|

धनकुटा :असारे रोपाइँको भाका घन्किरहेको थियो। हातमा राष्ट्रिय झण्डासहित भेला भएर हातमा बिउ बोकेकाहरू धान रोप्दै थिए। तर, खेतमा होइन, हिलाम्मे सडकमा। सोमबार धनकुटाको हिले बजारको दृश्य हो यो। 

सोमबार देशव्यापी रुपमा राष्ट्रिय धान दिवस मनाइरहँदा हिले बासीले भने पहिले पिच भएको सडकमाथि थुप्रिएको हिलोमा धान रोपेर विरोध गरेका थिए। उनीहरुले ढल व्यवस्थापन र सडकमा थुप्रिएको हिलो नपन्छाइएको प्रति सांकेतिक विरोध जनाउन सडकमै रोपाइँ गरेको बताएका छन्। 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरको ७ करोड ६१ लाख १० हजार रुपैयाँमा हिले बजारमा निर्माण भइरहेको ढल निर्माण कार्य व्यवस्थित नभएको भन्दै उनीहरुले सडकमै धान रोपेका हुन्।
निर्माण कम्पनीले ढल बनाउँदा लापरबाही गरेका कारण हिलाम्मे सडकमा आवाजावत गर्न समस्या भएकाले विरोध स्वरुप धान दिवसमा सडकमा रोपाइँ गरिएको स्थानीयले बताए। 

भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा बुटवलले हिले बजारमा ढल निर्माण गरिहेको छ। ढलको निर्माण कार्य लापरबाही हुँदा सडक हिलाम्मे भएकोले सर्वसाधारण आवतजावतमा समस्या उत्पन्न भएको भन्दै विरोध हुँदै आएको छ। 

स्थानीय रुपमान तामाङका अनुसार उपभोक्ताहरूले ढल निर्माणको गुणस्तरलाई लिएर चासोसमेत देखाएका छैनन्। ‘वर्षायाम छ, हिले बजारको व्यस्त सडक हिले पुछारदेखि सिरानसम्म खुट्टा हाल्ने ठाउँ छैन,’ तामाङले भने। अनुगमन समितिले चासो देखाउँदा पनि निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरुले बेवास्ता गरेका कारण आन्दोलन गर्नुपरेको अनुगमन समितिको सदस्य बुद्ध तितुङले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.