महाकाली तटका बासिन्दालाई सतर्क रहन आग्रह

|

बैतडी : भारतले उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज राती खोल्ने भएको छ। बाँध आज राती १२ बजेदेखि भोली बेलुका पौने ७ बजेसम्म खोलिने एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन धारचुलाले जानकारी दिएको छ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्। परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोल्ने गरेको छ। 

बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने र तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरेका छन्‌। महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी आसपास नजान अनुरोध गरिएको छ।

यस्तै दार्चुलाको व्यास गाउँपालिका-५, धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आग्रह गरेका छन्‌। 

२८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना दिन थालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ। 

विसं २०७० मा धौलीगंगाको बाँधकै कारण दार्चुला सदरमुकाममा अर्बौंको क्षति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.