नयाँ दलमा हाम्रै नेताको संलग्‍नताबारे छलफल भयो : नारायणकाजी

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नयाँ दल नेकपा एमाले निर्वाचन आयोगमा दर्ता हुन लागेको बताएका छन्। 

मंगलबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै उनले ओलीकै निर्देशनमा नयाँ दल नेकपा एमाले दर्ता गर्न लागिएको दाबी गरेका हुन्। यो कुराको पुष्टि गौतमका सहयोगी विश्वमणि सुवेदीले पनि गरेका छन्। बैठकमा आक्रोशपूर्ण अभिव्यक्ति दिएका गौतमले प्रधानमन्त्री ओलीको निर्देशनमा नयाँ पार्टी दर्ता गर्न लागिएको उनले आरोप लगाए। 

‘एमाले नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्न प्रधानमन्त्रीले नै निर्देशन दिनुभएको भन्‍नेमा म विश्वस्त छु', गाैतमकाे भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, 'अहिले यस्तो काम गर्ने बेला होइन।’

गौतमले बैठकमा बोल्ने क्रममा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने पनि माग गरेका छन्। गौतमले आफ्ना सहयोगी सुवेदीमार्फत सार्वजनिक गरेको विवरण अनुसार ​बैठकमा आज बोलेकामध्ये १२ जनाले प्रधानमन्त्री ओलीको राजीनामा मागेको बताएका छन्। प्रधानमन्त्रीले असार १४ गते नेपाल-भारत सीमा विवादबारे बोल्दै सरकार ढाल्न दिल्लीदेखि नेपालकै केही शक्तिले पनि रणनीति बनाइरहेको बताएका थिए।  

आफ्नो सरकार ढाल्न लागेको अभिव्यक्ति ओलीले दिएपछि  बैठकमा प्रमाणसहित राख्‍न नेताहरुले दबाब दिएका थिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतमलगायतका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेका छन्। प्रधानमन्त्री ओलीले सरकारलाई हटाउने नाममा काठमाडौंका होटल र दूतावासहरुले गतिविधि बढाएको प्रधानमन्त्रीले दाबी गरेका थिए। 

अध्यक्ष दाहालसहित शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट  राजीनामा गराउन दबाव दिइरहेपछि उनी रक्षात्मक भएका छन्। आजको बैठकमा पनि अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा गर्न दबाव दिएका थिए। उनले दिल्लीले नभइ आफूले राजीनामा मागेको दाबी गरेका थिए। 

निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको आवेदन परेकोमा पनि पार्टीको नेतामा संलग्नता रहेको छ कि भन्ने बिषयमा बैठक आजको बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 

नयाँ पार्टीमा हाम्रै नेताहरुको संलग्नता छ कि भन्ने बिषयमा गम्भीर छलफल भएको जनाए।  निर्वाचन आयोगमा नयाँ पार्टी नेकपा एमाले दर्ताको लागि आवेदन परेको बताइसकेको छ। झापाकी सन्ध्या तिवारीको नाममा पार्टी दर्ताको आवेदन परेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.