अन्तिम रणनीति बनाउन गुट बैठकमा व्यस्त

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध घेराबन्दी भइरहेको छ। प्रधानमन्त्रीले ओलीले असार १४ गते  नेपाल-भारत सीमा विवादको बिषयलाई लिएर सरकार ढाल्ने षडयन्त्र भएको बताएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह आक्रोशित भएका छन्। 

प्रधानमन्त्री ओलीको त्यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र तीव्र विवाद भइरहेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि जारी स्थायी कमिटीको बैठकले अन्य एजेण्डामा छलफल गर्न सकेको छैन।

बुधबारबाट सुरु भएको बैठक बिहीबार बसेन, शुक्रबार र शनिबार बैठक बस्यो। बैठकमा नेपाल-भारत सीमा समस्याको बिषयमा छलफल चल्यो। नेताहरुले सिमानामा तार जालीदेखि पर्खाल लगाउनुपर्ने सम्मका कुरा राखे।  मिचिएको भूमि फिर्ताका लागि भारतसँग तत्काल वार्ता बस्न पनि सरकारलाई दबाब दिइरहे। 

आइतबार र सोमबार स्थायी कमिटी बैठक बसेन। तर, मंगलबारको बैठकले फरक मोड लियो। आइतबार प्रधानमन्त्री ओलीले नेपालको नक्सा सार्वजनिक गरेपछि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै सरकार ढाल्न सक्रिय भएको अभिव्यक्ति दिए। 

तर, मंगलबारको बैठकमा अध्यक्ष दाहालसहितका नेताहरुले ओलीको सरकार ढाल्न लागेको अभिव्यक्तिबारे जवाफ माग्दै प्रमाणसहित स्पष्ट पार्न माग गरे। सरकारलाई हटाउने नाममा काठमाडौंका होटल र दूतावासहरुले गतिविधि बढाएको प्रधानमन्त्रीले आइतवार दाबी गरेका थिए। 

बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका बैठकमा बोलेका १७ नेताले राजीनामा मागेका थिए। बुधबार छोटो समय बसेको बैठकमा ५ जनाले बोले। 

स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका छन्।  बैठकमा लीलामणि पोखरेल, मातृका यादवले मुख खोलेरै प्रधानमन्त्रीको राजीनामा मागे। तर, एनके प्रसाई र पेशल खतिवडाले ओलीले काम गर्न नसकेको भन्दै घुमाउँरो पारामा राजीनामा मागे। 

आफूनिकटसँग परामर्श 

प्रधानमन्त्री ओलीले आफूविरुद्ध स्थायी कमिटीको बैठकमा परामर्श लिए। बुधबारको बैठक बस्नु अघि प्रधानमन्त्रीले केही मन्त्री र आफूनिकट नेताहरुसँग बालुवाटार बोलाएर छलफल गरेका थिए। 

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङले, कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई र उद्योग मन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्य सत्यनारायण मण्डल, रघुवीर महासेठ, छविलाल विश्वकर्मालगायत सहभागी भए। 

‘पार्टीभित्र विवाद देखिएपछि प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाउनुभएको थियो। उहाँले अब कसरी अघि बढ्न सकिएला भन्ने खालका कुरा गर्नुभएको थियो’ बैठकमा सहभागि एक नेताले भने, ‘पार्टीभित्रैबाट विरोध भएपछि त्यसको विकल्प खोजिरहनुभएको छ। केही निकास निकाल्नुहोला।’ छलफलमा जुटेको नेताहरुले प्रधानमन्त्रीलाई पार्टी एकता जोगाउनुपर्ने सुझाए। 

बचाउमा भट्टराई

नेता नेपालनिकट मानिएका पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्रीको बचाउ गरेका छन्। प्रधानमन्त्रीको परामर्शपछि बैठक सकारात्मक दिशातर्फ जाने संकेत गरेको मन्त्री भट्टराईले बैठकमा सरकारका केही आलोचना गरेका भए पनि प्रधानमन्त्री ओलीको बचाउ गरेका छन्।

बालुवाटार स्रोतका अनुसार उनले प्रधानमन्त्रीसँग पार्टीभित्रको समस्या समाधान गर्नका लागि मन्त्री पदबाट राजीनामा दिन समेत तयार भएको बताएका छन्। बुधबारको बैठक पार्टी भित्र देखिएको समस्यालाई लिएर दुवैतर्फ छलफल भइरहेको तर्क गरे। 

पार्टीभित्र देखिएको समस्या समाधान गर्न सबै मिलेर अघि बढ्नुको अर्को विकल्प नभएको उनले बताए। अध्यक्ष दाहाललाई लक्षित गर्दै मन्त्री भट्टराईले बैठकमा भनेका छन्, ‘हामी पुल भत्काएर यहाँसम्म आएका छौँ। फेरि पुल तरेर पछाडि जाने ठाउँ छैन।’

के गर्छन् ओली? 

पार्टीभित्र घेराबन्दीमा परिरहेका प्रधानमन्त्री ओलीले अब के गर्छ भन्‍नेबारे सबैलाई चासोको बिषय बनेको छ। प्रधानमन्त्री ओलीले विकल्पमाथि छलफल सुरु गरेका उनी निकट स्रोत बताउँछन्। 

‘प्रधानमन्त्री ओलीले अहिले स्थायी कमिटीको बैठकमा उठे अनुसार राजीनामा दिने, दुवै पदबाट राजीनामा नदिने, स्थायी कमिटीको बैठकमा आत्मालोचना गरे सच्चिन र एक व्यक्ति एक पदको अवधारणालाई स्विकार गर्ने बिषयमा छलफल गरिरहनु भएको छ’ ओली निकट एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टी फुट्दैन। उहाँले यही बिषयमा छलफल गरिराख्नु भएको छ। त्यहाँबाट कुनै विकल्प निस्केला।’

पार्टीभित्रको समस्या समाधानको लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल भएपछि सबै समस्या समाधान हने ती नेताले बताए। 

पार्टीभित्र देखिएको समस्या समाधानका लागि शिर्ष नेताबाट छलफलबाट समाधान हुने संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन्। ‘पार्टीभित्र समस्या देखिएको छ। त्यस बिषयमा समाधानका लागि शिर्ष नेताहरुले छलफल गर्नुहुन्छ। तर, पार्टी फुट्छ भन्ने कुरा गलत हो’ उनले भने।

एमाले दर्तामा ओली अनभिज्ञ 

बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसँगै नेकपा एमाले पार्टी दर्ताको बिषय पनि चर्किएको छ। मंगलबारको बैठकमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको निर्देशनमा नेकपा एमाले दर्ता हुन लागेको दाबी गरे। उनले आवश्यक परे प्रमाण समेत पेश गर्न सक्ने जिकिर गरे। 

नेकपा बैठकमा झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा दर्ता गर्न लागिएको बताएपछि उनी मोरङको विराटनगर महानगरपालिका ६ कि रहेकी छन्। निर्वाचन आयोगमा दर्ता हुन लागेको नेकपा एमालेले झण्डामा सूर्य चिन्ह राखेको छ। दलको विधान, नियमावली, घोषणापत्र, अन्डालगायत विवरणसहित निवेदन सोमबार नै परेको हो। २१ जनाको कार्यसमितिको नाम उल्लेख गरेर उनीहरुले नयाँ पार्टी दर्ता गर्न लागेका छन्। 

सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग एमाले नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको बारे जवाफ मागेका थिए। तर, प्रधानमन्त्री ओलीले त्यस बिषयमा अनभिज्ञता जनाएका थिए। नेकपा नेताहरुले भने नेकपा एमाले दर्तामा प्रधानमन्त्रीकै संलग्नता भएको आरोप लगाउदै आएका छन्। 

दल दर्ताका लागि परेको निवेदनमा सन्ध्या तिवारी अध्यक्ष, भगवती खड्का उपाध्यक्ष, मनीष उपाध्याय महासचिव, अस्मिता सुनार, दावा  लामा, जयराम रावत, खगेन्द्र प्रसाद भुसाल, हिरा बहादुर बोहरा, राधा पुरी, तारादेवी शाही, पवन विष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उशाकुमारी झा, प्रदीपराज गिरि, पूर्णिमा तामाङ, निश्चल बस्नेत, सञ्जीव विष्ट, विनिता कार्की र विमला विष्ट रहेका छन्।

राष्ट्रपतिसँगको भेट अर्थपूर्ण

स्थायी कमिटी बैठक छल्दै आएका प्रधानमन्त्री ओली मंगलबारको बैठकअघि राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए। तर, बैठकमा नेताहरुले राजीनामा मागेपछि बीचमा नै निस्किएर पुनः राष्टपति भण्डारीसँग परामर्शका लागि ओली शितल निवास नै पुगेका थिए। 

राजनीति बिषयमा राष्ट्रपतिले हस्तक्षेप गर्दै आएको आरोप लागिरहेको बेलामा स्थायी कमिटीको विवादबीच प्रधानमन्त्री र राष्ट्रपतिको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.