|

पाल्पा : पाल्पामा सलह कीरा रोकथाम तथा नियन्त्रणका लागि समिति नै गठन भएको छ। प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको नेतृत्वमा मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समिति गठन गरेको हो। 

समितिको संयोजकमा कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल रहेका छन्। समिति ६ सदस्यीय बनाइएको छ। सदस्यहरूमा सुन्तला जात फलफूल विकास केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जिल्ला प्रशासन कार्यालय, जिल्ला, जिल्ला समन्वय समिति र नेपाल पत्रकार महासंघका प्रतिनिधि रहने छन्। 

समितिले जिल्लामा सलह कीरा नियन्त्रणको काम गर्ने छ। कृषि बालीमा पार्न सक्ने प्रकोप तथा जोखिम न्यूनीकरणका लागि समिति निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए। उनका अनुसार सलह नियन्त्रण गर्न सरकारी मापदण्डअनुसार समितिले विषादीको प्रयोग गर्न पाउने छ। यस्तै बालीनाली सुरक्षाको लागि स्थानीय संचार माध्यमबाट सन्देशमूलक सूचना प्रचारप्रसार गरी कृषक तथा नागरिकलाई सचेत गराउने निर्णय भएको छ। 

केही दिनअघि भारतबाट नेपाल भित्रिएको सलह पाल्पाका विभिन्न ठाउँमा घुमिरहेका छन्। सानो सानो समूहमा रहेका  सलहले खेतबारीमा ठूलो क्षति पु¥याएको छैन। क्षति गर्नसक्ने भन्दै जिल्लाभर सचेतना अपनाइएको छ। 

बैठकमा प्रदेश सरकारका सदस्य, जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, विषयगत कार्यालय, नेपाल पत्रकार महासंघलगायत जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.