दुईतिहाइको बहुमतमा पनि सरकार असफल

|

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्रीले सरकार परिवर्तनका लागि भारतले षडयन्त्र गरिरहेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विषयमा छलफल भइरहेको प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिएका छन्।  

संसद र संसदीय समितिमा आफ्नै पार्टीको बहुमत हुँदा पनि यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु आपत्तिजनक भएको उनले बताएका छन्। 'नक्साको विषयलाई आफुले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउन तर्फ अमुक देश लाग्यो भन्‍ने अभिव्यक्ति गैरजिम्मेवार, कुटनीतिक मूल्यमान्यता भन्दा बाहिरको अभिव्यक्ति छ', उनले भने, 'नक्सा पारित गरेको विषय एक प्रधानमन्त्रीको विषय होइन। सिंगो देश एक भएर संसदले पारित गरेको नक्सा हो। सबैको साझा स्वामित्व छ।'

साझा संकल्पका साथ नक्सा पारित गर्दा देश एक ठाउँमा उभिएको बेला दिल्लीसँग दिलको कुरा दृढतासँग गर्न पनि आग्रह गरिएको उनले बताए। नक्सा प्रकाशित भएपछि भूमि फिर्ताका लागि पहल गर्न आग्रह गर्दा पनि प्रधानमन्त्रीले विषयान्तर गर्न खोजेको उनले बताए। 

संविधानले बहुमतबाट सरकार बनाउने र हटाउने अधिकार दिएको उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीले आफ्ना सह-पाटी वा अन्य कुनैसँग सम्बन्धित भएर दिएको अभिव्यक्ति गैरराजनीतिक भएको बताए। सरकारले दुई तिहाइको सुविधा हुँदा पनि अनुकुल परिस्थितिलाई प्रतिकूलतातर्फ बदल्दै गएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.