खेल्दाका एक स्टार खेलाडी राजबहादुर सिंह अब सम्झनामा सीमित भएका छन्। ८८ वर्षको उमेरमा उनको शुक्रबार निधन भएको हो। 

औपचारिक रूपमा नेपाली राष्ट्रिय टिम सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा मानिएको आगा खाँ गोल्डकपका उनी टिमको सदस्य रहेका थिए। उक्त प्रतियोगिता तत्कालीन पूर्वी पाकिस्तान रहेको बंगलादेशको ढाकामा सन् १९६३ मा भएको थियो । जहाँ उनले टिमको कप्तानी गरेका थिए।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव समेत भइसकेका खेलाडी राजबहादुर सिंहको शुक्रबार राति निधन भएको हो । उनलाई नेपाली फुटबलले पाएका उत्कृष्ट खेलाडीमध्येमा हेरिने गरिन्थ्यो।

सिंहले परिषद्को सातौं सदस्य सचिवका रूपमा २०४८ देखि २०५० सम्म जिम्मेवारी सम्हालेका थिए । घरेलु फुटबलमा भने उनले एनआरटी र विद्याव्यायाम मन्दिरबाट प्रतिष्पर्धा गरेका थिए। सिंह लामो समयदेखि अस्वस्थ रहेका थिए।

उनको परिवारलाई राणाहरुले सर्वस्वसहित देश निकाला गरेपछि उनको जन्म भारतमानै भयो। बाल्यकाल भारतमा बिताए पनि सिंह १४-१५ वर्षको उमेरमा पुन: परिवारसहित  काठमाडौं फर्किएका थिए। राणा शासनको अन्त्यसँगै उनीहरु आफ्नो पुरानै ठाउँ फिर्ता पाएका थिए।

भारतको जयनगरमा फुटबल सिकेका उनले नेपाल फर्किएपछि पहिलो पटक २०११ सालमा विद्या व्यायाम मन्दिरका लागि 'ए डिभिजन लिग' खेले। सन् १९५३ मा पहिलो पटक पाकिस्तानमा भएको प्रतियोगितामा टिमको कप्तानी गर्ने मौका पाएका थिए। 

नेपालले औपचारीक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको आगा खाँ गोल्डकप १९६३ मा उनले प्रतियोगिताको कप्तानी गरेका थिए। उक्त प्रतियोगितामा नेपालले तीनमध्ये एक खेलमा जित निकालेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.