समात्‍ने उपाय नै समाधानको उत्तम उपाय

|

काठमाडौं : भारतको बिहार र उत्तर प्रदेश हुँदै सलहको बथान नेपाल छिरेपछि यसलाई नियन्त्रण गर्ने उपायबारे अहिले अनेक बहस भइरहेका छन्।

कृषि मन्त्रालयले नेपालमा सलह आउँदै नआउने दाबी गरिरहेका बेला शनिबार बारा, सर्लाही, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा सलहको ठूलो समूह देखियो।

उक्त समूहले अन्यत्र भन्दा रुपन्देहीमा केही बढी क्षति गरेको बताइएको छ। सलहको समूह दक्षिणबाट उत्तरतर्फ चलिरहेको हावाको बेगसँगै शनिबार राति नै पहाडी जिल्लामा पुगेको छ।

भारतमा रहेको सलहको बथानमा थोरै मात्रामा नेपाल छिरेकाले क्षति कम गर्ने दाबी कृषि मन्त्रालयले गरेको छ। प्रदेश ५ सरकारले त शनिबारै सलह समातेर ल्याएमा प्रतिकेजी २० रुपैयाँ दिने घोषणा नै गरेको छ। 

सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् मदन राईले विषादी हालेर नमार्न आग्रह गरेका छन्। उनले विषादी हालेर मार्नुभन्दा समात्न आग्रह गरेका छन्। 

खोटाङमा नै आधुनिक पद्धति अपनाएर उनले कृषि कर्म गरिरहेका छन्। राईले सलह सिद्रा माछा भन्दा पनि पोसिलो हुने बताएका छन्। 'सिद्रा माछा भन्दा पोसिलो छ सलह', उनले भनेका छन्, 'दाना बनाउन काइदा हुन्छ। कसैले समात्यो भने म एक हजार केजीलाई ताजा सुकाएको दुवैलाई १ लाखमा किनिदिन्छु।'

उनले सलह रोक्न समात्ने उपाय नै सही रहेको पनि बताएका छन्। 'सरकार! सलह रोक्न विष नछर्क। केजीको ५० देखि १०० रुपैयाँ दिने व्यवस्था गरि देऊ, सबै सकिन्छ', उनले भनेका छन्, 'मान्छेको खाना र पशुपंछीको दानामा गजब हुन्छ।'

कसरी समात्ने? उनकै शब्दमा

यो बाक्लो आयो भने अलिक ठूलो कपडा दुईजनाले दुई छेउमा तानेर सलह छैकौं। एकै ठाउँमा एकैपटक पाँच दश किलो समाउन सकिन्छ। पातलोलाई पनि समाउने वा खेदेर बाली जोगाउने। सलह सबैजसो पंछीको खाना हो। जंगली पंछी पनि मोटाउने भो। मूख्य कुरा हाम्रो धान कोदो, मकै, आलु, तरकारी फलफूल बाली जोगाउनु हो। घाँस पनि जोगाऊँ। तर पहिले अन्न।

कसैले समाएर 'सुभद्रा-मदन फाउण्डेशन'मा ल्याइदिए किलोको नगद १०० रुपैयाँले १००० किलोसम्म ल्याए नगद १ लाख भुक्तानी हुनेछ।

हामी एक हजार किलोमध्ये भुटेर माछा मासुको सट्टामा विभिन्‍न परिकार बनाएर विद्यार्थीलाई खुवाउँछौँ। केही हामीसँग भएको पशुपंछीको दाना बनाउँछौं। सिद्राको सट्टामा यो प्रयोग गर्नेछौं। केही हामीसँग भएको सबैखाले पंक्षीलाई ख्वाउनेछौं। तर यसलाई मार्ने बहानामा विष किनेर घुस नखाऊँ, अनि वातावरण विषालु नबनाऊँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.