|
सौजन्य:नवराज आचार्य

काठमाडौं : गत फागुन ७ गते पुरानो सिनामंगल (पेप्सीकोला) मा काठमाडौं महानगरपालिका-३२ को साधारणसभा आयोजना गरिएको थियो। सो साधारणसभा सहभागी महानगरका अधिकारीहरू र जनप्रतिनिधिहरूले तापक्रम बढेपछि पेप्सीकोलाका भित्री सडक कालोपत्रे हुने आश्वासन दिए। वर्षौंदेखि भद्रगोल र अस्तव्यस्त सडकमा सास्ती खेप्दै आवतजावत गर्न बाध्य स्थानीयलाई यो आश्वासनले निकै खुशी तुल्यायो। 

तर सो आश्वासन पाएको पाँच महिना नबित्दै स्थानीयमा भरोसा टुट्न थालेको छ। कालोपत्रे गर्नका लागि आवश्यक तापक्रम पनि पुगेकै थियो, चैतदेखि जेठको मध्येसम्म मौसम पनि सफा थियो तर स्थानीय सरकारले सडक कालोपत्रे गर्ने छाँटकाँट नै देखाएन। अब त बर्खा पनि लागिहाल्यो, झरी र भेलमा कसरी सडकमा कालोपत्रे खन्याउनु?

स्थानीयलाई डेढ वर्षदेखि लथालिङ्ग पेप्सीकोला टाउन प्लानिङको धौलागिरि महेन्द्र एकता मार्ग सडक अब बन्ने भयो भन्ने लागेको थियो, तर आश्वासन दिएर स्थानीय सरकारका प्रतिनिधि हराए। फागुन ७ गते सडक कालोपत्रे गर्ने भाषण सुनेका स्थानीय यतिखेर दु:खी देखिन्छन्।

पेप्सीकोलाका स्थानीय विनोद आचार्यले अन्य ठाउँका सडक कालोपत्रे गरेपनि पेप्सीकोला टाउनप्लानिङको सडक जस्ताको त्यस्तै छाडिएको दुखेसो पोखे। ‘साधारणसभापछि यही ठाउँको सिमाना जोडिएका मध्यपुर ठिमी, कागेश्वरी मनोहराका सडक कालोपत्रे भएको देखियो,’ उनले भने, ‘तर पेप्सिकोलाका सडक जस्ताका तस्तै रह्यो, सडक पिच गर्न आवश्यक तापक्रम सय मिटरकै दूरीमा पनि फरक पर्ने रहेछ कि कसो? सँगैका कागेश्वरी मनोहरा र मध्यपुर ठिमीका सडकलाई कालोपत्रे गर्न तापक्रम पुग्ने, वारि देशकै पहिलो महानगरपालिको वार्ड नं ३२ पेप्सीकोलाका सडकमा तापक्रम नपुग्ने?’

अब पनि सडक कालोपत्रे नगरे त्यहिँ धान रोपाई गरेर स्थानीय जनप्रतिनिधिको 'हैसियत देखाइदिने' स्थानीयले चेतावनी दिएका छन्‌।​ सडक नबन्दा आक्रोशित बनेका स्थानीय मध्येका एक आचार्यले भने,‘असारको महिना छ, सडक पिच नगर्ने भए सडककै खाडलमा धान खेतीसँगै माछा पालन गरौँ कि सरकार? सडकको अवस्था हेर्दा यो भन्दा अर्को विकल्प रहेन।’

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यही क्षेत्रबाट चुनाव जितेका हुन्‌। स्थानीयले सडक कालोपत्रे गरिदिन नेपाल, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, महानगरपालिकाकै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र कामपा वडा ३२ का अध्यक्ष नवराज पराजुलीसमक्ष पटक-पटक आग्रह पनि गरिसके। 

'तर सडक बनेन,' स्थानीय नवराज आचार्यले भने, 'बारम्बार विन्ति बिसाइयो, सडक पिच गर्ने विषयमा सबै जनप्रतिनिधि र नेता मौन देखिए।' करिब एक किमी सडक अस्तव्यस्त बनेको १८ महिना भइसकेको र अहिलेसम्म सुधार समेत नभएको उनले बताए। उनले थपे, ‘खै किन हो अहिलेसम्म सडक बन्न नसकेको हो? अहिलेको हिलाम्मे सडकले हाम्रो दैनिकी नै बिथोलियो, यहाँको अध्यक्ष नवराज पराजुलीलाई समस्या पर्‍यो भन्दा मीठा कुरा सुनाउँछन, तर, सडक सुधारको काम गर्दैनन्।’

यसबीचमा सडक पिच गरिदिन भन्दै स्थानीयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌ कार्यालय मातहत रहेको 'हेल्लो सरकार' मा पनि निवेदन हाले। तर तालुक निकायले नै काम नगरेपछि सुझाव संकलनका लागि खोलिएको हेल्लो नेपालले के गरोस्‌! 

बर्खा लागेसँगै पानी जमेपछि यस क्षेत्रको सडक आहालजस्तो बनेको छ। लथालिङ्ग सडकमा न स्थानीय सर्वसाधारण हिँड्न सकेका छन्‌, न त सवारी साधन नै! यहाँको सडक मर्मतका लागि सेरा कन्स्ट्रक्सन कम्पनीसँग २०७४ वैशाख १३ गते करिब ९६ लाख २४ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार ठेकेदारले २०७५ मसान्तसम्ममा पुरानो सिनामंगल क्षेत्रको सडक कालोपत्रे गरिसक्नुपर्ने हो। तर सम्झौता मिति सकिँदा समेत अहिलेसम्म सडक जस्ताको तस्तै छ।

२०७५ फागुन महिनामै काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोलले कार्यावधि सकिन लाग्दा पनि ठेकेदार सम्पर्कमा नआएकाले पुनः टेन्डर प्रक्रियामा जाने बताएका थिए। तर, अहिलेसम्म महानगरले केही पहल गर्न सकेको छैन।

अस्तव्यस्त सडक मर्मत र कालोपत्रेबारे बुझ्न कामनपा-३२ का वडाध्यक्ष नवराज पराजुली र वडा सदस्यहरुलाई पटक-पटक फोन गर्दा पनि उठाएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.