|

डडेल्धुरा : सुदूरपश्चिममा बुधबार दुई सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा यहाँका थप दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका चार महिला र १४ पुरुष गरी १८ जना, बाजुराका दुई महिला र पाँच पुरुष गरी सात जना, कैलालीका चार महिला र १० पुरुष गरी १४ जना र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा डोटीका सात महिला र ११ पुरुष गरी १८ जना, अछामका १५ महिला र ५१ पुरुष गरी ६६ जना, बाजुराका ६ महिला र १२ पुरुष गरी १८ जना, कैलालीका दुई महिला र ८ पुरुष गरी १० जना तथा कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौ जनामा कोरोना पुष्टि भएको छ। 

यता धनगढीमा भएको परीक्षणमा कैलालीको धनगढी उपमहानगरपालिका ५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडाकेदार गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ४१ जनाको कोरोना परीक्षण भएको थियो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार सात सय बढी पुगेको छ। संक्रमण पुष्टि भएका सात जनाको मृत्यु भइसकेको छ भने चार सय ७९ जना विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन्। सुदूरपश्चिममा मंगलबार ९६ जना कोरोना संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.