|

इलाम : ट्रयाक खोलिएको ६५ वर्षपछि फिक्कल–नयाँबजार–जौबारी सडक कालोपत्रे गर्ने काम सुरु भएको छ। प्रदेश सांसद खिनु लङ्वा लिम्बूको पहलमा प्रदेश सरकारले ५३ करोडको लगानीमा कालोपत्रेको काम सुरु गरेको हो। सडक कालोपत्रको कामको थालनी भएपछि इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दामा खुशियाली छ।

पर्यटकको आवजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय उत्पादन सहज रुपमा बजार पुग्नेछ। उत्तरपूर्वी इलामलाई भारतको सीमा क्षेत्रसम्म जोड्ने सडक प्रदेश सरकारको लगानीमा कालोपत्रे गर्ने काम थालिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बूले बताइन्। विक्रम सम्बत २०१० सालमा तत्कालीन बडाहाकिम सन्तवीर लामाको नेतृत्व सडकको ट्रयाक खोलिएको हो।

२०७६ मंसिरमा निर्माणको सम्झौता भएको सडक झापामा रहेको प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वय हुँदै आएको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए।

सूर्योदय नगरपालिका, माईजोगमाई र सन्दकपुर गाउँपालिकाबासीलाई सेवा पुग्ने सडकको २० किलोमिटर २ सय मिटर कालोपत्रे हुनेछ। सडक निर्माणका लागि ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ रुपैयाँ खर्च हुने पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश कुमार श्रेष्ठले बताए। श्रेष्ठले भने, ‘सडक निर्माणको काम लकडाउनका बिचको अवधिमा पनि जिल्ला प्रशासनको पास लिएर निर्माण सामग्री ढुवानी भएकाले काम रोकिएन।’

सडकमा अहिले कल्भर्ट, नाली, ग्याबिन पर्खाल र फिलिङ्ग गर्ने काम भइरहेको एपेक्स खनाल जोशी जेभीका डिल्लि खनालले बताए। बर्खाको समयमा गाडी ठेल्दै र तान्दै गन्तव्य सम्म पुग्नुपर्ने माईजोगमाईबासीलाई राहत भएको स्थानीय सन्जिव थामीले बताए।

‘बर्खामा १९ किलोमिटर पार गर्न कहिलेकाहीँ दिनै माया मार्नुपर्थ्यो। बिरामी हुँदा त गाडीमा अस्पताल पुर्‍याउन नसोचे पनि हुन्थ्यो।’ उनले भने। सडक बनेपछि कृषिजन्य उत्पादनले बजार पाउने र बिरामी भएर अस्पताल नपुगी ज्यान गुमाउनुपर्ने समस्या हट्नेमा आसावादी रहेका थामीले बताए। बर्खामा यातायत संचालन नहुँदा उक्त क्षेत्रमा घोडाबाट सामान ओसारपसार गर्नुपर्ने बाध्यता थियो। यो सडक तीन वर्षअघि मात्रै उन्नति परियोजनाअन्‍तर्गत १४ करोड ४६ लाख ३४ हजार रुपैयाँ खर्च स्तरोन्नति गरिएको थियो।

सडक कालोपत्रे भएपछि भारतसँग सीमा जोडिने भएकाले सीमा क्षेत्रका नेपाली नागरिकको पनि नेपाली बजारसम्म पहुँच पुग्नेछ। सडक माईजोगमाई गाउँपालिकाले गत आर्थिक वर्षदेखिनै कालोपत्रे गर्न प्रदेश सरकारसँग अनुरोध गर्दै आएको थियो। पहिलो चरणमा सूर्योदय नगरपालिका ९ को फिक्कल बजारको बरबोटेदेखि माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँ बजारसम्म कालोपत्रे हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.