|

अर्घाखाँची : बाँदर र बँदेलले खेती खाएर हैरानी खेप्दै आएका अर्घाखाँचीका किसान दुई दिनदेखि सलह कीरा धपाउन जुटेका छन्। सोमबार दिउँसोदेखि अर्घाखाँचीका ६ ओटै स्थानीय तहमा ठूलो संख्यामा सलह कीरा आएर तरकारी र मकै बालीमा बसेर खान थालेका छन्। सलह धपाउन प्रयास गर्दा पनि नगएको किसानहरुको गुनासो छ।  

जिल्लाको भूमिकास्थान, शितगंगा, सन्धीखर्क नगरपालिका, छत्रदेव, मालारानी र पाणिनी गाउँपालिकाका विभिन्न टोल बस्तीका किसानका खेतबारीमा सलहले निकै नष्ट गरेको छ। धानको ब्याड र खेतमा रोपिसकेको धान पनि सलहले खाइदिएको किसानले बताएका छन्। तर किसानले गुनासो गरे पनि जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाँचीले कुनै चासो नदिँदा किसान आक्रोशित भएका छन्। 

जिल्लाका भूमिकास्थान ढिकुरा, शितगंगाको सिमलपानी, जलुके, ठाडा, लगायत ६ ओटै स्थानीय तहमा सलह प्रवेश गरेर हजारौं रोपनी जग्गामा लगाएको मकैखेती नष्ट गरेको किसानले बताउने गरेका छन्। दुई दिनदेखि किसानले सलह धपाउन धुवाँ लगाउने, थाल पिट्ने, खेतबारीमा सयौं मानिस परिचालन हुने, कराउने गरे पनि नगएपछि जिल्ला कृषि ज्ञान केन्द्रसँग गुहार गरेका छन्।

तर हार गुहार गरेपनि जिल्ला कृषि ज्ञानकेन्द्रले किसानको गुनासोलाई चासो नदिएको किसानको भनाइ छ। खेतमा रोप्न तयार भएको धानको बिउ खाइदिएपपछि निरास बनेका किसानले त्रिपालले ढाकेर धानको ब्याड जोगाउने प्रयास गरिरहेका छन् । 

सोमबारदेखि जिल्लाका विभिन्न स्थानमा सलहले खेती नष्ट गर्न थालेपछि ६ वटै स्थानीय तहका प्रमुखसँग छलफल भएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख देवेस मिश्रले बताए। जिल्लामा करोडौंको संख्यामा सलह आएको छ तर किटनासक विषादीको अभाव भएको उनले बताए । औषधि झिकाइए पनि अझै नआइपुगेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.